कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले स्थिर सरकार निर्माणका लागि सबैसँग छलफल गर्ने बताउनुभएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गरे लगत्तै उहाँले नयाँ गठित सरकारलाई निरन्तरता दिन र स्थिर सरकार निर्माण गर्न सबै राजनीतिक दलसँग छलफल गर्ने बताउनुभएको हो । मुख्यमन्त्री शाहले एक महिनाभित्रमा विश्वासको मत लिनेमा ढुक्क रहेको विश्वास व्यक्त गर्नुभयो । लामो राजनीतिक यात्रापछि आज जनताले विश्वास गरेर मुलुकको व्यवस्थाअनुसार आफू एउटा पदीय जिम्मेवारी र दायित्वमा पुगेको उहाँको भनाइ थियो । मुख्यमन्त्री शाहले भन्नुभयो, “मलाई जिम्मेवारी पनि महशुस भएको छ र चुनौती पनि छन, ती चुनौतीसँग जुध्दै यो प्रदेशका लागि केही न केही योजना भोलिका दिनमा बनाउनेछु, जुन प्रत्यक्षरुपमा जनताले अनुभुति गर्न सकुन” ।
यसैगरी सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १६८ बमोजिम नव नियुक्त मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिशमा आज मन्त्रिपरिष्दको गठन तथा कार्यविभाजन गर्नु भएको छ । कार्यविभाजन अनुसार कमलबहादुर शाह मुख्यमन्त्री, आन्तरिक मामिला, उद्योग पर्यटन वन तथा वातावरण, भूमिव्यवस्था, कृषि तथा सहकारी र सामाजिक विकास मन्त्री, प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास तथा नरेशकुमार शाही आर्थिक मामिला मन्त्री तोकिनुभएको छ ।
मुख्यमन्त्री शाहले पहिलो चरणमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्यलाई समटेर मन्त्रिपरिषद् गठन गर्नुभएको हो । नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री देउवा गत निर्वाचनमा कैलाली क्षेत्र नं ५ तथा आर्थिक मामिला मन्त्रीमा नियुक्त शाही बाजुरा जिल्लाबाट प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको थियो । प्रदेश प्रमुखको कार्यालय धनगढीमा आजै आयोजित समारोहमा प्रदेश प्रमुख जोशीले नवनियुक्त मुख्य मन्त्री र अन्य मन्त्रीलाई छुट्टाछुट्टैरुपमा पद तथा गोपनीयताको सपथ गराउनुभयो ।
.gif)