महेन्द्रनगर । कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीबाट नेपाल भित्रिनेहरुमा कोरोना संक्रमण देखिन थालेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेहरुमा कोरोना संक्रमण देखिन थालेको हो । “भारतबाट आएका दुई जनामा संक्रमण देखिएको छ ।” जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दयाकृष्ण पन्तले भने–“पछिल्लो समय भारतमा संक्रमण बढ्न थालेपछि भारतबाट यहाँ आउनेहरुमा पनि संक्रमण देखिन थालेको छ ।” उनले संक्रमण फैलिन थालेपछि स्वास्थ्य कार्यालय कञ्चनपुरले आजदेखी जिल्लामा कोभिड विरुद्धको तेस्रो र चौथो मात्रको खोप अभियान सुरु गरिन लागेको बताए । “अहिले नाकामा एक÷दुई जनामा संक्रमण देखिएको छ अहिलेका लागि यो ठुलो संख्या हो ।” पन्तले भने–“यहाँ कोभिड विरुद्धको खोप लगाउने संख्या धेरै कम छ ।” उनले कोभिड महामारी विरुद्ध लड्न खोप लगाउनु आवश्यक रहेको बताए ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुर कोभिड फोकल पर्सन सिद्धराज भट्टले कञ्चनपुरमा तेस्रो र चौथो मात्राको खोपका लागि ५० हजार डोज आएकाले प्राथमिकताका आधारमा खोप लगाइने बताए । “अहिले सिमानाकामा भारतबाट आउनेहरुको एन्टिजेन परिक्षण गरिरहेका छौ ।” भट्टले भने–“ आजदेखि जिल्लाका सबै पालिकाहरुमा बुस्टरडोज खोप लगाउने अभियान सुरु हुदैछ ।” नयाँ वर्ष नजिकिदै गर्दा भारतबाट स्वदेश फर्किनेको संख्या बढ्न थालेको छ । नयाँ वर्ष मनाउन स्वदेश फर्किनेको संख्या बढेपछि नाकामा एन्टीजेन परीक्षणमा कडाइ गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार हालसम्म कञ्चनपुरमा ४८ दशमलव ३० प्रतिशतले खोप लगाएका छन । जसमा चार लाख चार हजार पाँच सय ४५ ले पहिलो मात्रा खो लगाएका छन भने तीन लाख ६४ हजार सात सय ८५ जनाले कोभिड विरुद्धको दोस्रो खोप लगाएका छन । त्यसैगरी दुई लाख १६ हजार छ सय ६७ ले तेस्रो मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए । “खोपको पहिलो मात्रा लगाउने धेरै छन त्यसपछि खोप लगाउनेको संख्या घटेको छ ।” उनले भने–“कोभिड विरुद्ध लड्न खोपको विकल्प छैन ।”
.gif)