महेन्द्रनगर । महेन्द्रनगर स्थित ब्रिष्टन कलेजले अनुसन्धान पद्धतिमा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको सहकार्य र ब्रिक्सटन कलेजको अनुसन्धान र व्यवस्थापन कक्षले आयोजना गरेको दुई दिने कार्याशाला आईतबार सम्पन्न भएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले विद्यार्थी र शिक्षकहरुलाई खोज तथा अनुसन्धानमा केन्द्रित हुन आग्रह गर्नुभयो ।
“विश्वविद्यालय र कलेजहरु खोज तथा अनुसन्धानमा लाग्नुपर्छ ।” उनले भने–“हाम्रो अनुसन्धानले देश र समाज रुपान्तरणमा योगदान गर्न सकोस ।” उनले दुई दिने कार्याशालामा विद्यार्थीहरुले अनुसन्धानका आधारभुत कुराहरु सिकेको उल्लेख गर्दै सिकेको ज्ञानलाई व्यवहारमा लागु गर्न आग्रह गरे । अध्ययन, अध्यापन र अनुसन्धानलाई सँगसँगै लैजान सके शिक्षामा गुणस्तर अभिवृद्धि गर्न सकिने उनको भनाई थियो । उनले अबको शिक्षा प्रणाली खोज तथा अनुसन्धानमा केन्द्रित हुनुको विकल्प नरहेको बताए ।
त्यसैगरी कार्यक्रममा पोखरा विश्वविद्यालयका कार्यकारी निर्देशक डा.नवराज धामीले पोखरा विश्वविद्यालय अनुसन्धानमा केन्द्रित रहेको बताए । “पोखरा विश्वविद्यालयले सबै कलेजहरुमा अनुसन्धान कक्ष नै स्थापना गरेको छ ।” उनले भने–“कलेजका शिक्षक र विद्यार्थीहरुलाई संगसंगै अनुसन्धानमा अगाडी बढाउन खोजेका छौ ।” उनले शिक्षक÷विद्यार्थीहरुले एउटा अनुसन्धान लेख, प्रस्ताव तयार गरेर प्रकाशित गर्न सक्नुपर्नेमा जोड दिए । त्यसैगरी कार्यक्रममा उपस्थीत सुदूरपश्चिम विश्वविद्यालयका उप–प्राध्यापाक डा. दिपकचन्द्र भट्टले विद्यार्थीहरु अनुसन्धानका केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले विश्वविद्यालयको तर्फबाट यसका लागि सदैब सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कलेजका अध्यक्ष डा.नेत्रराज चटौतले शिक्षक र विद्यार्थीहरुलाई ओज अनुसन्धानमा कलेजले सहयोग गर्ने बताए । कलेजका प्रिन्सीपल निशा भट्टले ब्रिष्टन कलेजले अनुसन्धानमुखी पठनपाठनले मात्र शिक्षक र विद्यार्थीको गुणस्तरमा सुधार आउने बताए । उनले अनुसन्धान पद्धतिलाई कलेजले विशेष जोड दिँदै आएको बताउँदै अनुसन्धानले कक्षाकोठाबाट अनुसन्धानको थालनी गर्नुपर्ने उल्लेख गरे । उनले विद्यार्थीलाई अनुसन्धान गर्न प्रेरित गरे ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले ब्रिष्टन कलेजले आयोजना गरेको कार्यशालाले खोज तथा खनुसन्धानमा धेरैकुरा सिक्ने अवसर प्राप्त गरेको बताएका छन । कार्यक्रममा ब्रिष्टन कलेजका अध्यक्ष डा.नेत्रराज चटौत,प्रबन्ध निर्देशक डा.भोजराज पन्त,प्रिन्सीपल निशा भट्ट लगायत शिक्षक विद्यार्थीको उपस्थीत रहेको थियो । कार्यक्रमले विद्यार्थीलाई आफ्नो व्यक्तिगत र व्यवसायीक जीवनमा थप सहजता पुग्ने अपेक्षा लिइएको छ ।

