शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

वाग्मती नदी किनारमा फोहर फाल्नेलाई जरिवाना


पश्चिम प्रेस
शनिबार, वैशाख ३० २०८०
  • 412
    Shares

  • images
    images
    वाग्मती नदी किनारमा फोहर फाल्नेलाई जरिवाना

    काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ सुरु वाग्मती सफाइ महाअभियानका क्रममा नदी किनारमा फोहर फाल्नेलाई स्थलगतरुपमै जरिवाना गरिएको छ ।

    वाग्मती सफाइ महाअभियानले प्रत्येक शनिबार बिहान आयोजना गर्ने जागरणमूलक सफाइका क्रममा सिनामङ्गल पुलमुनिको नदी किनारमा फोहर फाल्ने लक्ष्मीनारायण शर्मा र हिमालयन विल्डर्सलाई १०÷ १० हजार गरी २० हजार जरिवाना गरिएको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी दिए । काठमाडौँ महानगरपालिकाले सफाइस्थलमै रसिद काटेर दोषीलाई कारबाही गर्ने अभियान नै चलाउने भएको छ ।

    महाअभियानले प्रत्येक हप्ता जरिवाना लिने रसिदसहित नगर प्रहरी र कर्मचारी पठाइ सहयोग गरिदिन महानगर प्रमुख शाहसँग अनुरोध गरेका थिए । सफाइ महाअभियानले काठमाडौँ उपत्यकाका दुवै महानगरपालिका र सबै नगरपालिकालाई दिगो फोहर व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ ।

    विसं २०७० जेठ ५ देखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक शनिबार बिहान दुईघण्टा सञ्चालन हुने गरेको छ । आज सफाइ महाअभियानका ५२२औं हप्तामा पूर्वमुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मीको सक्रियता थियो । सफाइबाट तीन मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । अर्को शनिबार बिहान पनि यसै स्थानमा सफाइ गरिने जनाइएको छ ।

    यसैगरी विष्णुमती सफाइ अभियानको ४७०औँ हप्तामा मानसिंह धर्म माध्यमिक विद्यालय परिसरमा सफाइ गरिएको छ । सफाइबाट एक ट्र्याक्टर नकुहिने फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिए ।

    वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकाका सबै नदी, सांस्कृतिक सम्पदालगायत सार्वजनिकस्थलमा सफाइ अभियान सुरु भएको छ । रुद्रमती नदीमा पनि सफाइ गर्ने गरिए पनि सेतोपुल क्षेत्रमा सिधै नदीमा ढल हालेर प्रदूषित बनाइएको अभियानकर्मी राम साहले जानकारी दिए ।

    यसैगरी आज गुह्येश्वरीमाथिको वाग्मती, मनोहरा, रुद्रमती, मनोहरा, ललितलपुरको गोदावरी खोला, चक्रपथको उत्तरी र पश्चिमी खण्डमा पनि सफाइ गरिएको जनाइएको छ । जताततै सफाइ अभियान जारी रहे पनि ठोस उपलब्धि नभएको भन्दै आलोचना हुने गरेको छ ।


  • सम्बन्धित विषय:

  • # जरिवाना
  • प्रतिक्रिया दिनुहोस