महेन्द्रनगर । कञ्चनपुरको भिमदत्त नगरपालिकाका पूर्वमेयर सुरेन्द्रबहादुर बिष्टसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा महाकाली नदीजन्य पदार्थको (ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल र माटो) रोयल्टी शुल्क उठाउने ठेक्कामा अनियमितता भएको थियो ।
उठाउनुपर्ने नियमानुसारको राजस्व नउठाइ नेपाल सरकार र प्रदेश सरकारको स्वीकृतिविना कार्यदलको सिफारिसको आधारमा राजस्व रकम घटाई कम अङ्कमा सम्झौता र नियमविपरीत राजस्व रकममा छुट तथा मूल्य अभिवृद्धि करसमेत चुहावट गरेर ३ करोड ३३ लाख २२ हजार ५८३ रुपैयाँ राजश्व चुहावट गरिएको अभियोगपत्रमा उल्लेख छ ।
भीमदत्त नगरपालिकाका तत्कालीन राजस्व छुटको लागि गठित कार्यदलका संयोजक तथा सदस्यहरू तत्कालीन वडा नम्बर १७ का वडा अध्यक्ष हिमालबहादुर चन्द, प्रशासकीय अधिकृत हरिसिंह धामी र शाखा अधिकृत नरबहादुर शाह तथा राजस्व छुट कार्यदलका सदस्य तथा सम्झौताको साक्षी इन्जिनियर हिमालय सिंह ऐरविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
साथै, भवानी कन्स्ट्रक्सन प्रालिको सञ्चालकहरू केशवराज भट्ट, पुष्पराज भट्ट, भवानी कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि दिवाकर भट्ट, इश्वरीप्रसाद भट्टको नजिकको हकदार श्रीमती खगेश्वरी भट्टविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
इश्वरीप्रसाद भट्टको मृत्यु भइसकेको अवस्थामा प्रचलित कानूनबमोजिम निजको हक खाने अंशियार उनकी श्रीमती प्रतिवादी खगेश्वरी भट्टबाट बिगो ३ करोड ३३ लाख २२ हजार ५८३ रुपैयाँ असुल उपर गर्नु पर्ने अख्तियारको माग दाबी छ ।