सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बैतडीका एकल महिलाको जीवन सहारा सुक्खा फलफूल खेती


पश्चिम प्रेस
बुधबार, असार १३ २०८०
  • 979
    Shares

  • images
    images
    बैतडीका एकल महिलाको जीवन सहारा सुक्खा फलफूल खेती

    बैतडी । सरकारी स्वामित्वमा रहेको सतबाँझ सुक्खा फलफूल विकास केन्द्रको डाँडो एकल महिलाको जीवनको सहाराका रूपमा रोजगारी दिने केन्द्र बनेको छ । स्याउ, ओखर, कागजी बदाम र नास्पातीका करिब ६० हजार बिरुवा हुर्काइरहेको सतबाँझको २९ हेक्टर क्षेत्रफलमा महिलाले मल बोक्ने, कान्ला खन्ने र बोटबिरुवा गोडमेल गर्ने काम गरेर वर्षभरि ४० लाख रुपियाँ कमाउने गरेका छन् ।   

    सुर्नया गाउँपालिका–२ की एकल महिला द्रोपती पाण्डेयले सतबाँझको सुक्खा डाँडो जीवनको सहारा भएको बताइन् । दुई दशकदेखि फलफूल विकास केन्द्रमा नियमित ज्याला मजदुरी गर्दै आएकी पाण्डेयले छोराछोरी हुर्काउने, पढाउनेदेखि सरकारी जागिरेसम्म पु(याएको बताए । 

    सुर्नया गाउँपालिका–२ की एकल महिला लक्ष्मी विष्ट, दशरथचन्द नगरपालिका–१ की बेलु भट्टको जीवन सुक्खा फलफूल विकास केन्द्रको रोजगारीले चलेको छ । 

    दशरथचन्द नगरपालिका–१ की राजु भाटको जीवनको सहारा र बालबच्चाको आहार जुटाउने नियमित स्रोत सतबाँझको डाँडा बनेको छ । रोजगारी खोज्न भारत गएका श्रीमान् उतै दुव्यर्सनीमा फसेपछि सुक्खा फलफूल विकास केन्द्रको नियमित रोजगारीले घरधन्दा चलेको राजु भाटले बताए । 

    दशरथचन्द नगरपालिका–१ की पार्वती भट्टले कमाउने श्रीमान् अपाङ्गता भएपछि फलफूल विकास केन्द्रको नियमित रोजगारीले छोराछोरी पढाउन सकेको उनले बताए । सतबाँझ सुक्खा फलफूल विकास केन्द्रमा दैनिक ४० देखि ६० जना महिलाले नियमित काम पाउने गरेको केन्द्रका प्राविधिक अर्जुन खड्काले बताए । 

    “सोमबार ५२ जना महिला काममा आएका छन्,” उनले भने, “कुनै दिन ८० जनासम्म पुग्छन् । मासिक तीन लाख रुपियाँभन्दा बढी ज्याला पाउने महिलाले वर्षभरिमा ४० लाखजति कमाउने गरेका छन् ।” 

    कोरोनाका बेला गाउँका पुरुषले भारतबाट रोजगारी गुमाएर फर्किंदा सतबाँझमा काम गर्ने महिलाको कमाइले घर चलेको महिला कामदार जानकी भट्टले बताए । 

    घरपरिवारबाट पीडित बनेका महिला, श्रीमान् गुमाएर सहाराविहीन भएका अधिकांश महिलाको जीवन सतबाँझ सुक्खा फलफूल विकास केन्द्रको रोजगारीले चलेको उनले बताए । 

    स्थानीय सरकारले कुनै रोजगारी नदिए पनि सतबाँझ सुक्खा फलफूल विकास केन्द्रले नियमित रोजगारी दिएको महिलाले बताएका छन् । महिलाको मेहनतले सतबाँझ सुक्खा फलफूल विकास केन्द्रले वार्षिक ५० हजार ओखरका बोट बिक्री गर्दै आइरहेको छ । 

    केन्द्रले यो वर्ष ओखरको नर्सरीबाट २५ लाख ६८ हजार ९६८ रुपियाँ राजस्व सङ्कलन गरेको सतबाँझ सुक्खा फलफूल विकास केन्द्रका सह लेखापाल चाँदनी थापाले बताइन् ।

     


  • सम्बन्धित विषय:

  • # फलफूल खेती
  • प्रतिक्रिया दिनुहोस