महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । पश्चिम प्रेसको साप्ताहिक कार्यक्रम पश्चिम बोल्छमा बोल्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले अस्पतालमा बिरामीको चाप बढी भएको र दरबन्दी अनुसारका चिकित्सक नहुँदा समस्या भएको बताए । अस्पतालमा २८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हाल १५ जना मात्रै कार्यरत छन् । हाल अस्पतालमा जनरल फिजिसियन, गाइनो, एमडिजीपी, हाडजोर्नी रोग विशेषज्ञ, प्याथालोजिष्ट र एनएसथेसिया लगायतका विशेषज्ञ मात्रै छन् ।
“विशेषज्ञ चिकित्सक पनि एक जना मात्रै हुँदा शल्यक्रियादेखि बिरामीको जाँच एउटै चिकित्सकले गर्नुपरेको छ विरामीको चाप धेरै छ”, उनले भने, “विशेषज्ञ बाहेकका अन्य मेडिकल अधिकृत, नर्सिङ, ल्याबका स्वास्थ्यकर्मीहरु समेत अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ ।”
अस्पतालको सेवा विस्तार हुँदै गएपनि स्थापनाकालदेखि दरबन्दीअनुसारका चिकित्सक नहुँदा यहाँका नागरिकले स्वास्थ्य उपचारको लागि सीमावर्ती शहर अथवा धनगढी धाउनुपर्ने बाध्यता छ । “सामान्य शल्यक्रियाका लागि एक सातासम्म विरामीले कुर्नुपर्ने अवस्था छ”, उनले भने, “एउटै विशेषज्ञ चिकित्सक हुँदा समस्या भएको छ त्यसैले हामीले बारअनुसार सेवा दिने गरेका छौँ ।” विसं २०२० सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको महेन्द्रनगरस्थित महाकाली प्रादेशीक अस्पताल २०३१ सालमा २५ शय्याको जिल्ला अस्पतालमा रुपान्तरण भएको थियो । जिल्ला अस्पतालमा रुपान्तरण भएपनि जनशक्ति अभावका कारण १५ शय्यामा मात्रै सञ्चालन भएको थियो ।
जिल्ला अस्पताललाई स्तरोन्नति गर्दै २०४३ सालमा ५० शय्याको अञ्चल अस्पताल (रेफरल सेन्टर)का रुपमा परिणत भए पनि अस्पतालले आवश्यकता अनुसारको जनशक्ति पाउन सकेको थिएन । अस्पताल सञ्चालनका लागि विसं २०४५ सालमा अस्पताल समिति विकास गठन भएको थियो । विसं २०६१ सालमा निजी स्रोतबाट सञ्चालन हुने गरी ५० शय्या थप गरी एक सय शय्याको सञ्चालन गर्न स्वीकृती प्राप्त भयो । उक्त अन्तर्वार्ता बिहिबार साझ ७ बजे प्रशारण हुनेछ
.gif)