महेन्द्रनगर । स्थानीय प्रशासनले गड्डाचौकी नाकामा आवागमन खुकुलो पारेको छ । कोरोना संक्रमण कम भएपछि नाकामा खुकुलो पारिएको हो । अब घरायसी किनमेलका लागि सीमावर्ती बजार बनवासासम्म आवागमनमा खुकुलो पारेको छ ।
अहिले किनमेलका लागि स्थानीयहरू पनि सीमावर्ती बजार जान थालेका छन । प्रशासनले केही खुकुलो पारेसँगै उनीहरू दैनिक उपभोग्य सामग्री खरिदका लागि जाने गरेका छन । सीमावर्ती बजारबाट साइकलमा क्यारिङ पनि सुचारु भएको छ । संक्रमण कम भएपछि भन्सार कार्यालयसंँग समन्वय गरेर साइकलमा मालसामान ढुवानी गर्न सकिने निर्णय गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताए ।
संक्रमण बढिरहेका बेलामा मालसामान चेकजाँचमै समस्या देखिएपछि क्यारिङलाई केही दिन रोकेको थियो । प्रशासनले साइकलमा हुने क्यारिङ बन्द गरेपछि स्थानीय आन्दोलित बनेका थिए । खासगरी सीमावर्ती बजारबाट क्यारिङ गर्ने महिलाहरूले रोजीरोटी चलाउनै नसकिने भन्दै क्यारिङ खुला गर्न माग गरेका थिए । उनीहरूले भन्सार कार्यालयमा र ब्यारियरमा प्रदर्शन गरेका थिए । साइकलमा क्यारिङ गर्ने महिलाहरूको संख्या मात्रै ३ सय बढी छन ।
.gif)