शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बर्खा लागेपछि भजनीका नागरिक बाढीको त्रासमा


पश्चिम प्रेस
सोमबार, साउन १ २०८०
  • 443
    Shares

  • images
    images
    बर्खा लागेपछि भजनीका नागरिक बाढीको त्रासमा

    कैलाली । बर्खा लागेपछि कैलालीको भजनीका नागरिकलाई बाढीको त्रासले सताउने गरेको छ । भजनीमा हरेक वर्ष बर्खामा आउने बाढीले हजारौँ नागरिक विस्थापित हुनुका साथै धनजनको क्षति हुने गर्दछ ।

    बाढीले भजनीका प्रायः सबै वडा प्रभावित हुन्छन् । बाढीले बढी जोखिममा वडा नं ३ र ८ रहेका छन् । पछिल्ला दुई वर्ष यी दुई वडामा धेरै क्षति भएको छ । भजनीकी सुनितादेवी राजी बर्खा लागेपछि राम्ररी सुत्न सक्नुभएको छैन । उनलाई सामान्य वर्षा हुँदा पनि बाढी आउँछ कि भन्ने पिरले सताउँछ । पानी पर्न थालेपछि सुनिताले अत्यावश्यक सामानको पोको पार्न थाल्छन् । 

    गत वर्ष बाढी आउँदा एक वर्षको बच्चासहित विस्थापित भएका थिए । केही दिन स्नेह आश्रयस्थलमा बच्चासहित बसेकी सुनिताको घरखेत सबै बगेपछि साहै्र कठिन भएको थियो । यस वर्ष पनि सुनिता बाढीको त्रासमा छन्। “पोहोर आएको बाढीले घरखेत बगाउँदा सानो बच्चा बोकेर भागेको बिर्सेकी छैन”, उनि भन्छन्, “घर छोडेर एक साता आश्रयस्थलमा बसेका थियौँ, अहिले बच्चा दुई वर्षको भयो । यस वर्ष पनि ठूलो वर्षा भएमा घर जोगिने छैन ।”

    सुनिताको घरमा बाढी आउने त्रासले अत्यावश्यक सामान पोको पारेर राखिएका छन् । धेरै वर्षा भएमा सुरक्षित स्थानमा जानुपर्छ भनी उनीहरु पूर्वतयारीमा बस्ने गरेका छन् । “गत वर्ष घरका केही सरसामान पनि रहेनन्, हरेक वर्ष जोडेको सामान त्यही पानीमा मिसिन्छ”, उनि गुनासो गर्छन्, “अन्त जाने ठाउँ पनि छैन, बाढीले हरेक वर्ष सबै बगाएर सक्छ ।”

    वडा नं ८ का खेमराज जैसी पनि बाढीले अघिल्ला वर्ष आँखैअगाडि मानिस बगेको बिर्सनुभएको छैन । बादल गड्गडाउन थालेपछि खेमराजको मन पनि बिचलित हुन्छ । खेमराज र उनका छिमेकी ठूलो वर्षा भएपछि भाग्नुपर्छ भनी पूर्वतयारीमा बस्ने गरेका छन् । “जब बादल लाग्छ, आकाश गड्गडाउन थाल्छ, मन निकै बिचलित हुन्छ”, उनि भन्छन्, “वर्षा नभए खेतीपाति राम्रो हुन्न तर हामीलाई थाहा छ तर बाढीको त्रासले पानी नै नपरोस् भन्ने लाग्छ ।”

    गत वर्षको बाढीले वडा नं ८ का सबै टोलमा क्षति पुगेको थियो । बाढीले वडा नै तहसनहस भएको थियो । “बाढी नआएको कुनै वर्ष छैन, कुन वर्ष कति क्षति भयो भन्नेमात्र हो”, उाि भन्छन्, “गत वर्ष त धेरै क्षति भयो । बाढीबाट बच्न भागिरहेका मानिस बाढीमै मिसिए, त्यसैले यस वर्ष हामी बढी त्रासमा छौँ ।”

    भजनीकी पुष्पा राजी पनि गत वर्ष बाढी आउँदा गर्भवती थिइन्। बाढीले पुष्पाको पनि घरखेत बाढीले बगाएको थियो । बाढीपछि उनि पाँच दिन स्नेह आश्रयस्थलमा गएर बसेकी तिइन् । उनले त्यो बेला भोगेका पीडा भुलेकी छैनन् । अहिले पनि उनलाई बाढी आउँछकी भन्ने त्रासले सताइरहन्छ । “गर्भवती थिए, हिँडडुल गर्नै गाह्रो भइरहेका बेला बाढीले घर बगायो, घर छोडेर आश्रयस्थलमा बस्नुप¥यो”, पुष्पाले भनिन्, “आश्रयस्थलमा त खान, बस्न समस्या भएन, घर फर्केपछि बगेको घर पुनःनिर्माण, खाद्यान्न अभावजस्ता कुराले सतायो ।”

    पुष्पाको बच्चा अहिले आठ महिनाको छ । पुष्पालाई बाढीको डर रातिको समयमा बढी लाग्छ । “सुतेको बेला बाढी आएर थाहै नपाइ बगिन्छ कि भन्ने डर लाग्छ”, उनि भन्छिन्, “दिउँसो भए त भाग्न सकिन्छ, राति बच्चासहित भाग्न पनि कठिन हुन्छ ।” भजनीमा वडा नं ८ को कृष्णनगर, काढाढिक, सोनाफाटा, जनकपुर, खैरागोड्चौरा, छच्छरहवा, बहादुरपुर, दैलेखीटोल, भर्खान टोल, कालिका टोल बाढीको जोखिममा रहेका टोल हुन् । 

    त्यस्तै वडा नं ३ को बर्दवाफाटा, नयाँबस्ती, ढुसी, पकरिया डाडा, जवलपुर, कन्हैयापुर, कसुमघाट, वडा नं ५ को कौवाखेडा, दुदुवाफाटा, पगियापसार, कर्मदेव, लालबोझी, ७ को चर्रा, हिम्मतपुर, २ को पल्टुपुर, मोहनपुर र कटानपुर, वडा नं ४ र ९ को कुडीमा समेत बाढीले क्षति पुगाउने गरेको छ । 

    भजनीमा पथरैया, मोहना, काढा र कन्द्रा नदीले क्षति पुगाउने गरेको छ । नगर प्रमुख केवल चौधरी पूर्वतयारीका कार्य भइरहेका, विपद् व्यवस्थापन समितिसँग छलफल भइरहेको बताउछन्। “सङ्घसंस्थाको सहयोगमा पालिकाले पलियापुरमा १६ परिवारका उच्च घर निर्माण गरिदिएको छ”, नर प्रमुख चौधरी भन्छन्, “हरेक वर्ष बाढी आउँछ । सोह्र परिवारलाई ढुक्क भयो । अन्य ठाउँमा बाढी आएपछि भाग्नैपर्छ ।”

    भजनीमा बाढीले विस्थापित हुने सयौँ परिवारले हुलाकी सडकको आश्रय लिनुपर्ने बाध्यता छ । बाढी आउँदा केही परिवार उच्च घर, केही विद्यालयमा आश्रय लिन्छन् भने अधिकांशले हुलाकी राजमार्गलाई आश्रयस्थल बनाउँछन् ।

    पालिकाले बाढीबाट बच्न पूर्वतयारी, पूर्वकार्यका कार्य समुदायमा सिकाएको छ । पालिकाले नदी नियन्त्रणको काम गर्न नसक्ने भएकाले पूर्वतयारी, खोज तथा उद्धार, बाढीपछि राहत वितरणजस्ता कार्य गर्दै आएको छ । भजनीमा गत वर्ष आएको बाढीले सात हजार ९६ परिवार विस्थापित भएका थिए । उनीहरु करिब एक महिनापछि घर फर्किएका थिए ।

     

     


  • सम्बन्धित विषय:

  • # बाढी
  • प्रतिक्रिया दिनुहोस