मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

महाकाली पुल मुख्य बाँध निर्माण पूरा हुँदै


पश्चिम प्रेस
सोमबार, साउन ८ २०८०
  • 1.7K
    Shares

  • images
    images
    महाकाली पुल मुख्य बाँध निर्माण पूरा हुँदै

    महेन्द्रनगर । महाकाली नदीमा निर्माण भइरहेको चार लेन पुलमुनिबाट पानी बगाउन बन्दै गरेको मुख्य पोखरी बाँध (गाइड बण्ड)को निर्माणकार्य सकिएको छ । चार लेनको पुल नदीको बीच भागमा बनेको छ, जसको लम्बाइ आठ सय मिटर छ ।

    झण्डै पाँच सय मिटर पूर्व (भीमदत्त नगरपालिकातर्फ) र करिब तीन सय मिटर पश्चिम (दोधारा–चाँदनीतर्फ)को नदीमा पुल छैन । पुल जोड्नका लागि नदीमै भरान गरेर चार लेनकै सडक बनाइएको छ् । पुलको दुवैतिरको नदीमा भरान गरेर बनाइएको सडकलाई सुरक्षा दिन सडकको माथिल्लो र तल्लोपट्टी ग्राभेल, ग्याभिन जाली र कंक्रिट भरिएको बाँध भएका चारवटा पोखरी बनाइएको छ् ।

    भीमदत्त नगरतिर दुईवटा र दोधारा–चाँदनीतर्फ दुईवटा पोखरी बनाउने काम अहिले पनि चलिरहेको छ । पर्यटन प्रवद्र्धन र महाकाली नदीलाई बीचबाट बगाएर पुलमुनि छिराउने उद्देश्यले ती चारवटा पोखरी बनाइएको हो । पुलको उत्तरपट्टिका पोखरीमा भीमदत्ततर्फ तीनवटा र चाँदनीतर्फ तीनवटा कृत्रिम टापु पनि बन्दैछ, जहाँ नौका विहार गर्दै पर्यटकले रेस्टुराँको आनन्द लिन सक्नेछन् ।

    भीमदत्ततर्फको उत्तरी पोखरी एक वर्गकिलोमिटरको छ भने दोधारा–चाँदनीतर्फको नौ वर्गकिलोमिटरको दक्षिणतर्फका दुवै पोखरी भने .तीन (दशमलब तीन) वर्गकिलोमिटरका छन् । पोखरी र नदीको बीचको बाँध (गाइड बण्ड)ले नदीको बीचमा बनेको पुल जोड्ने सडकलाई सुरक्षा दिनेमात्रै नभई महाकाली नदीको पानीलाई पुलमुनिबाट छिराउने काम गर्ने पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनी कुमार श्रेष्ठ निर्माण सेवाका इन्जिनियर किशोर पाण्डेले बताए ।

    इन्जिनियर पाण्डेका अनुसार, ‘पाँच लाख ८५ हजार क्यूसेक पानी रोक्न सक्ने गरी बाँधको डिजाइन गरिएको छ । भारतीय परामर्शदाताको सहयोगमा नेपाली कम्पनीहरू सीआईएस र इन्कले पोखरीको नयाँ डिजाइन बनाएका हुन् । बाँध ६० प्रतिशत ढुंगा र ४० प्रतिशत कंक्रिट (सिमेन्ट)बाट बन्ने छ । 

    महाकाली नदीको तीव्रतालाई रोक्न बाँधमा सात सयदेखि दुई हजार सात सय किलोग्राम भार भएका सिमेन्ट ब्लक बाँधको स्लोपमा लगाउने काम भइरहेको छ,’ उनले भने, ‘दोधारा–चाँदनीतर्फको बाँध भीमदत्ततर्फको भन्दा कम जोखिमयुक्त छ । दोधारा चाँदनीतर्फको भूमि ४–५ मिटर अग्लो हुँदा पानीको दबाब भीमदत्ततर्फ नै छ, पुलका कुल १५ ढोकामध्ये दोधारा चाँदनीतर्फका ४–५ वटामा पानी छैन ।’

    महाकाली नदीमा सबैभन्दा धेरै पानी २०७८ साल कात्तिक १ र २ गते बगेको अभिलेख छ । त्यसबेला नदीमा पाँच लाख ४७ हजार क्यूसेकसम्म पानी बगेको रेकर्ड छ । सन् १९१७ बाट महाकाली नदीमा पानीको अभिलेख राख्न थालिएको हो । महाकाली पुलको सुरुको डिजाइनमा कम्तीमा २८ सय किलोका ढुंगा र विशेष किसिमको माटोको मिश्रणबाट पोखरीको बाँध बनाउने उल्लेख थियो तर, निर्माण कम्पनीले त्यो तौलका ढुंगा नपाएपछि नयाँ डिजाइन गरिएको हो ।

    बाँधको १२ मिटर उचाइसम्म ती ब्लक लगाइने छन् । अहिले भीमदत्त नगरपालिकातर्फको उत्तरी बाँधमा साढे १० मिटरसम्म ब्लक लगाउने काम सकिएको छ भने दोधारा–चाँदनीतर्फको उत्तरी बाँधमा जोखिम भएका ठाउँमा ब्लक लगाइएको छ् । ठाउँ हेरेर बाँधको उचाइ डेढ मिटरदेखि ६ मिटरसम्म रहेको छ ।

    जगमा एकदेखि दुई मिटर उचाइको सिमेन्ट कंक्रिट प्रयोग गरिएको छ भने आठदेखि १८ मिटर चौडाइ र आठदेखि १८ मिटरकै स्लोपको बाँध बनाइएको इनिजनियर पाण्डेले बताए । महाकाली नदीलाई बीचबाट बगाउने उद्देश्यले गाइड बण्ड बनाइएको पाण्डेको भनाइ छ । पानी बीचबाटै बगोस् भनेर उत्तरतर्फको डेढ किलोमिटरसम्म नदीलाई गहिरो बनाइएको इनिजनियर पाण्डेले बताए ।


  • सम्बन्धित विषय:

  • # महाकाली पुल
  • प्रतिक्रिया दिनुहोस