डडेल्धुरा । डडेलधुराको आलिताल गाउँपालिका–१ का पहिरो पीडितको व्यवस्थापन नहुँदा विद्यालयको पठनपाठन प्रभावित भएको छ। आलितालको मालागाँउ र भोकागाउँका २१ परिवार साउन ८ गते देखी जनज्योति आधारभूत विद्यालयमा बसोबास गरिरहँदा विद्यालयको पठनपाठन प्रभावित भएको हो।
पीडितको विद्यालयमा बास भएपछि अहिले विद्यालय नै बन्द रहेको वडाध्यक्ष यज्ञबहादुर देउवाले बताएका छन्। उनले भने, ‘पहिले विद्यालयको बर्खे बिदा भएकोले सजिलो भएको थियो। अहिले विद्यालयको नियमित पठनपाठन समेत बन्द गर्नु परेको छ।’ सामाग्री नआउँदासम्म विद्यालय नै अन्तिम विकल्प भएकोले विद्यालय नै बन्द गरेर पीडितलाई व्यवस्थापन गरेको उनको भनाइ छ।
विद्यालय भवनमा रात कटाइरहेका स्थानीयलाई राष्ट्रिय वनको खुला क्षेत्रमा राखिने जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय भएता पनि अहिलेसम्म व्यवस्थापन भएको छैन।
डडेलधुराका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी जितेन्द्र ओझाका अनुसार समितिको निर्णय पश्चात् पहिरो पीडितका लागि गृह मन्त्रालयले सामाग्री पठाइसकेको बताए। उनले भीमदत्त राजमार्गको खानीडाँडा, बुढीतोलामा आएको पहिरोका कारण सामग्री सम्बन्धित स्थानसम्म पुर्याउन नसक्दा व्यवस्थापनमा ढिलाइ भएको बताए।
विद्यालयको पठनपाठनमा भएको असर प्रति गम्भीर रहेको बताउँदै उनले विद्यालय बन्द गरेर स्थानीयलाई बसालेता पनि यो बिदालाई अरू बिदाहरूमा पनि पठनपाठन सञ्चालन गरेर विद्यार्थीको पढाइलाई निरन्तरता दिने उनले बताए।
अहिलेसम्म वडा तथा पालिकाले राहत स्वरूप खाद्य सामाग्री चामल, दाल, तेल, तरकारी नुन र अन्य सर समान दिँदै आएको छ।
.gif)