शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

विद्यालयलाई साहित्यको केन्द्र बनाउने इच्छा छ : प्रधानाध्यापक ओझा


शुक्रबार, भदौ ८ २०८०
  • 1.1K
    Shares

  • images
    images
    विद्यालयलाई साहित्यको केन्द्र बनाउने इच्छा छ : प्रधानाध्यापक ओझा

    कञ्चनपुर । महेन्द्रनगर स्थित ग्लोबल एकेडेमीको बाल क्लबले गजलबारे चर्चा कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयकै शिक्षकहरुले साहित्यमा रुचि राख्ने चार दर्जन बढी विद्यार्थीहरुलाई दुई दिने गजल प्रशिक्षण कार्यक्रम राखी गजल लेखन तथा वाचन गर्न सिकाएपछि तिनीहरुमध्येबाटै एक दर्जन उत्कृष्ट विद्यार्थीहरुलाई शुक्रबार गजलबारे चर्चा कार्यक्रम राखी प्रतियोगितामा सामेल गराएको हो । प्रतियोगितामा सहभागी १२ प्रतियोगी विद्यार्थीहरले गजल वाचन गरेका थिए । कञ्चनपुरका वरिष्ट साहित्यकारहरुको सहभागितामा भएको उक्त प्रतियोगितामा सहभागी विद्यार्थीहरुमध्ये चुडामणी भट्ट प्रथम, अनुराग चन्द द्वितीय र सुरज पन्तले तृतीय स्थान प्राप्त गरेका छन् । ग्लोबल बा क्लबकी अध्यक्ष रितु उपाध्यायको अध्यक्षता तथा वरिष्ट साहित्यकार कृष्णदत्त चटौतको प्रखुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा साहित्यकार जगदीश ओझा, साहित्यकार डम्बर शर्मा बडू र साहित्यकार चन्द्रकला पन्तले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । ग्लोबल एकेडेमीका संस्थापक एवम् प्रधानाध्यापक सुरेन्द्र ओझाले गजलसँग सम्बन्धित बिभिन्न प्रश्न बनाइ हाजिरी जवाफमा समेत सहभागी गराएका थिए । कार्यक्रममा मन्तव्य सहित निर्णय सुनाउदै साहित्यकार जगदीश ओझाले बालबालिकाहरुमा प्रसस्त मात्रमा सिर्जनात्मकता हुने र हामीले उचित वातावरण तथा उत्प्रेरणा दिन सके उनीहरुको सिर्जनात्मकता मौलाउने हुनाले यस्ता प्रशिक्षण र प्रतियोगिताहरुले विद्यार्थीको पढाइलाई समेत सघाउने, प्रतिस्पर्धा गर्ने बानीको विकास हुने तथा साहित्यको पुस्तान्तरणमा सहयोग मिल्ने कुरा बताउनुभयो । कार्यक्रममा बोल्दै साहित्यकार ओझाले विगत लामो समयदेखि यस विद्यालयले बालबालिकाहरुका लागि उत्प्रेरणामुलक कार्यक्रम गर्दै आइरहेको र आउँदो दिनमा पनि यस्ता कार्यक्रममा आफूसक्दो सयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालयका प्रधानाध्यापक सुरेन्द्र ओझाले ग्लोबल एकेडेमीलाई साहित्यको केन्द्र बनाउने इच्छा जाहेर गर्दै जुनसुकै समयमा पनि विद्यालयमा सिर्जनात्मक तथा साहित्यक कार्यक्रमहरु आयोजना गर्ने र यसका लागि यस क्षेत्रका साहित्यिक संघसंस्था तथा साहित्यकारहरुबाट सहयोगको अपेक्षा राखेको बताउनु भयो । विद्यालयमा विद्यार्थीहरुलाई पढ्नका लागि पुस्तकालयको व्यवस्था गरिएको र उक्त पुस्तकालयमा रहेका कृतिहरु अध्ययन गर्न लगाई समीक्षा गर्ने कार्यक्रम गर्दै आइरहेकाले यस क्षेत्रका स्थानीय लेखकहरुका कृतिहरु उपलब्ध गराइ त्यसमा समीक्षत्मक कार्यक्रम राख्नका लागि सबैले सहयोग गरिदिन आग्रह गरेका छन् । त्यसैगरी विद्यालयलाई थप साहित्यमैत्री बनाउन विद्यालयमा रहेको सभाकक्ष साहित्यिक कार्यक्रमका लागि सधैँ उपलब्ध गराइने र यस क्षेत्रको साहित्यिक विकासका लागि निशुल्क हल उपलब्ध गराउने र सक्दो सहयोग गर्ने वचनबद्धता समेत व्यक्त गर्नुभयो । विद्यार्थीहरुलाई साहित्यतर्फ रुचि जगाउन छिटै छन्द कविता वाचन तथा लेखन सम्बन्धी प्रशिक्षण कार्य समेत गराउने र त्यसका लागि पनि साहित्यकारहरुलाई सहयोग गरिदिन आग्रह गरेका छन् । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहेका साहित्यकार चन्द्रकला पन्तले बालबालिकाहरुलाई स्थानीय भाषामा पनि साहित्य सिर्जना गर्न आवश्यक रहेको र सानै उमेरदेखि साहित्य र स्थानीय संस्कृतिबारे ज्ञान दिनु आवश्यक रहेको बताउनुभयो । त्यसैगरी साहित्यकार डम्बरशर्मा बडू र रमेश पन्त मीतबन्धुले पनि बालबालिकाहरुको प्रतिभा र रुचिको प्रशंसा गर्दै आगामि दिनहरुमा यस क्षेत्रमा हुने कार्यक्रमहरुमा विद्यार्थीहरुलाई विशेष प्राथमिकता दिने कुरामा जोड दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि कृष्णदत्त चटौत कान्तले विद्यालय भनेको हरेक किसिमका सिर्जनाको जननी हुने भएकाले यस्ता कार्यक्रमहरु विद्यालयमा आवश्यक रहेको र त्यसका लागि अघिल्लो पुस्ताले विशेष पहल चाल्नुपर्ने कुरा व्यक्त गर्नुभयो । विद्यालयमा तोकेको पाठ्यक्रमले मात्रै सिकाइ पूर्ण नहुने भएकाले मानिसलाई वास्विक मानव बनाउन विद्यार्थीहरुमा सिर्जनात्मकता, नैतिकता र समाजिकता भर्नका लागि साहित्यले मद्दत गर्ने कुरामा जोड दिनुभयो । उहाँले यस विद्यालयमा वर्षभरी उत्कृष्ट सिर्जना गर्ने विद्यार्थीलाई नगद पुरस्कारको समेत घोषणा गर्नुभयो । साहित्यकार कविराज भट्टले विद्यार्थीहरुमा सिर्जनात्मकता अत्यन्तै रहेको तर त्यसलाई अझ निखार गर्न विभिन्न विधाहरुको प्रशिक्षण र बालबालिकाहरुलाई आफ्ना भावना प्रस्तुत गर्न मञ्च तथा अवसर मिल्नुपर्ने कुरामा जोड दिदै आगामि दिन विद्यार्थीहरुलाई सिर्जनात्मक लेखन प्रशिक्षणका लागि सक्दो सहयोग गर्ने कुरा बताउनुभयो । विद्यालयको सभाहमा लामो समयसम्म चलेको उक्त कार्यक्रममा १२ विद्यार्थी प्रतियोगी गजलका साथै शिक्षक तथा अतिथिहरुले समेत रचना वाचन गरेका थिए । प्रतियोगितामा प्रथम द्वितीय एवम् तृतीय स्थान ग्रहण गर्ने विद्यार्थीहरुलाई पुरस्कार र विभिन्न पुस्तकहरु समेत उपहार दिइएको थियो । करिब दुई घण्टा जति चलेको उक्त कार्यक्रमको सञ्चालन बाल क्लबकै सदस्य सुरज कुमार पन्त र प्रसंग धामीले गरेका थिए । 




    प्रतिक्रिया दिनुहोस