डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका २ रुपालमा २१ गते दलित पुजारी हुने जोगेनी जाँत (जात्रा) मनाइने भएको छ ।
३ वर्षको फरकमा मनाइने जोगेनी जाँतमा दलित पुजारीबाट पूजा आजा गरिँदै आएको छ । यो जाँतको आफ्नै परम्परागत कथन रहेको भागेश्वर गाउँपालिका अध्यक्ष हेमराज चटौत बताउँछन् ।
चटौतका अनुसार “डोट्याली राजा नागी मल्लको समयमा जाखमा बस्ने सुनीजातीका दलितहरू महाकाली नदीमा जाल हानेर गुजारा गर्थे र ठुलो माछा परेपछि राजाको दरबारमा पुर्याउने चलन थियो । दरबारमा पुर्याउँदा माछाहरू ढुङ्गामा परिणत भएकोमा वीरहरूलाई शान्त पार्न जाँत लगाइएको किम्बदन्ती छ ।”
महिनावारी तथा छुवाछुत मान्ने परम्परा रहेको यस क्षेत्रमा जोगेनी जाँतमा भने कोही पनि जान पाउने छुट रहेको स्थानीय जानकारहरू बताउँछन् ।
सुनी, तिरुवा र सार्की जातीले पूजाआजा गर्ने गरेका छन् । उक्त जाँत हेर्न भारतबाट समेत श्रद्धालुहरू आउने गरेका छन् । जाँतको अवसरमा गाउँपालिकाले बिदा दिएको छ ।
.gif)