आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिममा एक सातामै डेंगीबाट दुई जनाको मृत्यु


पश्चिम प्रेस
बिहीबार , भदौ २१ २०८०
  • 869
    Shares

  • images
    images
    सुदूरपश्चिममा एक सातामै डेंगीबाट दुई जनाको मृत्यु

    महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा डेङ्गी रोगको प्रकोप बढ्दै गएको छ। डेङ्गी रोगको संक्रमण तीव्र रुपमा फैलिएसँगै सुदूरपश्चिममा गएको साता मात्रै २ जनाको मृत्यु भएको छ ।

    कञ्चनपुरमा एक युवा र  हिमाली जिल्ला दार्चुलामा १ किशोरीको डेङ्गीबाट मृत्यु भएको हो। कञ्चनपुरको बेलौरी नगरपालिका—८ का २७ वर्षीय हिक्मत खत्रीको डेङ्गी रोगको संक्रमणले मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले बताए। डेङ्गी रोगको संक्रमणपछि धनगढीस्थित अस्पतालमा उपचार गर्ने क्रममा भदौ ११ गते खत्रीको मृत्यु भएको उनले बताए।

    युवकको मृत्यु भएको ५ दिनपछि हिमाली जिल्ला दार्चुलामा पनि डेङ्गीले एक किशोरीको मृत्यु भयो। स्वास्थ्य कार्यालय दार्चुलाका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति वीरेन्द्र भट्टले दार्चुला महाकाली नगरपालिका वडा नं९ दत्तु बस्ने १४ वर्षीय किशोरी जेलिना चैसिरको डेङ्गीले मृत्यु भएको बताए।

    केही वर्ष अघि सम्म लामखुट्टे नै नदेखिने हिमाली जिल्ला दार्चुलामा डेङ्गी रोगको संक्रमण सबैभन्दा बढी फैलिएको छ।

    प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा गत जनवरी देखि फाटफुट रुपमा देखा परेको डेङ्गी रोगको प्रकोप पछिल्ला दुई तिन साता यता तीव्र रुपमा बढेको छ।

    जनवरीमा १५, फेब्रुअरीमा ५२, मार्चमा १ सय २९, अप्रिलमा २५, मे मा २२, जुनमा २६, जुलाईमा ५८ जनामा डेङ्गी रोगको संक्रमण देखा परेकोमा अगस्त एकै महिनामा ३ सय ६५ जनामा संक्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति जोशीले बताए । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ६ सय ९२ जनामा डेङ्गी रोगको संक्रमण देखा परेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।


  • सम्बन्धित विषय:

  • # डेंगी
  • प्रतिक्रिया दिनुहोस