महेन्द्रनगर । अन्तर्राष्ट्रिय सम्मेलनका लागि भनेर अछामको प्रमुख पर्यटकीय क्षेत्र रामारोशन जान धेरै पर्यटक आएका छन्। तर, भारत, अमेरिका, क्यानडा, पोल्यान्ड, इटाली, रुस, स्विडेन, इजरायल, फ्रान्स, स्पेन, जर्मनी र थाइल्यान्डलगायतका देशबाट आएका उनी अहिले अलपत्र परेका छन्।
विभिन्न देशबाट २ हजारभन्दा बढी व्यक्ति रामारोशनमा आएर बृहत् सम्मेलनमा सहभागी हुने सूचना सार्वजनिक भएको थियो तर त्यसको आधिकारिता भने हालसम्म कहीँकतैबाट पुष्टि नहुँदा विदेशी नागरिक अन्योलमा परेका हुन्। अछाम प्रवेश गरिसकेका र रामारोशन जाँदै गरेको अवस्थामा उनीहरु जयगढ बजारमा छन् ।
सरकारको इजाजतबिना आएका उनीहरु प्रवेश नाका चौखुट्टेमा रोकिएका छन् भने कोही सम्मेलन हुने भनिएको स्थलमा त्रिपाल टाँगेर बसेका छन्।
यता स्थानीय प्रशासन र स्थानीय तहलाई समेत सम्मेलनबारे जानकारी नभएपछि स्थानीय प्रशासनले सङ्घीय गृह मन्त्रालयमा सोधेको थियो। त्यसरी सोध्दै गर्दा स्थानीय प्रशासनले केही पर्यटकलाई अछाम प्रवेश गर्ने नाकामै रोक लगाएको थियो। तीन दिनदेखि पर्यटक अलपत्र परेको सूचना प्राप्त भएपछि गृह मन्त्रालयका सूचना अघिकारी उमाकान्त अधिकारीले रामारोशनमा सम्मेलन गर्न कुनै निकायबाट अनुमति लिए नलिएको, कार्यक्रमको प्रकार, कार्यक्रम सञ्चालनको अवधि र सुरक्षा चुनौतीबारे बुझ्न मन्त्रालयले निर्देशन दिएको बताए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समेत यति ठुलो सङ्ख्यामा पर्यटक के कति कारणले रामारोसन पुगे भन्नेबारे जानकारीमा नआएको बताएको छ। विभिन्न देशबाट दुई हजारभन्दा बढी व्यक्ति रामारोशनमा आएर बृहत् सम्मेलनमा सहभागी हुने सूचना सार्वजनिक भएको थियो तर त्यसको आधिकारिता भने हालसम्म कहीँकतैबाट पुष्टि नहुँदा विदेशी नागरिक अन्योलमा परेका हुन्। अछाम प्रवेश गरिसकेका र रामारोशन जाँदै गरेको अवस्थामा जयगढ बजारमा रोकिएका छन्।
स्थानीय प्रशासनले रामारोशनमा आयोजना गर्ने भनिएको बृहत् सम्मेलनको विस्तृत विवरण मागेपछि समस्या आएको हो। उक्त सम्मेलनको विषयमा स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई आधिकारिक जानकारी नआएको बताइएको छ।