बुधबार, असोज १० गते २०८० || Sep 27, 2023
images
images

कृष्णपुरमा छाडा चौपाया व्यवस्थापन गरेर प्राङगारिक मल उत्पादन


पश्चिम प्रेस
सोमबार, असोज १ २०८०
  • 1.1K
    Shares

  • images
    images
    कृष्णपुरमा छाडा चौपाया व्यवस्थापन गरेर प्राङगारिक मल उत्पादन
    images
    images
    images
    images

    महेन्द्रनगर ।  कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मा छाडा चौपायाको व्यवस्थापनसँगै व्यवसायिक रूपले प्राङगारिक मल उत्पादन गर्न थालिएको छ।

    उत्पादित मल तरकारी खेती, फलफूल खेती र माछापालनमा लागेका किसानले खरिद गरेर लैजान थालेका छन्। प्रतिट्राली मल रु चार हजारका दरले बिक्री हुन थालेको छ। हालसम्म तीनसय ट्राली मल बिक्री भएको छ।

    ‘मल बिक्री गरेर आएको केही रकम गौशाला व्यवस्थापनमा खर्च हुन्छ’ वडाअध्यक्ष धर्मबहादुर सिंहले भने, ‘बचेको रकम पुनः प्राङगारिक मल उत्पादन गर्दा खर्च हुने गरेको छ।’

    images

    दुई वर्ष अघिसम्म यस क्षेत्रका खेतमा लगाइएको बाली छाडा चौपायाले खाएर नोक्सानी पुर्याउने गर्दा स्थानीय किसानले हैरानी खेप्दै आएका थिए। वडा नजिकैको समैजी सामुदायिक वन छेउको सार्वजनिक जग्गामा छाडा चौपाया व्यवस्थापन गरिएपछि किसानको बाली जोगिनाका साथै सुपथ मूल्यमा प्राङ्गारिक मल पाउन थालेपछि स्थानीय किसानले व्यवसाीयकरूपले खेती गरेर आम्दानी गर्न थालेका छन्।

    ‘प्राङ्गारिक मल नपाउँदा अधिकांश किसानले खेतबारीमा रासायनिक मल प्रयोग गर्दै आएका थिए’ गौशाला व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर खड्काले भने, ‘हाल वडाका अधिकांश किसानले प्राङगारिक मल प्रयोग गर्न थालेपछि माटोको उर्वराशक्ति बृद्धि हुनाका साथै माटोको गुणस्तरमा सुधार आएको छ।’

    प्राङ्गारिक मलको प्रयोगले अन्नबाली र तरकारीको मूल्य बढ्नाका साथै रासायनिक मलको प्रयोगमा कमी आएको उनको भनाइ थियो।

    केही किसानले गौशालाबाट मल खरिद गरे पनि अधिकांशले मल  उत्पादनको तरिका सिकेर घरमै पनि मल उत्पादन गर्न थालेको पनि अध्यक्ष खड्काले उल्लेख गरे।

    उनका अनुसार किसानको मागबमोजिम गौशालमा प्रांगारिक मलसँगै गँड्यौला मल बनाउने कार्य अगाडि बढाइएको छ। रासायनिक मलमा  परनिर्भरता कम गर्नका लागि प्राङ्गारिक र गड्यौला मलको प्रयोगलाई बढावा दिन थालिएको हो।

    गौशालामा पाँच सय छाडा चौपायालाई व्यवस्थापन गरिएको छ। गौशालामा व्याएका गाई घरमै लगेर पनि  दूध तथा दही खान दिइने गरिएको छ।

    ‘गाई दुहुनो छँदासम्म घरमै लगेर पाल्नसक्ने व्यवस्था गरेका छौँ’ वडाअध्यक्ष सिंहले भने, ‘गाईले दूध दिन छाडेपछि पुनः गौशालमै फिर्ता लिन्छौँ।’

    नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीका अनुसार वडा नं १, २,४ र ५ गरी गरी पाँच ठाउँमा छाडा चौपाया व्यवस्थापन गरिएको छ।

    पाँचवटै ठाउँमा झण्डै एक हजार पाँच सय चौपायालाई अस्थायीरूपमा व्यवस्थापन गरिएको र ती चौपायलाई रेखदेख गर्नेलाई खर्च भने नगरपालिकाबाट व्यहोरिँदै आइएको छ। उनका अनुसार उत्कृष्ट व्यवस्थापनको कार्य वडा नं ४ मा भएको छ। 


  • सम्बन्धित विषय:

  • # प्राङगारिक मल
  • प्रतिक्रिया दिनुहोस