महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा उपचारमा खटिएका स्वास्थ्यकर्मी माथि हातपात भएको छ । बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा घाइतेको उपचारमा खटिएका अहेब नरेन्द्र प्रसाद गैरेमाथि गएराती हातपात भएको हो ।
गए राति ११ बजेको समयमा टाउको र आँखामा चोट लागेर घाइते भएका बेलौरी ५ मैनाहाका बाबुराम चौधरीको उपचारमा खटिएका स्वास्थ्यकर्मी गैरेमाथि हातपात र गालीगलौज गरिएको हो ।
बेलौरीकै गोकुलपुर बजार बस्ने रामु भनिने राम बहादुर खड्काले गालीगलौज गरी घाँटी च्यापेको र आफूले सबै कुरा सिसिटिभी क्यामेरामा कैद भइरहेको भनेपछि थप दुर्घटना हुनबाट जोगिएको अहेब गैरेको भनाइ छ । सिसिटिभी फुटेजमा देखिए अनुसार सुरक्षाकर्मीकै अगाडि मध्यरातमा ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि गरिएको दुर्व्यवहार गरेको देखिएको छ ।
आफ्नो घर नजिक घाइते अवस्थामा भेटिएका चौधरीलाई स्वास्थ्य केन्द्रमा पुर्याएको लामो समयसम्म पनि चेकजाँचमा ढिलाइ गरेको र टाँका लगाउन आवश्यक धागो समेत उपलब्ध नभएको भन्दै बाहिरबाट मगाउँदा विवाद भएकाले आफूले धक्का मात्रै दिएको उनको भनाइ छ ।
यस विषयमा इलाका प्रहरी कार्यालय बेलौरीमा जानकारी गराइसकेको भए पनि अहिलेसम्म कुनै पहल नभएको अहेब गैरेले बताएका छन् ।
.gif)