कैलाली । कैलालीको टीकापुर घटनामा कैद भुक्तान गरिरहेका तीन जना कैदमुक्त भएका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद कट्टा गरिए पछि उनीहरु कैलाली कारागारबाट बुधबार रिहा भएका हुन् ।
रिहा हुनेमा जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी, प्रदीप चौधरी र टीकापुर नगरपालिका–४ का बीरबहादुर चौधरी रहेको कैलाली कारागार प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दिए । बिगत ८ वर्षदेखि टीकापुर घटनाको मुद्धामा जेल जीवन विताइरहेका थिए । त्यसैगरी सोही घटनामा पोखरास्थित बाल सुधार गृहमा रहेका श्रवण चौधरी पनि रिहा भएको भन्ने मौखिक खबर आएको कारागार प्रमख तिमिल्सिनाले बताए ।
यस अघि सोही घटनामा तीन तहकै अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरी गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते डिल्लीबजार कारागारबाट कैदमुक्त भएका थिए ।
२०७२ साल भाद्र ७ गते टीकापुरमा भएको घटनामा एक नावालक सहित ८ जनाको ज्यान गएको थियो । त्यस्तै कैलाली कारागारबाट बुधबार नै अन्य थप ६ जना कैदमुक्त हुन लागेको कारागार प्रशासनले जनाएको छ ।