महेन्द्रनगर । जिल्ला कारागार बैतडीमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । २५ जनाको क्षमता रहेको कारागारमा अहिले ७५ जना कैदीबन्दी रहेका छन् ।
२०४० सालमा निर्माण गरिएको कारागारको जीर्ण भवनमा कैदीबन्दी राख्न निकै समस्या रहेको कारगारकी जेलर धारा भण्डारीले बताइकी छिन् । जस्तापाताले छाएको कारागार भवनमा बर्षातको समयमा पानी चुहिने र हिउँदको समयमा शीत चुहिने गरको उनले बताइन् ।
कारागार भवनमा कैदीबन्दीहरुलाई बसोबासको समस्या रहेको बताइएको छ । कारागार भवनमा ठाउँको अभाव एकातिर छ भने जीर्ण भवन अर्कोतिर रहेको छ । भवनको छानामा प्लास्टिक हालेर व्यवस्थापन गर्नुपरीरहेको भण्डारीले बताइन् ।
जिल्ला कारागार भवन मर्मतका लागि गत आर्थिक बर्षमा ३ लाख बजेट आएकोमा एक भवन मर्मत गरिएको र अर्को भवन मर्मत गर्न बाँकी रहेको छ ।
कारगार परिसरमा कैदीबन्दीका लागि राखिएको टेन्ट समेत च्यातिएको छ । पुरानो टेन्ट च्यातिएपछि कैदीबन्दीहरुका लागि झन् समस्या भएको छ ।