बैतडी । बैतडीमा हिंसामा परेका महिलाको पुर्नस्थनापनाका लागि करिब १४ लाख रुपियाँ खर्च गरेर निर्माण भएको महिला सुरक्षा गृह माकुराको जालोले घेरिएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिका–४, गढीमा हिंसापीडित महिला राख्न सन् २०१२ मा निर्माण भएको पक्की भवन ११ वर्षदेखि सञ्चालनमा नआउदा माकुराको जालो र झाडीले घेरिएको हो ।
सो भवनमा खानेपानी, ग्यास चुलो, दाल, चामल र बिस्तारालगायतका सामग्री राखिएको भए पनि भवन सञ्चालनमा नआउँदा माकुराको जालो र झाडीले घेरिएको छ । भवनमा राखिएको दाल, चामल मुसाले खाइदिएको छ ।
अन्तरपार्टी महिला सञ्जालको माग अनुसार सन् २०१२ मा केयर नेपालको आर्थिक सहयोगमा स्थानीय रुडेस संस्थाको पहलमा उक्त भवन निर्माण बताइएको छ ।
अन्तरपार्टी महिला सञ्जालको खातामा रकम निकासा गरेर भवन निर्माण गरेर खाद्यान्नको समेत व्यवस्था गरेको थियो ।
सञ्जालले भवन निर्माण गरे पनि सुरक्षा गृहको स्वामित्व स्थानीय तहलाई नदिँदा भवन सञ्चालनमा नआएको बताइएको छ । हिंसामा परेका महिलालाई सदरमुकामबाट करिब ३५ किलोमिटर टाढा पाटन नगरपालिका–६ स्थित मासिक २४ हजार रुपियाँ तिरेर भाडाको घरमा राखिँदै आएको छ ।
महिला सुक्षा गृह सञ्चालन गर्न सबै पक्षको बैठक बोलाएर सेवा सुचारु गर्ने विषयमा छलफल भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। यस जिल्लामा वार्षिक दुई सयभन्दा बढी महिला हिंसापीडित भएर जिल्ला अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा आउने गरेको तथ्याङ्क छ ।