बझाङ । बझाङका गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप बढेको छ । जिल्लाका सबै जसो स्थानमा भाइरल ज्वरोका बिरामी बढेका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
मौसममा आएको परिवर्तनसंगै भाइरल ज्वरोका बिरामी बढेको चिकित्सकको भनाई छ। जिल्ला अस्पताल बझाङमा कार्यरत डाक्टर विजय उपाध्यायका अनुसार अस्पतालमा उपचारका लागि आउने बिरामी मध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी रहेका छन् ।
मौसममा आएको परिवर्तनसंगै गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको खप्तडछान्ना गाउँपालिकास्थित पसलबगर स्वास्थ्य चौकीका सिनियर हेल्थ असिस्टेन्ट अर्जुन बहादुर थापाले बताए । स्वास्थ्य चौकिमा हिजोआज दैनिक ४० जना भन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेका उनले बताए । स्वास्थ्य संस्थामा आउने धेरै जसो बिरामी मध्ये भाइरल ज्वरोका बिरामी धेरै आउने गरेको उनले बताए । अहिले स्वास्थ्य संस्थामा आउने बिरामी मध्ये अधिकांशमा भाइरल ज्वरो देखिएको छ । गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप छ उनले भने । मौसम परिवर्तनका साथसाथै अस्वस्थकर खानपीनले पनि भाइरल ज्वरोको संक्रमण बढेको थापाको भनाइ छ ।
ज्वरोका बिरामीहरुले नजिकै स्वास्थ्य संस्थामा चेकजाँच गर्नुपर्नेमा उनले जोड दिए । ज्वरोका बिरामीहरुमा अन्य संक्रमण पनि हुन सक्ने भएकाले स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने उनले बताए । पछिल्लो समयमा जिल्लामा भाइरल ज्वरो मात्रै नभएर टाइफाइड, स्क्रब टाइफस, डेंगु लगायतका बिरामीहरु पनि फेला परीरहेका जिल्ला अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. नवराज जोशीले बताए। ज्वरोका बिरामीहरुले स्वास्थ्य संस्थामा चेकजाँच गराएर मात्रै औषधि सेवन गर्नुपर्ने डा. जोशीले बताए।
ज्वरोका बिरामीहरुले मेडिकलहरुबाट आफूखुसी औषधि किनेर प्रयोग गर्ने भएकाले यसले समस्या बल्झिन सक्ने उनको भनाई छ । जथाभावी औषधिको प्रयोगले मानवको स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने भएकाले स्वास्थ्य संस्थामा चेकजाँच गराउनुपर्नेमा उनले जोड दिए । भाइरल ज्वरो लगायतका प्रकोपकबाट बच्नका लागि शुद्धीकरण गरिएको पानी मात्रै प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मिहरुको सुझाव छ ।
.gif)