बैतडी । बैतडीमा सबैभन्दा बढी फल्ने अन्न घोगा (मकै) भित्र्याउन किसानलाई भ्याइनभ्याइ छ। रैथाने धौलो घोगा फलाउने किसानलाई मकै पाकेसँगै भित्र्याउन भ्याइनभ्याइ भएको हो ।
जेठमा रोपेको मकै भदौ अन्तिम सातादेखि असोज पहिलो साताभित्र पाक्न थालेपछि स्थानीय किसानले परम्परागत लुटा (चाङ/टौवा) बनाएर राख्न थालेका छन्। मकैको चाङलाई हिँउदभरि खुला राखेर घाममा सुकाइन्छ। जिल्लाको तल्लो स्वराड क्षेत्रको मेलौली, शिवनाथ, पञ्चेश्वर, च्वाँगढको सिगास, पुर्चौडी, दोगडाकेदार, सुर्नया र ग्वाल्लेक क्षेत्रका किसानलाई अहिले मकै भित्र्याउन भ्याइनभ्याइ छ । मकै भाँचेर लुटो (चाङ) मा राख्न चारदेखि छ वटा घोगालाई झुप्पो बनाएर बाँध्ने गरिन्छ ।
यसरी तयार भएको मकै राख्न करिब १० फिटसम्म अग्लो काठ ठड्यार डोरीमा मकैको झुप्पा बेरेर लुटो (चाङ) तयार गरिने स्थानीय बताउछन् घाममा मकै सुक्ने भएकाले घरको आँगनमा लुटो बनाउने चलन रहेको छ।
हिउँदमा आवश्यकता अनुसार चाङबाट मकै निकालेर परम्परागत जाँतो र घट्टमा पिसेर मकैको रोटी खाने चलन छ। मोहीसँग मकैको रोटी प्रसिद्ध खाना हो। गोरस र कार्बोहाइड्रेड मकैको रोटी निकै स्वस्थकर खानामा पर्ने गरेको छ ।
.gif)