महेन्द्रनगर । बाजुराको अर्गानिक स्याउ बिक्रीका लागि बजारमा आउन थालेको छ । बाजुरामा स्थानीय रूपमा स्याउ बिक्री नभएपछि धनगढीमा स्याउ ल्याउन थालिएको हो ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उत्पादन भएको स्याउ स्थानीय तह र कृषि ज्ञान केन्द्र बाजुराको ढुवानी अनुदानमा गत बिहीवार धनगढी ल्याइएको हो।
कृषि ज्ञान केन्द्र बाजुराको ढुवानी अनुदान ग्रेप परियोजनाले गरेको कार्टोनको सहयोगमा बाजुराको स्वामिकार्तिक गाउँपालिकामा उत्पादन गरिएको स्याउ बिक्रीका लागि सहर लगिएको स्वामिकार्तिक गाउँपालिका–१, जोरुका स्याउ किसान धनबहादुर रावलले बताए।
केही समयअघि बाटो बन्दका कारण बारीमै रहेको स्याउ यति बेला मार्तडी–कोल्टी सडक सञ्चालनमा आएपछि बिक्री लागि जिल्लाबाहिर लगिएको उनले बताए ।
गाउँमा उत्पादन गरेको अर्गानिक स्याउले जिल्लाभित्रै बजार नपाएपछि बिक्रीका लागि बाहिर लिनुपरेको स्याउ किसान बताउँछन् । बाजुरा, अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुरका उपभोक्ताका लागि बाजुराको अर्गानिक स्याउ कोल्टी–मार्तडी–साँफे–स्याउले हुँदै धनगढी पुगेर बिक्री वितरण गर्ने योजना रहेको स्याउ किसान बताउछन् ।
बाजुरामा ३७० हेक्टरमा स्याउ खेती गरिएको छ। यो वर्ष २० मेट्रिकटन स्याउ धनगढी पुगाउने लक्ष्य राखिएको छ । बाजुरामा यो वर्ष एक हजार १३७ मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ। बाजुरामा प्रति हेक्टर ६ दशमलव ५ मेट्रिकटन स्याउ उत्पादन हुने गरेको छ।
बाजुराबाट धनगढीसम्म स्याउ पु¥याइएपछि बिक्री, वितरण स्थानमा पुगेर सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाही र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले कृषकलाई हौसला प्रदान गर्नुभएको थियो । सो क्रममा कृषिमन्त्री चौधरीले किसानले उत्पादन गरेको स्याउको बजारीकरणमा प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
.gif)