सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

इजरायलमा मारिएका चार विद्यार्थीको शव आफन्तले बुझे


पश्चिम प्रेस
सोमबार, कात्तिक ६ २०८०
  • 883
    Shares

  • images
    images
    इजरायलमा मारिएका चार विद्यार्थीको शव आफन्तले बुझे

    धनगढी ।  गत असोज इजरायलमा हमास आक्रमणमा परी मृत्यु भएकामध्ये चार विद्यार्थीको शव आफन्तले बुझेका छन् । ज्यान गुमाएका सुदूरपश्चिम प्रदेशका चार जना युवाको शव धनगढी विमानस्थलमा हिजो आइतवार मृतकका परिवारलाई बुझाइएको हो । 

    कैलालीको जोशीपुर गाउँपालिका आशिष चौधरी, घोडाघोडी नगरपालिकाका नरायणप्रसाद न्यौपाने, दार्चुला मालिकार्जुन गाउँपालिकाका लोकेन्द्रसिंह धामी र दार्चुला घर भई कञ्चनपुर निबुवाखेडाका दीपेशराज विष्टको शव परिवालाई बुझाइएको हो । मृतक चार युवा विद्यार्थीको शव नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी विमानस्थलमा पुर्‍याइएको थियो । शव बुझ्न मृतकका परिवार धनगढी विमानस्थलमा पुगेका थिए ।

    विमानस्थल पुगेका सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामी, प्रदेशसभाका नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, मृतक विद्यार्थीले अध्ययन गरेका सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत स्कुल अफ एग्रिकल्चर, कृषि विज्ञान सङ्काय टीकापुरका प्राध्यापक सुशील न्यौपाने, परिवारलगायतले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरे। 

    मृतकका आफन्तलाई शव बुझाउन कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, जिल्ला प्रहरी प्रमुखलगायत विमानस्थल पुगेका थिए ।

    स्कुल अफ एग्रिकल्चर, कृषि विज्ञान सङ्काय टीकापुरका प्राध्यापक सुशील न्यौपानेका अनुसार 'लर्न एन्ड अर्न' कार्यक्रमका लागि ४९ युवा विद्यार्थी इजरायल गएकामा १७ जना हिंसात्मक घटनामा परेका थिए । यीमध्ये १० जनाको ज्यान गएको थियो । मृतकमध्ये सात जना सुदूरपश्चिम प्रदेशका रहेकोमा तीन जनाको शव पुग्न बाँकी छ ।

    कञ्चनपुर महेन्द्रनगरका विपिन जोशी सम्पर्कविहीन रहेका छन् । घटनामा घाइते भएका तीन जना उपचाररत रहेका छन् भने ३५ जना नेपाल फिर्ता भइसकेका छन् । 


  • सम्बन्धित विषय:

  • # इजरायलमा मारिएका
  • प्रतिक्रिया दिनुहोस