महेन्द्रनगर । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत शुक्रवार गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो धनजनको क्षति गर्याे । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पश्चिम नेपालमा अझै ठुलो भूकम्प आउने अनुमान गरिएको छ ।
सोमवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जोखिम सुसूचित सार्वजनिक नीति तय गर्न सांसदहरूको भूमिका विषयक कार्यशाला आयोजना गर्दै प्रदेशमा विपत्को अवस्थाका बारेमा विभिन्न तथ्याङ्क सार्वजनिक गरेको हो ।
सुदुरपश्चिममा रातीको समयमा ८ दशमलव ६ रेक्टरको भूकम्प गएमा १६ हजार ७ सय ७२ जनाको मृत्यु हुने सम्भावना रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। यस्तै बिदाको दिनमा भूकम्प गएमा १० हजार ७ सय ९७ जना र कार्यालय समयमा उक्त रेक्टरको भूकम्प गएमा ७ हजार ७ सय ६६ जनाको मृत्यु हुने आकलन गरिएको छ। जसमा सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुरमा मानिसको मृत्यु हुने देखिएको बताइएको छ।
प्रदेश सरकारले विस्तृत भूकम्पीय प्रकोप तथा जोखिम आकलन र परिदृश्यमा आधारित कुल क्षति तथा नोक्सानी आकलन गर्ने, जोखिम न्यूनीकरणका लागी अल्पकालीन, मध्यकालीन दीर्घकालीन कार्य योजना बनाई कार्यान्वयन गर्ने विषयमा जोड दिने जस्ता कार्यक्रम बनाए पनि तीमध्ये कुनै पनि लागू भने गरेको छैन ।
जोखिम सुसूचित सार्वजनिक नीति तय गर्न सांसदहरूको भूमिका विषयक कार्यशाला आयोजना गरे पनि सुदूरपश्चिम भूकम्पीय उच्च जोखिममा छ । गत असोजमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्पले १ जनाको मृत्यु ११ जना घाइते भएकोमा सयौँ घरमा क्षति भएको थियो ।
सुदूरपश्चिमका पहाडी जिल्लामा आधाभन्दा बढी घर भूकम्पीय जोखिममा छन् । भूकम्प मापन केन्द्रका अनुसार ८.६ रेक्टर स्केलको भूकम्प रातीको समयमा आए सोच्नै नसकिने क्षति हुने अनुमान छ ।
जाजरकोटमा भूकम्प गइसकेपछि अहिले हामी सुरक्षित छौँ भन्न नसकिने अवस्था रहेको विद्हरुले बताएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् भरतप्रसाद कोइरालाका अनुसार पोखरादेखि भारतको देहरादुनसम्म विगत ५२० वर्षदेखि ठूला भूकम्प गएका छैनन् । त्यसैले, त्यस क्षेत्रमा ठूला मात्र होइन, महाभूकम्प नै जान सक्ने शक्ति सञ्चित भएर बसेको छ । यसले गर्दा यस क्षेत्रमा जुनसुकै वेला विनाशकारी भूकम्प जान सक्छ । तर, त्यो भूकम्प कतिखेर र कहाँ र कुन क्षमताको जान्छ भनेर यकिन गर्न सकिँदैन । त्यसैले, हामी यसबारे अहिल्यैदेखि सचेत हुनु जरुरी छ ।
ठूला र महाभूकम्पको शक्ति सञ्चय भएर बसेको ठाउँमा एक–दुईवटा ५–६ म्याग्निच्युडका भूकम्प गएर हुँदैन, यसले खासै शक्ति घटाउँदैन । ६ म्याग्निच्युडका एक हजार भूकम्प गए भने मात्र ८ म्याग्निच्युडको एउटा भूकम्पले निकाल्ने शक्ति बाहिर निस्कन्छ । कि त ७ म्याग्निच्युडका ३२ वटा भूकम्प जानुपर्यो, त्यसले ८ म्याग्निच्युडको एउटा भूकम्पको सञ्चित शक्ति बाहिर निकाल्छ । होइन भने, शक्ति बाहिर निस्कन महाभूकम्प जान्छ नै । अहिले ६ म्याग्निच्युड हाराहारीका भूकम्प गए भनेर हामी ढुक्क भएर बस्न सक्ने अवस्था छैन, योभन्दा विनाशकारी भूकम्प जतिखेर पनि जान सक्छ ।
मध्य नेपालमा तत्काल ठूलो भूकम्प नआउला भन्ने हाम्रो अनुमान हो । किनकि गोरखा भूकम्पले सञ्चित शक्ति घटाएको छ । तर, पूरै नेपाल भूकम्पीय जोखिममा रहेको क्षेत्र हो । त्यसकारण जुनसुकै वेला पनि यहाँ भूकम्प जानसक्ने जोखिम रहिरहन्छ ।
तर, अन्यत्रका भन्दा पश्चिम नेपालका मान्छे अलि बढी नै सचेत हुनुपर्छ । किनकि त्यस क्षेत्रमा निकै लामो समयदेखि ठूलो भूकम्प गएको छैन । यसको अर्थ पश्चिम नेपालमा मात्र सचेत हुनुपर्छ, अन्यत्रका मान्छे बिन्दास भए हुन्छ, जोखिम छैन भन्न खोजिएको भने कदापि होइन ।
.gif)