महेन्द्रनगर । सोमबार बिहान कैलाश बबल्यालले पवनदुत यातायातको महेन्द्रनगर स्थित टिकट काउन्टरबाट महेन्द्रनगरदेखी कालिकोटको जितेगडाका लागि पाँच जनाको टिकट काटे ।
बिहान आठ बजे दिउँसो ३ः४५ को बसका लागि पाँच जनाको टिकट काटेर फर्किएका उनी सोहि समयमा कालिकोट जान पाएनन । टिकट काटेर बस कालिकोट नगएपछि उनी लगायत संगै टिकट काटेका पाँच जना अलपत्र परेको उनले बताएका छन । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन–“बस ३ः४५ मा छुट्ने भएकोले मैले म सिसैया बाट चड्छु कति बजे आइपुग्छ भनेर करिब १ बजे तिर बस स्टाफलाई फोन गर्दा उता बाट आज बस नजाने मेरो नम्बर आज होइन यदि लगे पनि ५ जना लगेर जान्न भनेर जवाफ आउँछ ।” उनले सार्वजनिक यातायात मार्फत मंगलबार जिल्ला प्रसासन कार्यालय कालिकोट पुग्ने कार्यक्रम भएपनि बसले अलपत्र छोड्दा आफुहरु समस्यामा परेकोे बताए । “अब हामीले के गर्ने अनि कस्लाई भन्ने ? हाम्रो भर्पाई कस्ले गर्छ ? यस्तोे व्यवस्था ले हाम्रो पुरै १ दिन हर्जा भएको छ ।” उनले लेखेका छन –“यस्तो यातायात व्यवस्था र नेपाल सरकार प्रति घोर भर्सना र आपत्ती जनाउन चाहन्छु ।”
गत आईतबार महेन्द्रनगरदेखी काठमाडौका लागि छुट्ने महाकाली यातायातको ४ः३० बजेको बसले पनि टिकट काटेका यात्रु अलपत्र छोडेको थियो । चार दिन अघि नै टिकट काउन्टरमा टिकट बुक गराएका यात्रुहरुलाई महाकाली यातायातको बसले यात्रु बाटोमा अलपत्र छोडेको हो । “४ः३० बजेको बसमा काठमाडौ जान हामी पूर्वपश्चिम राजमार्गमा बसको प्रतिक्षामा थियौ ।” अलपत्र परेका एक यात्रुले भने–“निर्धारित समयमा बस नआएपछि सम्र्पक गर्दा आज बस नजाने जवाफ आयो ।”
यातायात व्यवसायीको यस्तो लार्पबाहीका कारण थुप्रै यात्रुहरु समस्यामा पर्ने गरेका छन । यस विषयमा यातायात व्यवसायीसंग कुरागर्न खोज्दा सम्पर्क हुन सकेन ।
.gif)