बैतडी । बैतडी सदरमुकाममा फेरि खानेपानी समस्या भएको छ । खानेपानी आपूर्तीमा समस्या भएपछि एक पटक पानी भर्न चार दिन कुर्नुपर्ने अवस्थाको सिर्जना भएको छ ।
आठ वर्षअघि १४ करोड रुपैयाँको लागतमा निर्माण भएको खानेपानी योजनाका पाइपमा क्याल्सियम जमेर बन्द भएको उपभोक्ता समितिका अध्यक्ष धर्मानन्द पाण्डेयले बताए । ६ इञ्चको पाइपमा चुना जमेर अहिले ४ इञ्चमात्रै पानी आउने गरेको उनले बताए ।
सदरमुकाममा दैनिक पाँच लाख ५० हजार लिटर पानी आवश्यक पर्नेमा हाल तीन लाख लिटर आपूर्ति हुन थालेको छ । उपभोक्तालाई चार दिनमा एक छाक पानी दिने गरेको साना सहरी खानेपानीका प्राविधिक पदम ठगुन्नाले जानकारी दिए । चार दिनमा एक छाक पानी आउन थालेपछि सदुमकाम क्षेत्रमा डेरा गरी बस्ने विद्यार्थी र होटल सञ्चालकलाई समस्यामा परेको स्थानीयले बताए ।
सात किलोमिटर टाढा रहेको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकबाट आपूर्ति हुने पानीको पाइप फेर्न सके मात्र दैनिक रूपमा पानी वितरण गर्न सकिने जनाइएको छ । ग्वाल्लेकको पानीमा क्याल्सियमको मात्रा बढी भएका कारण सात, आठ वर्षमै पाइपको व्यास घटेर चार इन्च बनेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख गोविन्द देवकोटाले बताए ।
.gif)