सैद्धान्तिक रुपमा “प्रगतिशीलता” लाई मार्क्सवादी दर्शनको एउटा पाटो मानिन्छ । मार्क्सवादी सिद्धान्त भौतिकवादी दर्शन हो । यसले केवल पुरातन मूल्य मान्यताहरुको विपक्षमा मात्रै उभ्याउँदैन, सांस्कृतिक–सामाजिक रुपान्तरणको द्वन्द्वात्मक भौतिकवादी व्याख्या गर्दछ । राजनैतिक सिद्धान्तका रुपमा यसले शोषित, पिडित र निम्न वर्गको पक्षमा वकालत गर्दछ । साहित्य, कला, संस्कृतिका क्षेत्रमा पनि प्रगतिवाद वर्गीय चिन्तनका आधारमा व्याख्या गरिन्छ । यसले शास्त्रीय या आदर्शवादी चिन्तन शैली भन्दा भिन्न वैज्ञानिक तथा यथार्थवादी पक्षहरुलाई आत्मसात गर्दछ ।
सामान्य प्रचलित मान्यता र व्यावहारिक दृष्टिकोणबाट हेर्दा प्रगति या उन्नति, सुधार उन्मुख अवस्था र तत्सम्बद्ध विचारधारात्मक पक्ष प्रगतिशीलता हो । यथास्थितिभन्दा माथि उठ्ने अवस्थामा सुधारात्मक, विकासात्मक स्थिति नै प्रगति हो । निरन्तरता र क्रमिकताबाट भएका प्रयत्नहरुले सुधारात्मक तथा परिवर्तनको अवस्था सिर्जना गर्दछन् । सामाजिक जीवन तथा व्यवहारमा पहिलेको भन्दा पछि सुधार, विकास वा परिवर्तन भएको स्थिति नै प्रगति हो ।
भनिन्छ, “लोकमा छैन एकै नास समुन्नति, अरुको के कुरा हेर सन्ध्यामा सूर्यको गति” – लेखनाथ पौडेलको यो उक्ती प्रगतिका सन्दर्भमा महत्वपूर्ण रुपमा हेर्न सकिन्छ । परिवर्तन प्राकृतिक र मानवजन्य दुबै अवस्था र क्रियाकलापमा भर पर्दछ । समय, अवस्था परिवेश, भुगोल, शिक्षा, मानव चेतनास्तर जस्ता विविध कारकहरुले प्रगतिको गति निर्धारण गर्दछन् । सबै कुराहरु यथास्थिति मै रही रहने हो भने प्रगति सम्भव हुँदैन । मानव प्रयत्नहरुद्वारा प्रगति सम्भव हुन्छ । जंगली अवस्था देखि वर्तमान अवस्थासम्म आइ पुग्दा मानव जातिले जुन प्रगति गरेको छ, त्यसका पछाडि मानव बौद्धिकताको ठूलो योगदान छ । कार्लमाक्र्स, डार्बिनले सैद्धान्तिक संश्लेषण–विश्लेषणबाट जुन व्याख्या गरेर मान्यताहरु स्थापित गराए । तिनै चिन्तन शैलीले प्रगतिशील मान्यताको एउटा पाटो स्थापित गरे ।
साहित्य, कला, संस्कृतिका फाँटमा तल परेका, दबिएका, शोषित, पिडितका पक्षमा अभिव्यक्ति उजागर गर्नु पर्दछ भन्ने पक्षलाई एक थरिले प्रगतिशीलताको कसौटी मान्दछन् । सिद्धान्तको रटाइबाट मात्रै मानव समाज हेर्ने आँखा बनाउने हो भने व्यवहारहरु सतप्रतिशत त्यस्तै हुन्छ भन्ने कुरा एउटा आदर्श मात्र होला ।
सकारात्मक पक्षहरु व्यवहारमा लागु गर्दै जाँदा प्रगतिशीलता आफैँ झल्किन्छ । विचारधारात्मक पक्ष एउटा पाटो बनाएर व्यवहारको गाइड त्यसलाई बनाउन सक्नु आफँैँमा प्रगतिशीलता हुन्छ तर वर्तमान परिवेशमा रुढ मापदण्डका आधारमा व्यवहार निर्धारण गर्नु कठिन छ । जीवनका धेरै पक्षमा परिवर्तनको गतिले चमत्कारिक परिवर्तन गरिदिन्छ भने कहि अवरोधहरुले प्रगति बाधित हुन सक्दछ । बाधित हुन सक्ने र गर्न सक्ने पक्षहरुलाई उपयुक्त चिन्तन शैली र उपायद्वारा उत्तम विकल्पका साथ समाधान गर्न सक्नु प्रगतिशीलताको परिचायक हुन सक्दछ ।
समय र अवस्थाजन्य अवस्था अनुरुप प्राकृतिक रुपमै पनि प्रगति क्रमिक हुन्छ । घसे्रर हिड्ने बालक उभिएर हिड्न सक्दछ । सानो बिरुवा हुर्केर फल लाग्दछ । प्रकृतिबाट सिक्न सक्नु पर्दछ । मलजल स्याहार सुसार बिउको गुणस्तरबाट फल ढिलो चाँडो लाग्न सक्दछ । मानव व्यवहार र मानसिक परिपक्वताबाट देखिने सकारात्मक व्यवहारलाई प्रगतिशील मानिन्छ । अहिले प्रगतिशीलता एउटा राजनैतिक बढ्याइ र बौद्धिक आत्मरतिको विषय पनि बनाइदैछ । अभिव्यक्ति र व्यवहारमा विवेकको सही प्रयोग हुँदै जाने हो भने आफैँ प्रगतिशील देखिन्छ । बौद्धिक दम्भका लागि यसलाई दर्शन सित जोडेर कुरामा आस्तिकताको विरोध गर्दै नास्तिकताको वकालत गर्न बिहानै धुप बाली टिका लगाइ दौड्नु देखावटी प्रगतिशीलता हो ।
“कुर्वन्नेबेह कर्माणी जिजीविशेच्छतम् समा” मा के प्रगतिशीलता छैन त ? खोट देखाउनु मात्रै प्रगतिशीलता होइन । निरक्षिर विवेकी भाव र सामथ्र्य हुनु वास्तविक प्रगतिशीलता हो । प्रगतिशीलताभित्र गतिशीलता हुनु पर्दछ । इन्जन चलिरहनु मात्रै गतिशीलता होइन, त्यसले पानी तानेर फाल्न सकोस् या गाडीलाई अगाडि धकेल्न सकोस्, तब प्रगतिशीलता हुन्छ ।
व्यवहार पक्षमा खासगरी अकारण वा अनुकरणका भरमा एउटा छोडी अर्को अगाल्नु प्रगतिशीलता होइन । द्वन्द्व र संघर्षका पछाडि कारण र प्रभावको अध्ययन हुनु पर्दछ । कैफियतका आधारमा वा जबर्जस्ति व्यवहार माथिको आक्रमणबाट रुपान्तरण हुन सक्दैन । प्रगतिशीलतालाई समाज रुपान्तरणको विचारधारात्मक औजारका रुपमा प्रयोग गरिन्छ । “यद्धपि सिद्धम् लोक विरुद्धम्” भएपछि हठात् र वलात्को परिवर्तन टिकाउँ हुँदैन । लोक जीवनको सापेक्षतामा आवश्यकता र औचित्यका आधारमा निर्माण गरिने दृष्टिकोण नै प्रगतिशीलता हुनु पर्दछ । रट्टा मारिएका विचारभन्दा विचार अनुसारको आचरण प्रदर्शित गर्न सक्नु पर्दछ । हाम्रो जस्तो सामाजिक संरचनामा प्रगतिशीलताको दृष्टिकोणमा द्वन्द्वात्मक अवस्था रहि रहन्छ । लोक जीवनको दर्शन भित्रनै यसका अवयव खोजी अघि बढ्ने हो भने यहाँको गतिशीलता भित्रै प्रगतिशीलता खोज्न सकिन्छ, समुन्नत संस्कृति निर्माणका लागि आफ्नै जीवन र जगत भित्रका वैज्ञानिक आधारयुक्त र सकारात्मक मौलिक पक्षहरु खोज्ने हो भने माक्र्सवादी सिद्धान्तको रटान गरिरहनु नै जरुरी हुँदैन् । साहित्य कला र संस्कृति क्षेत्रमा विद्यमान रुढ विसंगतिहरु, अन्धपरम्परा, रुढिबादीता तथा वर्तमानमा सिर्जना भइ रहेका असंगत पक्षहरु केलाई निश्चित सोच, दृष्टिकोण र कार्यदिशाका आधारमा सामाजिक, सांस्कृतिक रुपान्तरण गर्न सकिन्छ ।
पृथ्वीमा मानवजीवनको अविर्भाव भए सँगै, मानव समुदायले आ–आफ्नो समुदायको विकास, सुरक्षा, जनजीविका, पहिचान स्थिरता, सहअस्तित्व, प्रकृति, पर्यावरण सँगको सामन्जस्यता, लोक कल्याण, सुख समृद्धि, सामुदायिक चेतनाको विकास आदि उच्चतम् मानवीय मूल्यहरुलाई दृष्टि गोचर गरी समय सापेक्ष आफ्ना जीवनका विशिष्टतम् व्यवहार र कार्यहरुबाट प्राप्त अनुभवहरुलाई आफ्नो सन्तति र समग्र समुदायको लागि पृथ्वीमा मानवजीवनको अविर्भाव भए सँगै, मानव समुदायले आ(आफ्नो समुदायको विकास, सुरक्षा, जनजीविका, पहिचान स्थिरता, सहअस्तित्व, प्रकृति, पर्यावरण सँगको सामन्जस्यता, लोक कल्याण, सुख समृद्धि, सामुदायिक चेतनाको विकास आदि उच्चतम् मानवीय मूल्यहरुलाई दृष्टि गोचर गरी समय सापेक्ष आफ्ना जीवनका विशिष्टतम् व्यवहार र कार्यहरुबाट प्राप्त अनुभवहरुलाई आफ्नो सन्तति र समग्र समुदायको लागि प्रेरणा मिलोस् भन्ने हेतुले विभिन्न किसिमका मनोरञ्चनात्मक उपक्रमहरु श्रृजना गरी संस्कृतिको रुपमा चलनचलाइँदै आएका धेरै जसो उदाहरणहरु मानव समाजमा छन् । कतिपय समुदायका रीति चलनहरु, आफ्नो समुदायको मात्र मनोरञ्जन र कल्याणको लागि मात्र भए बाँकी समुदायले पचाउन नसकेका वा समग्र मानव प्रगतिमा केही प्रभाव राख्न नसकेका संस्कृतिहरु पनि प्रचलनमा छन् भने अर्का तिर विश्वमा विकसित मानव सभ्यताहरुमा आफ्नो समुदायको प्रगति, पहिचान, विकास र कल्याणसँगै सम्पूर्ण मानव सभ्यताकै प्रतिनिधित्व हुने गरी चलनचल्दै आइरहेको सांस्कृतिक धरोहरहरु विभिन्न समाजमा अध्यावधिक विद्यमान छन् । यस्तै समग्र मानव कल्याणको समावेशी प्रगतिको अन्तरभावनाको प्रतिनिधित्व गर्ने, विशिष्टतम्, सांस्कृतिक परम्पराहरु हजारौं वर्ष देखि निरन्तरण रुपमा चल्दै आएका छन् । सुदूर पश्चिमेली समाजमा प्रचलित प्रायः धेरै जसो धार्मिक र सांस्कृतिक परम्पराहरु भित्र कुनै न कुनै रुपमा प्रगतिशील भावनाको प्रतिनिधित्व गर्ने उपक्रमहरु देख्न सकिन्छ । यसका लागि यी सस्कृति भित्र रहेका अन्तर तत्वहरुको सुक्ष्म रुपमा अध्ययन गर्न सकेमात्र थाहा हुनेछ ।
जात–जाति, उच–निच, धनी–गरिब, सानो–ठूलो आदि वर्गीय भेदभावबाट मुक्त समावेसी संस्कृतिको प्रतिनिधित्व गर्छ डोटेली संस्कृति, या भनौँ सम्पूर्ण सुदूरपश्चिमको लोकसंस्कृतिले । यहाँका धार्मिक आस्था केन्द्रहरु पूर्णतया प्रकृति र पर्यावरणसँग सम्बन्धित छन् । यहाँका कुनै पनि धार्मिक स्थलहरुका कुनै पनि देवदेवीको साकार मूर्ति हुँदैन । (बाह्य धर्म संस्कृतिको प्रभावले पछिल्लो समयमा स्थापित केही मठमन्दिर बाहेक) स्थान विशेषले नाममा भिन्नता भए पनि प्रायः जसो, रीति परम्परा एउटै नै हुने गर्छ । सबैका इष्ट (भूदेव) ‘माटी’ या मातृभूमि नै हुने गर्छन् । प्रायः सबै जसो धार्मिक स्थलहरुमा प्रकृति पर्यावरण, सामाजिक र स्वास्थ्यमा प्रतिकूल असर पर्ने कुनै पनि कार्य गर्न, गराउन निषेध गरिएको हुन्छ । जस्तो हरिया रुख काट्न नपाउने, वन्यजन्तु वा पशुपक्षीको सिकार गर्न नहुने, दिसापिसाब तथा फोहोर फाल्न नहुने, मासु मदिरा जस्ता अभक्ष वस्तुहरुको सेवन र प्रवेश गर्न नहुने, पानी मुहान दुषित गर्न नहुने, भूक्षय हुने खानी माटो आदि खन्न नहुने, सुत्केरी महिनावारी, जुठो (मृत्यु सुतक) मा प्रवेश गर्न नहुने, छाला, जुत्ता चप्पल र बिना स्नान शुद्धी नभई जान नहुने, होहल्ला, गालीगलौज वा सामाजिक सद्भाव खल्बलिने गरी कुनै व्यवहार गर्न नहुने, समुदायमा तोकिएका जिम्मेवारीहरु निस्पक्ष र निष्ठापूर्वक गर्नुपर्ने आदि परम्पराहरु रहनु प्रगतिशील आचरणको ज्वलन्त प्रमाण हो ।
हुन त डोट्याली समाजमा २१ औँ शताब्दीमा पनि मानव सभ्यतालाई नै अपाच्य हुने उचनिच, छाउपडी, भातभान्सा, वैवाहिक असमानता, लैङ्गिक भेदभाव, धामीझाँक्री, तन्त्रमन्त्र आदि रुढिवादी संस्कारहरु धेर थोर रुपमा अशिक्षित समूहमा विद्यमान भए पनि यो सर्वमान्य संस्कृति वा परम्परा नभई व्यक्तिगत असानता र अशिक्षाको कारणले कतै अपवादको रुपमा रहे पनि शिक्षा र चेतनाको विकाससँगै हराउँदै गएका छन् । यस बाहेक डोट्याली लोक जीवनमा सदियौँ देखि अध्यावधि चलनमा रहेका सांस्कृतिक धरोहर न्वाकी, जाँत, दुत्या, नौर्ता, पुस्या पन्नर, नरहरी, श्रीपञ्चमी, होली, चैत्या, विसु, अनन्त्या, गोःरा आदि पर्वको रुपमा छन् भने सगुन, फाग, जागर, भोलाउलो, भडा (भारत) ढुस्को, धमारी, हातजोड्या ठाणो खेल, डेउडा, छलिया, भस्सो, हुड्केली, रनपुतला, भैलो, खेडीजोडी, धुनी धम्यौलाइ, भैन आदि सांस्कृतिक धरोहरको रुपमा विद्यमान छन् ।
डोट्याली समाजमा प्रचलित यस्ता कार्यक्रमको आयोजनको पछाडि रुढिवादलाई निरन्तरता दिने नभई समाजलाई एकताबद्ध गर्ने, जन्मभूमि (माटी) प्रति उत्तरदायी बनाउने, सामाजिक सद्भावलाई बलियो बनाउने तथा परम्परा र पहिचान कायम राख्नमा मद्दत पु¥याउने उद्देश्य नै प्रमुख हो । समुदायमा सफल पनि हुँदै आएको छ ।
उल्लेखित विभिन्न सांस्कृतिक पर्व विशेषमा कहि न कही कुनै न कुनै रुपमा प्रगतिशील र समावेशी भावना मुखरित भएकै हुन्छ । यी सबै सुक्ष्म अध्ययन र अनुसन्धानको विषयवस्तु हुन सक्छ । यीमध्ये डोट्याली समाजमा अति महत्वपूर्ण र मुख्य पर्वका रुपमा गोःरा लाई मानिन्छ । गोःरा पर्व वर्षा र शरदको सन्धीकाल अगस्थ्योदय पूर्व, विवाहित महिलाद्वारा महेश्वर (शिव) गोःरा (पार्वती) को श्रद्धापूर्वक व्रतपूजा गरी मनाइने महिला–प्रधान विशेष पर्व हो । अर्को अर्थमा भन्ने हो भने यो पर्व महिला सम्मानको रुपमा पनि लिन सकिन्छ । यसमा व्रतालु महिला, पुरुषको जुनसुकै नाता पर्ने भएपनि आमा, हजुरआमा, काकी, माइजू, बुहारी, श्रीमती वा जुनसुकै जातजातिको भए पनि समान रुपमा पुरुषहरुलाई आशिर्वाद दिने गरिन्छ । चाहे त्यो समाजको जुनसुकै वर्ग तहको होस्, व्रतालु महिला सामु आशिर्वाद ग्रहण गर्न नतमस्तक हुनै पर्दछ । यसमा कसैलाई हीनताबोध हुँदैन । बरु आफै गौरवान्वित हुन्छन । यो नारी प्रतिको गरिमा सम्मान श्रद्धाको अद्वितीय नमुना हो । सम्भवतया संसारको कुनै समुदायमा नहोला ।
गोःरा गीत भित्रका केही अन्तरनिहित विशिष्ट प्रगतिशील अभिव्यक्तिहरु पर्वतराज हिमालयकी रानी (मैनावती) मेनका आफ्नी कन्या गोःरा (पार्वती) या (लोली गमरा) माग्न आएका महेश्वरको अघोरी रुप देखेर आफ्नी परमरुपवती पुत्रीको लायक नभएकोले कन्या नदिने प्रसंगमा महादेवको अघोरी रुपको वर्णन एकातिर गरिएको छ भने प्रतिउत्तरमा विष्णु, कृष्ण, राम, इन्द्र आदि वैभवशाली र सुन्दर देवताहरुको आफ्ना श्रीमतीप्रति गरेको अन्यायपूर्ण व्यवहारको वर्णन गरिएको हुन्छ । स्वयम् महादेव (मयासर) बाह्य रुपमा कुरुप र अघोरी भए पनि अन्तर मन त्याग, प्रेम र समर्पणले भरिएको, पत्नी वियोगमा पागलै हुनुपरेको, आफ्नी पूर्व पत्नी सतीको प्रतिरुप गोःरा (लोली) मा देखेकोले माग्न आएको अत्यन्तै मार्मिक प्रसंगबाट प्रेम र रुपको वास्तविक अर्थमा सन्देश दिन खोजिएको, अर्कातिर धनीवर्गमा हुने विलाशीताको पनि प्रसंग कोट्याउने प्रयास गरिएको छ ।
यस्तै अर्को प्रसंगमा विद्वान बस्ने वा विद्याको उद्गम स्थल काशी भनिएको छ भने अग्नी (वैस्यात्रर) उत्पन्न हुने स्थान दूल्लू (दैलेख) भनिएको छ । दूल्लूमा रहेको ज्योती प्राचीन रहेछ भन्ने प्रमाणित हुन्छ ।
काशी है वामन लेइ वेद पढुलो,
दूल्लू है बैसेन्नर लेइ अगेरी बलुँलो ।
गौरा गीतको एक अर्को प्रसंगमा, बिरुडा संकलन गर्ने प्रसंगमा अरुले कमाएको, बनाएको, नमाग्ने, गरिब असहायबाट नल्याउने बरु आफूले दिने, आफूलाई चाहिने अन्न पात आफैले उत्पादन गर्ने, आफूले भोग गर्ने, अरुलाई पनि दिने, अन्न उत्पादन गर्दा, चरा, पुतली, हावा, सूर्य, तारा, चन्द्रमा, गंगा (जल), रुख, बोट, गावन्डी (गाई) आदि प्रकृतिका सबै वस्तु प्राणीको समेत योग रहने भएकोले सबैलाई अर्पण गरी मात्र बचेको ग्रहण गर्नु पर्ने सन्देश दिएको हुन्छ ।
अपुतीको गेडी चडी जन टिपी खाए ।
निर्धनीको धन चडी जन खोसी खाए ।
दुबलाको भाग भगाए, तब होलो सयलाकी भोग ।
धन दौलत वैभवले मान्छे मान्छे बाटिन्छ । आवश्यक वस्तुको मात्र संचय गर्ने, लोककल्याण र प्रकृतिको संरक्षण, ऐचोपैचो, सबैको गर्जो टार्नेमा धनको सदुपयोग गर्नु राम्रो हो । परिश्रम गर्ने र परिश्रम गर्नेलाई मात्र सहयोग गर्नु पर्छ । अरुको मारेर धन सञ्चय गर्ने आफैँ भोग विलास गर्ने लोककल्याणमा नलगाउने, धनले पाप मात्रै समेट्छ । त्यस्तै वैभव लंकाको रावणको झैँ हाल हुन्छ भन्ने सन्देश दिएको हुन्छ । पूँजीवादको विरोध र श्रमको सम्मान गरेको देखिन्छ ।
सर्कको गुडगुडाइलो, मेखको पानी छ, किरमणी काणो छ, मायको वाणो छ, जोगी जलन्धरी छ, ओल्लो छ पल्लो छ । ऐचोपैचो छ, गावडी घिय छ, भैसोली दूध छ, ले भणी दिनु छ, सर्कको मन छ, दुबलाई जीउनु छ, आवव पुगलो गुसाई सयलाकी भोग ।संघर्ष नै जीवन हो, परिश्रम गर्दा दुःख नै हुन्छ, तर त्यसको फल राम्रो हुन्छ, जसरी मेघको भयंकर गर्जन पछि जल बर्सन्छ, किरमणी (एक प्रकारको काडँे वनस्पती, चुत्रो) तिखा काँडायुक्त भए पनि सुन्दर फूल र रसिलो फल दिन्छ, गाईभैँसी मुक पशु भए पनि घिउ र दूध दिन्छ, प्रकृतिका सबै जड चेतन वस्तुले परोपकार नै गरेका छन् भने झन मनुष्य त चेतनशील प्राणी हो, त्यसैले परोपकार नै सर्वोपरिधर्म हो । बाँच र बाँच्न देउ, खाउ र खान देउ, भन्ने विशिष्ट मानवीय सन्देश गौःरा गीतको प्रगतिशील अभिव्यक्ति हो भन्नुमा अत्यूक्ती नहोला । गौरा गीत कै एक अर्को प्रसंगमा समावेशीताको एक ज्वलन्त अभिव्यक्ति देख्न सकिन्छ ।
बिरुडा भिजाउने क्रममा लौलीले बिरुडा भिजाउन बाबा महत्तारीलाई ताउली र पानी राख्ने घडा माग्छन् । गौःरा ले सुनको घडा र ताउली माग्दा, बाबाले भन्छन्, छोरी सुनको बर्तन हामी सकुला तर सबैले कहाँ ल्याउलान, त्यसैगरी क्रमशः चाँदी तामाको माग्छिन्, अन्तमा सानन काठको (पाल्ना) माग्छिन्, पातको टपरी माग्छिन्, बाबा महतारीले ल्याएर दिन्छन् । अनि गोःराले भन्छिन, अब त सबै तह र वर्गका मान्छेले पुगाउन सक्लान नी !
“ल्यास बाबा सुना तौली ल्यास, – रुपा तौली, तामा तौली
ल्यास बाबा सुना घडुली ल्यास, रुपा घडुली तामा घडुली
हम त लेइझौला लोली दुबलो नाईसक !
दिय बाबा साननकी बाली
बना दादा पानका पतेला
लेइगया सानकी थाल्ली
बनाइ हाल्या पातका पतला
रुजाईहाल्या लोलीले पंच बिरुडी
आवत होलो बाबा दुबलाकी सयलो ।
यसरी वर्तमानमा हरेक परम्परागत चाड पर्वहरुलाई हुने खानेले अत्यन्त भड्किलो, महँगो र देखाउटी गरेर विकृति भिœयाइरहेको हाम्रो समाजमा गौरा पर्वको गीतले उत्कृष्ट समावेशी र प्रगतिशील सन्देश दिएको छ । यति मात्र केही उदाहरण मात्र हुन सो सानो आलेखमा विस्तृत विषयवस्तु अटाउन प्रायः असम्भव नै हुन्छ । यो गहन अनुसन्धानको विषय हो । विद्वत वर्गबाट सुदूर पश्चिमेली समाजमा प्रचलित सांस्कृतिक चाडपर्व भित्रि लुकेका विशिष्ट मानवीय भावनालाई उजागर गर्ने नै छन् भन्ने आशाका साथ पो कलमलाई पनि अहिले विश्राम दिन्छु ।
.gif)