महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर बजारमा सात दिनका लागि निषेधाज्ञा जारी गरेको छ । बिहिबार महेन्द्रनगर स्थित महेन्द्र स्मारकमा राष्ट्रिय प्रजातन्त्र पाटीले राजा महेन्द्रको शालीक पुनःस्थापना गर्ने कार्यक्रम राखेपछि गणतन्त्रवादी दलहरुले विरोध जनाएका थिए । उक्त स्थानमा शालिक स्थापना गर्ने नगर्ने विषयमा राजनितिक दलहरुबीच भिन्नता देखिएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले उक्त क्षेत्रमा बिहिबार बिहानैदेखी निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनले संविधान चोकबाट पूर्व दशरथ चन्दको सालिक सम्मको मुख्य सडक र पश्चिम मदन भण्डारीको सालिकसम्मको मुख्य सडक क्षेत्रमा सात दिनसम्म पाँच जना भन्दा बढी मानिस जम्मा भई जुलुस,प्रदर्शन जस्ता आन्दोलनका कार्य गर्न निषेध गरेको हो । सालिक पुनःस्थापान गर्ने नगर्ने विषयमा राजनितिक दलहरुबीच मतभेद देखिएपछि सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम गर्न निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
बिहिबार नै राष्ट्रिय प्रजातन्त्र पार्टीले महेन्द्रनगरमा आमसभा गरेको छ । आमसभामा पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन,वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राना लगायतका नेता कार्यक्रताहरु सहभागी छन ।
.gif)