मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

नेपालले मानवतासम्बन्धी नयाँ सन्देश दिँदैछ : प्रधानमन्त्री प्रचण्ड


पश्चिम प्रेस
शनिबार, मंसिर ३० २०८०
  • 424
    Shares

  • images
    images
    नेपालले मानवतासम्बन्धी नयाँ सन्देश दिँदैछ : प्रधानमन्त्री प्रचण्ड
    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले विश्व समुदायलाई मानवतासम्बन्धी नयाँ सन्देश दिने विश्वास व्यक्त गरेका छन् । मकवानपुरको हेटौँडामा आज मानवसेवा आश्रमको मुख्य कार्यालयको उद्घाटन गर्दै उहाँले मानवतासम्बन्धी सन्देशबाट नेपाललाई चिनाउन सकिने बताए। 
     
    “विश्वलाई शान्तिको सन्देश दिएको नेपालले मानवतासम्बन्धी नयाँ सन्देश दिन सक्छ । मानव सेवामा समर्पित व्यक्तिको निरन्तरको प्रयासबाट यो सम्भव छ”, प्रधानमन्त्री दाहालले भने, “शान्तिको सन्देश पनि नेपालले नै दियो । मानवतासम्बन्धी सन्देश नेपालबाट दिन सक्छौँ । यहीबाट नेपाललाई चिनाउन सकिन्छ ।” मानवताभन्दा ठूलो धर्म केही नरहेको उल्लेख गर्दै उहाँले मानवीय सेवामा लाग्न सम्पूर्ण नेपालीलाई आग्रह गरे। 
     
    “विभिन्न धर्म, राजनीतिक वाद, जेजे भनिए पनि ती सबै मानव सेवाका लागि ल्याइएको हो । कुनै पनि रुपमा विभाजित नभएर एकताबद्ध भएर मानव सेवामा लाग्नुहोला, असहायलाई सहयोग गर्नु सबैभन्दा ठूलो धर्म हो”, प्रधानमन्त्री दाहालले भने। उनले सङ्घ, प्रदेश र स्थानीय तहलाई मानव सेवाको अभियानमा सक्रियतापूर्वक लाग्नु पर्ने भन्दै मानवताको क्षेत्रमा अविचलित रुपमा खटिइने सामाजिक संस्था तथा व्यक्तिलाई सहयोग गर्नसमेत अपिल गरे। 
     
    संविधानसभाबाट जारी संविधानले ऐतिहासिक रुपमा आमजनतालाई सार्वभौम बनाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “नेपालको इतिहासमा कहिल्यै पनि जनता सार्वभौम भनेर संविधानमा उल्लेख गरिएको थिएन । संविधानसभाबाट बनेको पहिलो संविधानमा नेपाली जनतालाई सार्वभौम बनायो, यो युगान्तकारी र ऐतिहासिक छ ।” संविधानमा शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षालगायत महत्वपूर्ण मौलिक अधिकारलाई समावेश गरिएको छ जनाउँदै उनले आम जनतालाई सार्वभौम बनाउने र कोही पनि शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाबाट वञ्चित हुन नपर्ने घोषणा ऐतिहासिक छन् भने। 
     
    संविधानले निर्दिष्ट गरेको तथा राज्यले गर्नुपर्ने काम मावन सेवा आश्रमले गर्दै आइरहेकामा प्रधानमन्त्री दाहालले धन्यवाद दिए। मौलिक हकको कार्यान्वयका क्रममा मानव सेवा आश्रमले ठूलो सहयोग गरेको उनको भनाइ थियो । उनले विसं २०८२ सम्म नेपाललाई सहयोगापेक्षी सडक मानवरहित बनाउने सरकारको अभियानमा सामाजिक संस्थाको भूमिका महत्त्वपूर्ण रहेको बताए। 
     
    प्रधानमन्त्री दाहालले सातै प्रदेशमा मानव सेवा आश्रमको भवन निर्माण, सडक मानवलाई उद्धार गर्न सवारी सधानको व्यवस्था तथा १० हजार असहायलाई आर्थिक सहयोग गर्न सरकार तयार रहेको जानकारी दिए।


    प्रतिक्रिया दिनुहोस