महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका–१ हात्तिथलाका हर्क खडायतमाथी मरणाशन्न हुने गरी हुने गरी भएको कुटपिटपछि उनको परिवार न्याय खोज्दै जिल्ला प्रहरी कार्यालय परिसर पुगेको छ । कुटपिटपछि अचेत अवस्थामा रहेका हर्कको लागि न्याय खोज्दै उनको परिवार शनिबार जिल्ला प्रहरी कार्यालय आइपुगेको हो ।
उनको परिवारका अनुसार गत कार्तिक २८ गते राती लेनदेनको विषयमा विवाद हुँदा खडायतमाथि कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएका खडायत अचेत अवस्थामा छन् । उनलाई घटनाको भोलिपल्ट २९ गते बिहान उपचारका लागि भारतको रुद्रपुर र त्यहाँबाट देहरादुन लगिएको थियो ।
भारतमा उपचारको क्रममा २० लाख भारतीय रुपैयाँ भन्दा बढी खर्च भएको तर, उनको अवस्थामा सुधार नआएपछि शनिवार घर फर्काइएको उनका भाइ प्रेम खडायतले बताए । उनीहरुले प्रहरीले कुटपिट गर्नेलाई पक्राउ नगरेकोले न्याय पाउनुपर्ने भन्दै अचेत अवस्थाका खडायतलाई प्रहरी कार्यालयमै ल्याएका थिए ।
परिवारले कुटपिट गर्ने सोही ठाउँका उद्धव बोहरा, लोक बोहरा, द्वर्ण बोहरा, लोक बोहरा र चक्र बोहराको नाममा घटनाको तेस्रो दिन जाहेरी दिएका थिए । उनको परिवारले कुटपिट गर्नेलाई राजनैतिक संरक्षण रहेकाले प्रहरीले पक्राउ नगरेको आरोप लगाएका छन् । कुटपिट गर्ने व्यक्ति कांग्रेस निकट रहेको परिवारको आरोप छ ।

पीडितको जाहेरीको आधारमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापाले बताए । ‘घटना दुःखदायी भयो, पीडित परिवारको किटानी जाहेरीमा रहेका ४ जनाको खोजी भइरहेको छ,’ प्रहरी उपरीक्षक थापाले भने । उनलले प्रहरी राजनैतिक दबाबमा नपरेको बताउँदै कुटपिटमा संग्लन सबैलाई चाडै नै पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउने बताए ।
पीडित परिवारले अहिले अचेत रहेका खडायतलाई आर्मी अस्पताल धनगढी लगेका छन् ।
.gif)