कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले जग्गा प्लटिङ सम्बन्धी कार्यविधिमा कार्यपालिका सदस्यले असन्तुष्टि जनाएका छन् । आज (पुस ४ गते) कार्यपालिका सदस्य मान बहादुर विष्टको संयोजकत्वमा बसेको बैठकमा सो कार्यविधिबारे असन्तुष्टि व्यक्त गरेको हुन् ।
उपमहानगरको २९औँ कार्यपालिका बैठकमा पेस भएको उक्त कार्यविधि कार्यपालिकाका सदस्यले व्यापक अध्ययन पछि मात्रै पास हुने भन्दै बैठक टुङ्गिएको थियो । तर अहिले आएर नगर प्रमुख हमालले एकलौटी निर्णय गरेर स्थानीय राजपत्रमा प्रकाशित गरेकोमा आफूले असन्तुष्टि जनाएको निर्णयमा उल्लेख गरिएको छ ।
‘धनगढी उपमहानगरपालिकाको २९ औँ कार्यपालिका बैठकमा छलफलका लागि प्रवेश भएको कार्यविधि पारित नहुँदै नगर प्रमुख हमालको एकल निर्णयमा राजपत्रमा प्रकाशित भयो’ निर्णयमा भनिएको छ ‘उक्त कार्यविधि सम्बन्धमा नगर कार्यपालिकाको सदस्यज्यूको पूर्ण असन्तुष्टि रहेको उक्त कार्यविधि खारेज गराउने सर्वसम्मत निर्णय गरियो ।’

बैठकमा कार्यपालिका सदस्य मान बहादुर विष्ट, रामलाल चौधरीसहित २६ जनाको सहभागिता थियो ।
नगर प्रमुख हमालले कार्यपालिकाले होटेलमा बैठक बसाएर निर्णय पल्टाउँदै जाने कुरामा आफूले पनि असन्तुष्टि जनाएका बताएका छन् । उनले भने, ‘यसरी कार्यपालिकाको निर्णयलाई होटेलमा बसेर पल्टाइदिने, निर्णय गर्न त अफिस छ किन होटेलमा जानुपर्याे ?’
धनगढी नगर प्रमुख गोपाल हमालले जग्गा प्लटिङ सम्बन्धी बनेको ऐन व्यावसायिक परियोजनका लागि मात्र बनेको बताउँदै आएका छन् ।
.gif)