मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

रुसी सेनामा कार्यरत दार्चुलाका कुन्दन भिडन्तमा मारिए, परिवारको बिचल्ली


पश्चिम प्रेस
शनिबार, पुस ७ २०८०
  • 837
    Shares

  • images
    images
    रुसी सेनामा कार्यरत दार्चुलाका कुन्दन भिडन्तमा मारिए, परिवारको बिचल्ली

    महेन्द्रनगर ।  रुसी सेनामा कार्यरत अर्का एक जना नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुन्दनसिंह नागलको मृत्यु भएको हो । 

    दार्चुलाको महाकाली नगरपालिका–२ पन्डोराका ३२ वर्षीय कुन्दनसिंह नागलको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । १२ वर्षसम्म सशस्त्र प्रहरीमा रहेका उनी ५ वर्षअघि मात्र जागिर वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए । 

    दुबईबाट फर्केपछि पहिलेजस्तै खर्च जुटाउन गाह्रो भएपछि उनले रुस जाने निर्णय गरे । कात्तिक पहिलो साता दसैँको मुखमै उनी रुस गएका थिए । सुरुवाती दिनमा घरपरिवारसँग उनको कुराकानी भइरहन्थ्यो। तर गएको तिहारको दीपावलीपछि भने उनी एकाएक सम्पर्कविहीन भए। 

    ‘रेड जोनमा जाँदै छु। त्यहाँ मोबाइल प्रयोग गर्न दिँदैन। सायद सम्पर्क हुँदैन। घरतिर बालबच्चाको राम्रोसँग हेरविचार गर्नू’, कुन्दनले श्रीमती पशुपतिलाई भनेका थिए। यही सन्देश अन्तिम बनेको भाइ दीपक बताउँछन्। उनी भन्छन्, ‘त्यसपछि सम्पर्क नै भएन।’

    सम्पर्क टुटेको करिब एक महिनापछि गत मङ्सिर ४ मा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै राहदानी नम्बर ०९४७३६३२ ले मृतक कुन्दनसिंह नागल दार्चुलाकै भएको पुष्टि भयो। 

    दुःखद् सन्देश बोकेको परराष्ट्रको त्यो विज्ञप्तिपछि दार्चुलाको नागल परिवारमा ठूलो बज्रपात पर्‍यो। ठूलो सपना बोकेर परदेशिएको सन्तान गुमाएपछि परिवारमा सन्नाटा छाएको छ। 

    कुन्दनको घरमा वृद्ध आमा—बुवा छन्। १४ वर्ष र ८ वर्षका दुई छोरा छन्। उनकी श्रीमती पशुपति र ३ छोरा महेन्द्रनगरको भाँसीमा भाडाको कोठामा बस्छन्। विदेशी भूमिमा कुन्दन अस्ताएपछि ससाना छोरा टुहुरा बनेका छन्। 

    परिवारको आशाको त्यान्द्रो चुँडिएपछि नागल परिवारको बिचल्ली भएको छ। शव आउने÷नआउने टुङ्गो नलागेपछि शुक्रवार परिवारले कुन्दनको तस्बिर राखेर दार्चुलाको महाकाली नदीमा अन्तिम संस्कार गरेका छन् । 

     

     


  • सम्बन्धित विषय:

  • # रुसी सेना
  • प्रतिक्रिया दिनुहोस