शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

नेताज्यूका ओछ्यान छेउमै आगो, जनतासँग छैन ओड्ने धागो ! 


पश्चिम प्रेस
आइतबार, पुस ८ २०८०
  • 568
    Shares

  • images
    images
    नेताज्यूका ओछ्यान छेउमै आगो, जनतासँग छैन ओड्ने धागो ! 

    जाजरकोट । भूकम्पबाट प्रभावित जिल्लाका नागरिकहरू अझै पनि चिसो मौसममा त्रिपालमुनि रात बिताउन बाध्य छन्। 

    गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। सो भूकम्पको २ महिना पुग्नै लाग्दा तीनै तहका सरकारले आवास निर्माण तथा नागरिकहरूको पुनःस्थापनाका लागि तदारुकता देखाउन नसकेका हुन्। स्थानीय सरकार र जनप्रतिनिधिको कमजोर कार्यशैलीका कारण नागरिकका अस्थायी आवास समेत बन्न सकेका छैनन्।

    मङ्सिरभित्रै भूकम्पपीडितलाई अस्थायी आवासमा सार्न गरेको घोषणा गरेको सङ्घीय सरकारले अहिलेसम्म सो कुरा घोषणामै सीमित छ।

    अस्थायी आवास निर्माणका स्थानीय तहले बैङ्क खाता खोल्नुपर्ने, प्रहरी मुचुल्का गर्नुपर्ने जस्ता झन्झटिलो प्रक्रियाले दोब्बर बढी पीडितले पहिलो किस्ताबापतको रकमसमेत प्राप्त गर्न सकेका छैनन्। रकम प्राप्त नभएपछि पुस÷माघको जाडोमा भूकम्प प्रभावित क्षेत्रका नागरिकहरू त्रिपालकै भरमा ज्यान बचाएर बसेका छन्।


    अस्थायी आवास निर्माणका लागि सरकारले जाजरकोट जिल्लाका लागि रकम पठाएको पनि २ महिना पुगिसक्दा पनि जाजरकोटका सात वटा स्थानीय तहहरूले प्रदेश र सङ्घ सरकारसँग आपसी समझदारी र आवश्यक समन्वय समेत गर्न सकेका छैनन्। 

    स्थानीय सरकारले सङ्घीय सरकारसँग समन्वय गर्न नसक्दा त्यसको प्रत्यक्ष प्रभाव भूकम्पपीडितहरू परेको छ। 

    सङ्घीय सरकारले अस्थायी आवास निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटका नाममा पठाएको रकम मध्ये ५० करोड ९८ लाख ७५ हजार रुपियाँ ५ पालिकामा पठाइएको जनाइएको छ। विपद् व्यवस्थापन समितिले सम्बन्धित स्थानीय पालिकाको खातामा निकासा गरेको उक्त रकम पालिकाले तत्काल वितरण भने गर्न सकेका छैनन्। 

    यस्तै, ७ पालिका रहेको जाजरकोटमा भूकम्पले सबैभन्दा बढी मानवीय क्षति भएको नलगाड नगरपालिकामा हालसम्म अस्थायी आवास निर्माणका लागि रकम निकासा भएको छैन। साथै जुनीचाँदे गाउँपालिकामा पनि उक्त रकम निकासा हुन सकेको छैन।

    जिल्ला प्रशासन कार्यालय जाजरकोटले जानकारी अनुसार हालसम्म जाजरकोट जिल्लाभर चार हजार चार सय ४६ वटा अस्थायी आवास निर्माण भएका छन्।

    एक सय ५४ जनाको ज्यान लिने गरी गएको भूकम्पबाट प्रभावित भएका ३३ हजार ५५ घरधुरीमध्ये हालसम्म पाँच हजार एक सय ९६ घरधुरीले १२ करोड ९२ लाख २५ हजार रुपैयाँ अस्थायी आवास निर्माणबापतको पहिलो किस्ता प्राप्त गरेका छन्। 

    जसअन्तर्गत भेरी नगरपालिकामा ६ करोड ३७ लाख २५ हजार रकम आवास निर्माणका लागि निकासा भएको छ।

    चार हजार पाँच सय ४९ लाभग्राही रहेको भेरीमा एक हजार एक सय १३ परि घरधुरीले पहिलो किस्ताबापत दुई करोड ७८ लाख २५ हजार रकम प्राप्त गरेका छन्। भेरीमा हालसम्म एक सय ५० वटा आवास निर्माण भएका छन्।

    छेडागाड नगरपालिकामा नौ करोड १६ लाख आवास निर्माणका लागि निकासा भएको छ। यस नगरपालिकामा ३ हजार ६ सय ६४ जना लाभग्राही रहँदा १ हजार ८६ जनासँग लाभग्राही सम्झौता हुँदा १ सय २० जनाले पहिलो किस्ता बापत ३० लाख रकम प्राप्त गरेका छन्। छोडागाडमा हालसम्म कुनै पनि अस्थायी आवास निर्माण भएका छैनन्।

    भूकम्पले बढी क्षति पुर्याएको नलगाड नगरपालिकामा हालसम्म अस्थायी आवास निर्माणका लागि रकम गएको छैन। नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईका अनुसार नलगाडमा आठ हजार ९७ लाभग्राही हुँदा सात हजार नौ सय ८० जना लाभग्राहीसँग सम्झौता भएको छ, भने दुई हजार चार सय ८० वटा आवास निर्माण भएका छन्।

    प्रशासन कार्यालय जाजरकोटले उपलब्ध गराएको तथ्याङ्क अनुसार भूकम्प प्रभावित १४ हजार दुई सय ५५ जनासँग पहिलो किस्ताका लागि सझौता भएको छ।


  • सम्बन्धित विषय:

  • # भूकम्प
  • प्रतिक्रिया दिनुहोस