महेन्द्रनगर । झण्डै ८ करोडको लगानीमा महेन्द्रनगरमा निर्माण गरिएको सभागृह (सिटी हल) प्रयोगविहिन भएको छ । पाँच पटकसम्म म्याद थप गरेर निर्माण सम्पन्न उक्त सभागृह सञ्चालनका लागी नगरपालिका सँग ठोस कार्ययोजना नहुंँदा यतिबेला अलपत्र परेको हो ।
गत चैत्र महिना देखी नगरपालिकालाई सञ्चालनको जिम्मा दिइएको थियो । वि.सं.२०७५ जेठ अन्तीम साता निर्माण सम्पन्न गरिएको सभागृह सञ्चालनका लागी नगरपालिकाले आवश्यक मापदण्ड नै तयार गर्न सकेको छैन् ।यसअघि हस्तान्त्रणको निर्काैल नलाग्दा झेलिएको सभाहल निर्माण सम्पन्न भइसकेपछि भीमदत्त नगरपालिकाले स्वामित्व पाएको छ । तर नगरपालिकाले भने यसक्षेत्रको पर्यटकिय विकासमा फड्को मार्ने अपेक्षा गरिएको सिटीहललाई प्रयोगमा ल्याउन तदारुकता नै देखाएको छैन् । भीमदत्त नगरविकास समितीका अध्यक्ष समेत रहेका ‘मेयर’ सुरेन्द्र विष्टले यस विषयमा कुनै प्रतिक्रिया दिन मानेनन् ।
भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरी सिह धामीले सभाहल सञ्चालनको प्रक्रिया अगाडी बढाइएको जनाए । यस अघि आवश्यक मापदण्ड तयार नगरिदा समस्या भएकोमा यसपटक मापदण्ड तयार गरिरहेका उनले जनाए । विसं २०६५ मा श्याम सुन्दर र गौरी पार्वती जेभी निर्माण कम्पनीसँग दुई वर्षभित्र काम सक्ने गरी रु ६ करोड ८१ लाखमा सभागृह निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सम्झौता हुँदाको इस्टमेट र डिजाइन परिवर्तन भएपछि ठेक्का रकम रु. एक करोड ७० लाख बढाएर रु. ८ करोड ५१ लाख पुर्याइयो । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको साढे ५ बिघा जमिनमा पर्खाल लगाएर सभागृह निर्माण गरिएको छ । अपांगमैत्री सिटी हलमा एक साथ करिब १ हजार जना अटाउने क्षमताको छ । तीनतले सिटी हलमा तीन हलका साथै चेन्जिङ रुम, अन्डरग्राउण्ड पार्किङको सुविधा पनी छ पूर्व–पश्चिम महेन्द्र राजमार्गसँगै जोडिएको सिटी हल सञ्चालनमा नआउँदा चर्को भाडा तिरेर निजी हल, होटेल प्रयोजन गर्नु परेको गुनासो गरिएको छ ।
.gif)