मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कालो: अक्षर कि भैँसी


आइतबार, असार २२ २०८२
  • 4.9K
    Shares

  • images
    images
    कालो: अक्षर कि भैँसी

    हाम्रो समाजमा कुनै निरक्षर व्यक्तिलाई होच्याएर वा कटाक्ष गरेर बोल्दा “कालो अक्षर भैँसी बराबर” भन्ने गरिन्छ । तीन चार दशक अगाडी नेपालको अधिकांश गाउँ घरमा लेख्ने ढुङ्गा (खरी), कमेरो वा चकले काठको वा ढुङ्गाको पाटी (चारकुने काठको टुक्रा/स्लेट)tpre

    मा लेख्ने चलन थियो । कालो पाटीमा सेतो ढुङ्गा, कमेरो वा चकले लेख्दा सेतो अक्षर भए पनि किताब वा कापीमा लेखेका अक्षरहरू बढी जस्तो कालो मसीले लेखिने भएकोले नै होला शायद अक्षरलाई कालो भनिएको र अक्षर चिन्न वा पढ्न नसक्ने व्यक्तिलाई कालो निरक्षर भैँसी सँग तुलना गरेको ।

    साक्षर नेपाल अभियान दसकौँ अघिबाट नेपालमा सञ्चालन भए पनि हाल सम्म नेपाल पूर्ण साक्षर भई सकेको छैन । नेपालको जनगणना २०७८ अनुसार नेपालको साक्षरता  प्रतिशत ७६.३ रहेको छ । २०८१ भाद्र सम्म नेपालका ६५ जिल्लाहरू साक्षर घोषणा भैसकेका छन् । सम्बन्धित जिल्ला र पालिकामा १५ देखि ६० वर्ष उमेरका ९५ प्रतिशत नागरिक साक्षर भएको पाइएमा साक्षर जिल्ला र साक्षर पालिका घोषणा गर्न सकिने प्रावधान रहेको छ ।

    नेपाल पूर्ण साक्षर हुँदै गर्दा अब साक्षरताको परिभाषा पनि बदलिने अवस्थामा पुगेको छ । विश्व परिवेश बदलिएको छ, प्रविधि बदलिएको छ र प्रसङ्गहरू बदलिएका छन् । समाजमा व्याप्त धर्म, संस्कृति, परम्परा, लिङ्ग, जाति, छुवाछुत आदि सँग जोडिएका प्रसङ्गहरू बदलिएका छन् । अनेकौँ परिभाषा, चालचलन, बुझाई र अवस्था परिवर्तन भएका छन् । अर्को शब्दमा भन्ने हो भने अनेकौँ प्रतिमान (प्याराडाईम)हरु परिवर्तन भएका छन् । अब अक्षर चिन्नु, पढ्नु वा लेख्नु मात्र साक्षरता रहेन अब त नयाँ प्रविधिबारे जान्नु र उक्त प्रविधिको उपयोग गर्नु पनि साक्षरता सँगै जोडिएर आउने विषय भएको छ । अब अक्षर चिन्नु, पढ्नु र लेख्नु मात्र पर्याप्त रहेन ।

    पचासको दशकमा तराईमा मुख्य सवारी साधन साइकल थियो भने अहिले मुख्य सवारी साधन मोटरसाइकल भएको छ । चार दशक अघि सम्म अधिकांश नेपालीको लागि जीविकोपार्जनको मुख्य श्रोत खेतबारी थियो भने मुख्य क्षमता हलोजोत्नु थियो । छोरालाई हलो जोत्न सक्ने बनाउनु र छोरीलाई चुलो चौको र श्रोतबाट पानी भरेर ल्याउन सक्ने बनाउनु नै आमा बुवाको जिम्मेवारी ठहरिन्थ्यो तथा उक्त योग्यता भएका छोरा छोरीको विवाह गर्न सक्नु नै मुख्य ध्येय रहेको हुन्थ्यो । अहिले आएर खेतबारी विदेश भएको छ भने हलो जोत्नु विदेशको रोजगार यद्धपि अन्य अवसरहरु पनि प्रसस्त पाउन सकिन्छ । पहिले विवाह गर्ने उमेर कम हुन्थ्यो भने अहिले विवाहको औसत उमेर बढेको छ । पहिले धेरै सन्तान हुनु गौरवको कुरो ठहरिन्थ्यो भने अहिले एक वा दुई सन्तानमा चित्त बुझाएका छन् जसको कारण देवर, भाउजु, साली, जेठाजु, जेठो, माइलो, साइँलो जस्ता नातागोताहरु लोप हुने अवस्थामा पुगेका छन् । परिवारको संरचना, समाजको बनावट लगायत अनेकौं प्रतिमानहरु फेरिएका छन् । गरिबको भान्छामा मीठो मसिनो पुगेको छ भने धनीमानीको भान्छामा ढिंडो, उसिना र फाफ़र पुगेको छ साथै शरीरमा च्यातिएको र जडाउरी लुगा । गरिब भनिएकाहरु शहर पसेका छन् भने धनी मानिएकाहरु गाउँ तर्फ फर्कने तयारीमा छन् । रेडियो, टि. भि., टेप रिकर्डर, टर्चलाइट, डायरी, कलम, क्यालकुलेटर, ल्यापटप, क्यामरा, जी.पी.एस., रिमोट कन्ट्रोल, घडी, तारजडित फोन लगायत अनेकौं सामानहरुलाई स्मार्ट फोनले लगभग विस्थापित गरि सकेको छ । त्यस्तै अनेकौं उखान टुक्का र मान्यताहरुको अर्थ फरक लाग्न थालेको छ । माना, पाथीहरु लोपोन्मुख छन्, रोपनी र मुरिखेतहरु वर्ग मीटरमा परिणत भएका छन् । नगद कारोबार सबै मोबाइलमा क्यु. आर. कोडमा सिमित भएका छन् बजारमा रुपयाँ पातलिंदै गएका छन् । ढोगभेट पछिको भलाकुसारी अहिले वाइफाई पासवोर्ड के राख्नु भएको छ? मा कुण्ठित भएको छ । परिवारका लामा लामा गफगाफहरु भर्चुअल च्याटले खाइसकेको छ । बाजेबज्यै संग नाती नातिनाको सम्बन्ध गुगलबाजेले निलेको छ । भन्नुको तात्पर्य हाम्रा अधिकांश मानकहरु फेरिएका छन् ।

    विश्वमा हाल लगभग आठ अर्ब जनसंख्या छ । सन् १९२८ देखि १९४५ सम्म जन्मेको पुस्तालाई साइलेन्ट पुस्ता भनिन्छ जुन झन्डै आफ्नो उमेरको शताब्दीको नजिक छ । यो पुस्ता जीवित मध्येको सबै भन्दा बुढो तथा थोरै संख्यामा रहेको पुस्ता हो । सन् १९४६ देखि १९६४ सम्म जन्मेको पुस्ता बेबी बूमर्स (धेरै सन्तान जन्माउने) हो । उक्त पुस्ताले विश्वयुद्धहरु लगायत अनेकौं विपदाको कारणले विश्वको घटेको जनसंख्याको भरपाई गर्न धेरै भन्दा धेरै सन्तान जन्माउनमा व्यस्त रहनु परेकोले नै उक्त पुस्तालाई बेबी बूमर्स भनिएको हो जुन अहिलेको बाजे पुस्ता हो यो पुस्ता वर्तमान सूचना प्रविधि संग त्यति परिचित छैन । साइलेंट र बेबी बूमर्स दुवै पुस्ताले विश्व जनसंख्याको लगभग १४ प्रतिशत भाग ओगटेको छ । सन् १९६५ देखि १९८० सम्म जन्मेको पुस्तालाई जेनेरेसन एक्स भनिन्छ जुन अहिलेको केहि बाजे र अधिकांश आमाबुवा पुस्ता हो जुन वर्तमान सूचना प्रविधि संग त्यति घुलमिल हुनसकेको छैन । यस पुस्ताले विश्वको जनसंख्याको लगभग १५ प्रतिशतको प्रतिनिधित्व गर्दछ । सन् १९८१ देखि १९९६ सम्म जन्मेको पुस्ता मिलिनियल्स हो जुन वर्तमानको वर्किंग फोर्स अर्थात् काम गर्ने वयष्क युवापुस्ता हो । यो पुस्ता वर्तमान प्रविधिमा तुलनात्मक रुपमा बढी परिचित छ । यस पुस्ताले विश्व जनसंख्याको लगभग २२ प्रतिशत भाग ओगटेको छ । सन् १९९७ देखि २०१२ सम्म जन्मेको पुस्ता चाँही जेनेरेसन जी (जेड) हो । यो पुस्ता अझै स्कूल तथा कलेजमा मा रहेको छ र यो पुस्ता नै वर्तमान सूचना प्रविधि संग सबै भन्दा बढी परिचित र घुलमिल भएको पुस्ता हो केहि वर्ष पछी यस पुस्ताले मिलिनियल पुस्तालाई लाई क्रमश: विस्थापित गर्ने छ । यो पुस्ताले विश्व जनसंख्याको सबै भन्दा धेरै लगभग २५ प्रतिशत भाग ओगटेको छ ।  सन् २०१३ देखि हाल सम्म जन्मेका सबै किशोर किशोरी र बालबालिकाहरुको पुस्ता जेनेरेसन अल्फा हो । यो पुस्ता अहिलेको सबै भन्दा कान्छो पुस्ता हो जसको जन्मदा देखि नै हातमा मोबाईल र सामुन्ने कम्प्युटर छ । स्वाभाविक रुपमा यो पुस्ता अन्य सबै पुस्ताहरु भन्दा सूचना प्रविधि लगायतका अन्य सबै प्राविधिक शिक्षामा अब्बल हुनेछ । यस पुस्ताले पनि विश्व जनसंख्याको ठूलो भाग लगभग २४ प्रतिशत ओगटेको छ । आगामी दशकमा अझै नयाँ प्रविधिको विकास र अनेकौं नयाँ प्रयोग हुने निश्चित छ जुनकुरा जेनेरेसन अल्फा भन्दा पुरानो पुस्ताकोलागी ग्रहण गर्न त्यति सहज हुने छैन भन्ने पनि हामीले अनुमान गर्न गार्हो छैन ।

    सन् २०२३ को तथ्यांक अनुसार नेपालमा विद्युतको पहुँच ९४ प्रतिशत रहेको छ । त्यस्तै नेपालमा मोबाईल टेलिफोनको पहुँच ७३ प्रतिशत रहेको छ यद्धपि एक जनाले एक भन्दा धेरै कनेक्सन लिएको कारण जनता भन्दा कनेक्सनको संख्या अनुपात १३९.२ प्रतिशत रहेको छ । नेपालमा इन्टरनेट पहुँच ५५.८ प्रतिशत छ भने डिजिटल साक्षरता ३१ प्रतिशत मात्र रहेको छ । डिजिटल साक्षरता भन्नाले कुनै एक व्यक्तिले विभिन्न डिजिटल कार्यस्थलमा त्यसको प्रयोग गरि आफ्नो आवश्यक्ता पुरा गर्ने सक्ने क्षमता भन्ने बुझाउँछ । प्रविधिको प्रयोगबाट (विशेष गरि कम्प्युटर वा मोबाइलबाट) तस्विरहरू, भिडियो, टाइपिङ, अडियो आदि प्रविधिक जानकारीहरूलाई प्रसोधन गरेर उत्पादन गर्न सक्ने खुबी भन्ने बुझिन्छ ।

    १५ देखि ५९ वर्ष सम्मको जनसंख्यालाई काम गर्ने जनसंख्या तथा ० – १४ वर्ष र ६० वर्ष माथिको जनसंख्यालाई आश्रित जनसंख्या मानिन्छ । २०७८ सालको जनगणना अनुसार नेपालमा १५ देखि ५९ वर्षको जनसंख्या कुल जनसंख्याको लगभग ६२ प्रतिशत छ जुन जनसांख्यिक लाभ लिने सहज अवस्था हो । आगामी दुई दशक पश्चात नेपाली समाजमा वृद्ध जनसंख्या बढीहुने र काम गर्ने जनसंख्या कम हुने आंकलन गरिएको छ जुन आजको जस्तो सहज नहुन सक्दछ । आश्रित जनसंख्या बढ्दै जाने र काम गर्ने जनसंख्या घट्ने तथा विद्यमान सूचना प्रविधि संग परिचित र घुलमिल हुन नसक्ने हो भने डिजिटल निरक्षरको संख्या बढ्ने छ जसले उही पुरानो लोकोक्ति “कालो अक्षर भैंसी बराबर” लाई नेपाली समाजमा चरितार्थ गरि राख्नेछ ।

    प्रविधिको निरन्तर विकास हुँदै जाने, चिट्ठी पत्रको ठाउँ क्रमश: फोन, एस.एम.एस. र भिडियो कलले लिंदै जाने, किताबहरु डिजिटल हुने, दैनिक लेखापढी पनि पेपरलेस अर्थात् बिना कागजको हुँदै जाने, लेनदेन पनि नोटलेस अर्थात् कागजका नोट (रुपियाँ) बिनाको हुँदै जाने आदि विभिन्न कारणले गर्दा जनसंख्याको एक भाग क्रमशः उपर्युक्त सूचना र प्रविधि सँग विस्तारै अपरिचित र टाढा हुँदै जानेछ । उक्त प्रविधिको विकास संग आफुलाई अध्यावधिक गर्न नसक्ने व्यक्तिहरु शिक्षित र साक्षर भएपनि माथि उल्लेखित प्रक्रियामा आफुलाई सहज महसुस गर्दैनन् र अन्य व्यक्तिको सहयोग अपेक्षित हुन्छ भने त्यस्ता व्यक्तिहरुपनि अर्को अर्थमा निरक्षर नै हुन् फलस्वरूप विद्यमान प्रविधिका काला अक्षरहरु तिनिहरुकलागि भैसी सरह नै प्रतित हुनेछन् ।

    तसर्थ, नेपाल पूर्ण साक्षर हुने क्रममा रहेको भनेर मक्ख पर्नुको सट्टा बढ्दै गएको डिजिटल निरक्षरता कसरि घटाउने भन्ने तर्फ सम्बन्धित निकायबाट विशेष पहल हुनुपर्छ । हाम्रा स्कूल र कलेज स्तरका पाठ्यक्रममा पनि आवश्यक परिमार्जन गर्दै प्रौढ शिक्षा संचालन गरे जस्तै सूचना प्रविधिमा पहुँच र दखल नहुने वर्गलाई गाउँघर, शहर, बजार तथा उनीहरुको पायक पर्ने स्थान र समयमा नै युवा/प्रौढ डिजिटल शिक्षा कार्यक्रमहरु संचालन गरि डिजिटल साक्षरता प्रतिशत पनि बढाउनु श्रेयस्कर हुनेछ अन्यथा कालो अक्षर झन् कालो हुनेछ भने पुरानो पुस्ताले कालो अथवा सूचना प्रविधि जति सबैलाई भैंसी नै देख्नेछ ।


  • सम्बन्धित विषय:

  • # कालो अक्षर भैँसी बराबर


  • प्रतिक्रिया दिनुहोस