शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

शनिबारसम्म मौसममा सुधार नहुने, भारी वर्षाको सम्भावना


पश्चिम प्रेस
बिहीबार , भदौ ६ २०८१
  • 474
    Shares

  • images
    images
    शनिबारसम्म मौसममा सुधार नहुने, भारी वर्षाको सम्भावना

    काठमाडौँ । तत्काल मौसममा सुधार हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार वर्षाको सम्भावना आगामी शनिबारसम्मै रहेको छ।

    हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ सरेको छ। त्यसैले पश्चिमको तुलनामा पूर्वमा बढी वर्षा हुने छ।

    दुई दिनअघिदेखि काठमाडौं उपत्यकासहित देशभर वर्षा भइरहेको छ। आज बिहान पनि देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।

    बुधबार राति सर्लाहीको पत्थरकोट, उदयपुरको सुन्दरपुर, सिन्धुपाल्चोक नाकोटे, कैलालीको टीकापुर र म्याग्दीको मङ्गलघाट जलमापन केन्द्रमा पनि मध्यमदेखि भारी वर्षा मापन भएको थियो। कैलालीमा वर्षाका कारण हिजोदेखि नै बस्ती डुबानमा परेका छन्।

    विभागले जारी गरेको बुलेटिनअनुसार आज भदौ ६ गते दिउँसो पनि सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ।

    भदौ ७ गते कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण छ। कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ।

    भदौ ८ गते पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाब, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले सबैलाई अनुरोध गरेको छ। दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावनासमेत रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले भनेको छ।


  • सम्बन्धित विषय:

  • # भारी वर्षा
  • प्रतिक्रिया दिनुहोस