महेन्द्रनगर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले हाल सम्म ३३ सय क्विन्टल धान खरिद गरेको छ । जिल्लाका विभिन्न तीन स्थानमा डिपो सञ्चालन गरी ३३ सय क्विन्टल धान खरिद गरिएको कार्यालयले जनाएको हो ।
कार्यालयका सूचना अधिकारी मनोज चन्दका अनुसार, झलारीमा ९ सय क्न्टिल, बेदकोट नगरपालिका स्थित सिसैयाबाट ३५ क्विन्टल र महेन्द्रनगर स्थित शाखा कार्यालयमा २३ सय क्विन्टल धान खरिद भएको छ । झलारीमा अहिले बन्द भएको छ भने अन्त खरिदको कार्य भइरहेको छ । सबैभन्दा बढी महेन्द्रनगर स्थित शाखाबाट धान खरिद गरिएको छ ।
कार्यालयले यसअघि सूचना जारी गर्दै प्रतिक्विन्टल तीन हजार ४ सय १० का दरले धान खरिदको कार्य अगाडी बढाएको सूचना अधिकारी चन्दले जानकारी दिए ।
कार्यालयले एक करोड १० लाख मूल्य बराबरको धान खरिद गरिएको जनाएको छ । प्रति किसानबाट बढीमा ५० क्विन्टल धान खरिदका लागी कार्यालयले सम्झौता गरेको थियो । जस अनुरुप अहिले धान खरिदको कार्य चलिरहेको सूचना अधिकारी चन्द बताउँछन् ।
१० क्विन्टल भन्दा माथि धान बिक्री गर्ने किसानको हकमा भने वडा कार्यालयको सिफारिस र परिचयपत्र अनिवार्य गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयले यस वर्ष १५ हजार क्विन्टल धान खरिद गर्ने अनुमति पाएको थियो । तर जिल्ला स्थित सबै स्थानबाट खरिद गर्न नसकिएको कार्यालयले बताएको छ । कार्यालयले जिल्लाको दक्षिणी क्षेत्रमा पनि धान खरिदको कार्य अगाडी बढाउन खोजेको जनाएको छ । तर बेलौरी नगरपालिका सँग सम्झौता हुन नसक्दा यसबर्ष बेलौरीबाट धान खरिद गर्न नसकिएको कार्यालयले बताएको छ ।
बजार मूल्य भन्दा कार्यालयले उचित मूल्यमा धान खरिद गरिरहेको हो । जसले किसानहरुलाई सहजता तुल्याएको बताइएको छ ।
.gif)