शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

आकासे पानीमा निर्भर बैतडीका किसानलाई रोपाइँको चटारो


पश्चिम प्रेस
शुक्रबार, असार २२ २०८१
  • 560
    Shares

  • images
    images
    आकासे पानीमा निर्भर बैतडीका किसानलाई रोपाइँको चटारो

    बैतडी । केही दिनदेखि भइरहेको वर्षासँगै यहाँका किसानलाई रोपाइँको चटारो छ । आकासे पानीमा निर्भर यहाँका किसान वर्षासँगै रोपाइँमा व्यस्त छन् । 

    दोगडाकेदार–३ श्रीकोटका गणेशसिंह विष्टले सिँचाइ सुविधाको अभावमा आकासे पानीको भर पर्ने यहाँका किसान धमाधम रोपाइँ गर्न लागेको बताए। उनले भने, “सिँचाइ सुविधा नभएर आकासे पानीको भरमा थियौँ, वर्षा भएसँगै रोपाइँको चटारो परेको छ ।” 

    जिल्लामा धानखेती हुने क्षेत्रमध्ये ४० प्रतिशतमा मात्रै सिँचाइ सुविधा पुगेको छ । कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीले वर्षा भएसँगै धमाधम रोपाइँ भइरहेको बताए । जिल्लामा हालसम्म ७० प्रतिशत रोपाइँ सम्पन्न भएको पनि उनले जानकारी दिए । “सिँचाइ सुविधा भएका ठाउँमा यसअघि नै रोपाइँ सम्पन्न भइसकेको छ । आकासे पानीको भरमा रहेका किसान हाल रोपाइँमा व्यस्त छन्”, कार्यालय प्रमुख चौधरीले भने।   

    समयमा वर्षा नहुँदा यस वर्ष रोपाइँ गर्न ढिलाइ भएको छ । गत वर्ष असार मध्यसम्म ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएकामा यस वर्ष ७० प्रतिशतमात्रै भएको केन्द्रले जनाएको छ । 

    जिल्लाको पाटन नगरपालिका क्षेत्रका पाटनसेरा, डिलाशैनीको गोकुलेश्वर, सिगासको ढुङ्गाड, मेलौलीको सलेना, पञ्चेश्वरको महाकालीसँग जोडिएको क्षेत्र, दशरथचन्द नगरपालिकाको महाकालीसँग जोडिएका क्षेत्र र सुर्नयाको सुर्नया नदीसँग जोडिएका क्षेत्रलाई धान पकेट क्षेत्रका रूपमा लिने गरिएको छ ।

    बैतडीमा पछिल्लो समयमा धानखेती हुने जमिन घट्दै गएको छ । पछिल्लो कृषि गणनानुसार यहाँ पाँच हजार दुई सय २५ हेक्टर जमिनमा मात्रै धानखेती हुने गरेको छ । यसअघि नौ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको थियो ।  


  • सम्बन्धित विषय:

  • # रोपाइँको चटारो
  • प्रतिक्रिया दिनुहोस