कैलाली । कैलालीको कैलारी गाउँपालिकाका ८ सय २९ किसानलाई अनुदानको प्रलोभन देखाएर बिचौलियाले ठगेका छन् । हाते ट्र्याक्टर र सिँचाइका लागि पानी तान्न मोटर ७५ प्रतिशत अनुदानमा उपलब्ध गराउने भन्दै बिचौलियाले किसानबाट २५ प्रतिशत रकम अग्रिम भुक्तानी भन्दै उठाएका हुन् ।
बिचौलिया संस्था तथा व्यक्तिहरूले सुरुमा किसानहरूलाई ५८ हजार ७ सय ५० जम्मा गरे पावर टिलर र १२ हजार बुझाए सिँचाइ मोटर अनुदानमा उपलब्ध गराउने प्रलोभन देखाएको बताइएको छ ।
सस्तो मूल्यमा कृषि उपकरण पाउने भएपछि विपन्न समुदायका किसान परिवारले घरको राँगा, गोरु बेचे, कसैले भैंसी, पाठो–बाख्रो बेचेर रकम जुटाए । केहीले त गाउँको समूहबाट ब्याजमा कर्जा झिकेर उक्त रकम उपलब्ध गराएको थिए । असारको पहिलो साताभित्र सामान उपलब्ध गराउने भन्दै गत चैतमा रकम उठाउन सुरु गरिएको किसान बताउँछन् ।
कैलारी गाउँपालिकाका ९ वटै वडाका ४ सय १५ किसान परिवारबाट पावर टिलर दिने भन्दै १ लाखदेखि १ लाख ३५ हजारका दरले संकलन गरेको पाइएको छ । सिँचाइ मोटरका लागि १२ हजारका दरले ४ सय १४ जना किसानबाट रकम उठाएको पाइएको छ । बिचौलियाले सबैबाट गरी करिब ५ करोड रुपैयाँ उठाएको किसानहरूको भनाइ छ ।
काठमाडौंमा दर्ता रहेको बाल सशक्तीकरण संस्थाका अध्यक्ष रहेका योगेश योगी (कैलारीकै बासिन्दा) को निर्देशनमा स्थानीय शिक्षक विनोद चौधरी, कालीमाई बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कैलारी–५ का अमृत चौधरी, नेपाल सहकारीका अध्यक्ष रामशरण महतो, कैलारीमै रहेको अखुवा सहकारी संस्थाका अध्यक्ष सीताराम चौधरी, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेतासमेत रहेका पूर्वमन्त्री घनश्याम चौधरीका स्वकीय सचिव शंकर चौधरी किसानबाट रकम संकलन गर्न परिचालित भएको कागजातबाट देखिन्छ ।
यस्तै स्थानीय सन्तोष चौधरीको नेतृत्वमा मेलाराम राना, दिनेश संगम र श्रवण चौधरी परिचालित रहेको कागजातबाट देखिएको छ । सुरो नेपालले परिचालन गरेको बाल सशक्तीकरण संस्थाले स्थानीय जनता माविमा कार्यरत शिक्षक विनोद चौधरीलाई परिचालन गरेर रकम संकलन गरेको थियो ।
रकम संकलकहरूले सुरो नेपालकी अध्यक्ष खड्काका नाममा कृषि विकास बैंक रामशाह पथ शाखामा रहेको व्यक्तिगत खाता नम्बर ०८२२५०३०४०२७००१२ मा रकम जम्मा गरेको पाइएको छ ।
आन्तरिक राजस्व कार्यालय धनगढीमा ०८१ जेठ १३ मा दर्ता भएको सुरो नेपाल मुनाफा वितरण नगर्ने संस्था भएको उल्लेख छ । ०८१ जेठ २० मा उक्त संस्था समाज कल्याण परिषद्मा आबद्ध भएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कैलारीमा भएको ठगीको विषयमा कुनै उजुरी नपरेको बताए । उनका अनुसार घटना जानकारीमा आइसकेपछि रकम संकलक चार जनालाई झिकाएर सोधपुछ गर्दा उनीहरू नाजवाफ भएपछि पक्राउ गरी थुनामा राखिएको थियो ।
.gif)