महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला सुरु भएको छ ।
‘कृषि पर्यटन, उद्योग र व्यापार सम्बृद्धि बेलौरीको आधार’ मूल नारा अघि सारेर बेलौरीमा सोमबारदेखि तेस्रो संस्करणमा मेला सञ्चालनमा ल्याइएको हो।
बेलौरी खुला मञ्चमा उद्योग वाणिज्य सङ्घको आयोजना एव नगरपालिकाको सह आयोजनामा तेस्रो बेलौरी पर्यटन महोत्सव तथा कृषि, औद्योगिक व्यापार मेला आयोजना गरिएको हो ।
बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरीले मेलाको उद्घाटन गर्दै निजी र सरकारी क्षेत्रको संयुक्त साझेदारीमा सञ्चालन भएको मेलाले नगरकै कृषि, पर्यटन, औद्योगिक विकासमा टेवा पु¥याउने बताए ।
मेयर चौधरीले नगरपालिकाले समेत कृषि क्षेत्रमा थुप्रै कामकाज अघि बढाएकाले मेलाले थप नगरको कृषि प्रवर्द्धनका टेवा पु¥याउने विश्वास व्यक्त गरेका छन् । मेयर चौधरीले मेलाबाट क्षेत्रको विकासमा समेत प्रवर्द्धनमा जोड दिएका छन् ।
यस अघि दुई संस्करण मेला लगाइसकेको वाणिज्य सङ्घले तेस्रो पटक हिउँदमै मेला सञ्चालन गर्न लागेको छ । बेलौरी महोत्सवको लक्ष्य कृषि, उद्योग, व्यापार र पर्यटन क्षेत्रको विकास गर्दै स्थानीय स्तर उत्पादन र संस्कृतिको प्रवर्द्धन गर्ने रहेको आयोजकको दाबी छ । बेलौरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हिरासिंह विष्टले बेलौरीको पर्यटन, कृषि, औद्योगिक विकासका लागि मेला सञ्चालन गरिएको बताए ।
महोत्सवमा सय वटा स्टलमा स्थानीय कृषि उत्पादन, हस्तकला,औद्योगिक सामग्री, र आधुनिक प्रविधि प्रदर्शनी स्थानीय किसानहरूले आफ्ना जैविक उत्पादित बस्तु प्रदर्शनी गरिएको छ । स्थानीय, उद्योगी, व्यवसायीहरूलाई नै प्राथमिकतामा राखिएको अध्यक्ष विष्टको दाबी छ ।
जिल्लाकै पहिलो सदरमुकाम समेत रहेको बेलौरी महोत्सवले बेलौरीको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फैलाउने मात्र नभई स्थानीय समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
महोत्सवको अर्को मुख्य आकर्षण स्थानीय थारु, पहाडी समुदायका संस्कृति झल्किने कार्यक्रमहरू प्रर्दशनमा ल्याईने र स्थानीय एव राष्ट्रिय कालाकारबाट समेत विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछन् । महोत्सव सञ्चालनका लागि करिब २९ लाख रुपैयाँको अनुमानित बजेट रहेको महोत्सवले स्थानीय किसान, व्यवसायी, उद्योगी, र सांस्कृतिक समूहलाई आफ्नो उत्पादन, कला र सीप प्रदर्शन गर्न विशेष प्लेटफर्म प्रदान गरिएको छ ।
महोत्सव अवलोकनका लागि आम सर्वसाधारणका लागि १ सय रुपैयाँ, विद्यार्थी सहुलियत लागि ६० रुपैयाँ र ६० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि प्रवेश निःशुल्क गरिएको छ । १० दिने महोत्सवमा स्थानीय उत्पादन, कला, र संस्कृतिको प्रवर्द्धन गर्दै कृषि, उद्योग, र पर्यटनको क्षेत्रमा नयाँ सम्भावनाहरूको ढोका खोल्ने विश्वास व्यक्त गरिएको छ । १७ पुषसम्म महोत्सव सञ्चालन हुनेछ ।
.gif)