रासस । महिलाहरू घरायसी काममा मात्रै सीमित हुनुपर्छ भन्ने सोचलाई चिर्दै महिलाहरु व्यवसायमा पनि सक्षम् छन् भन्ने उदाहरण बन्नुभएको छ, भजनी नगरपालिका–९ की खिमादेवी धामी ।
चार वर्ष पहिले रु पाँच लाख खर्चेर स्थापना गरेको महुन्याल दुनाटपरी उद्योगले उनलाई उद्यमी बनाएको छ । उनले अहिले सोही उद्योगबाट घरमै बसेर मासिक रु ४० हजारभन्दाबढी आम्दानी गर्दै आएका छन । नगरपालिकाको वडा नं(१ भजनी बजारमा सालको पातबाट दुनाटपरी बनाउने उद्योग सञ्चालन गर्नुभएकी खिमाले गाउँका महिलालाई पनि रोजगारीमा छन ।
“गोठाला गएका, गाउँमा फुर्सदमा भएका महिला दिनभर सामुदायिक वनमा गएर पात टिप्नुहुन्छ । त्यो पात हामीले खरिद गर्छौँ”, उनले भने, “प्रतिकेजी रु ३५ देखि ४० मा खरिद गर्छौ ।” यस उद्योगबाट गाउँका महिलाले पनि घरायसी कामको अतिरिक्त समयको सदुपयोग गर्न पाएका छन् । उद्योगबाट आफूहरुलाई आयआर्जनको बाटो पनि खुलेको उनको भनाइ छ । भजनी नगरपालिका–९ की तारादेवी पुनमगर खिमाले उद्योग सञ्चालनमा ल्याएपछि घरमै रोजगारी आएको अनुभूति भएको बताए । दैनिक घाँस दाउरा, गाईवस्तु चराउनका लागि जङ्गल पुग्नुपर्ने तारादेवी अहिले पात टिप्ने काम पनि सँगै गर्छन ।
घरायसी कामसँगै सालका पात टिपेर पैसा आउन थालेपछि तारादेविको घरको सानोतिनो खर्च टार्ने माध्यम खिमाको उद्योग बनेको छ । “घाँस दाउरा, मेलापात गर्दै उमेरले नेटो काट्न लाग्दा जङ्गलमा कुहिएर खेर जाने सालको पात टिपेर पैसा कमाइ होला भन्ने आफूले नसोचेको उनले सुनाए । , “आज त्यहीँ सालको पातले घरको खर्च टारेको छ । सानोतिनो रकमका लागि अरुसँग माग्नुपरेको छैन ।” तारादेवी जस्तै वडा नं ९ का मटेरी टोलका अधिकांशले सालको पात सङ्कलन गरी बिक्री गर्दै आएका छन् । स्थानीय क्षेत्रमा प्रशस्त पाइने त्यो पनि खेर गइरहेको वस्तुबाट आम्दानीसँग जोडिएकी खिमालाई उद्योग सञ्चालनको सुरुवातमा बजारीकरणको समस्या भए पनि अहिले बजारको मागलाई भ्याउन कसेको छैन । उनले हप्ताको एक दिन शनिबार स्थानीयवासीले सङ्कलन गरेको पात खरिद गर्दै आएका छन । हप्तामा रु २० हजारदेखि रु २५ हजारसम्मको सालको पात खरिद गर्दै आएको उनको भनाई छ ।
“कैलालीका विभिन्न क्षेत्र हुँदै बर्दियालगायत काठमाडौँसम्म उत्पादन भएको दुनाटपरी जाने गरेको छ । उत्पादन भएको वस्तुका लागि बजार पर्खनुपर्ने स्थिति छैन”, उनले भने, “उत्पादनको मात्रा बढाउन नसक्दा बजारको मागलाई धान्न मुस्किल भएको छ ।” उद्योगमा दैनिक तीन हजारभन्दा बढी टपरी र छ हजार दुना उत्पादन हुन्छन् । विभिन्न नौ साइजमा दुनाटपरी उत्पादन हुँदै आएका छन् ।
उत्पादन भएको वस्तुको बजारीकरणमा खिमालाई श्रीमान् होमबहादुर बोहराले साथ दिएका छन । उनले स्थानीय बजार हुँदै बाह्य बजारसम्म उत्पादन भएको वस्तु पु¥याउने काम गर्दै आएका छन । “श्रीमतीले उद्योगभित्रको काम हेर्छिन । मैले बजारको काम हेर्ने गरेको छु”, होमबहादुर भने, “श्रीमान् श्रीमती दुवैजना सबै क्षेत्र छोडेर उद्योगलाई अझै स्थापित गर्दै लैजानेतर्फ लागिरहेका छौँ ।”
पछिल्लो समय स्थानीय तह प्लास्टिक निषेधित क्षेत्र घोषणा हुँदै जाँदा पातबाट बनेका वस्तुको माग बढेको होमबहादुरको भनाइ छ । नेपालबाट मात्रै नभइ छिमेकीमुलुक भारतका स्थानीय व्यापारीबाट पनि वस्तुको माग भइरहेको उनले बताए । कुनै समय साथीभाइको वैदेशिक रोजगारीले लोभ्याएर वैदेशिक रोजगारीको तयारीमा लागेका होमबहादुर विदेशको नाम पनि चाहान््न ।
“स्वदेशमै सम्भावना हुँदाहुँदै पनि त्यसको पहिचान गर्न नसक्दा अरुले गरिरहेको बाटोमा हिँड्नुपर्ने बाध्यता हुँदोरहेछ । जुन बाटो मैले पनि लहलहैमा रोजिसकेको थिएँ”, होमबहादुरले भने, “समयले मलाई यतै केही गर्नुपर्छ भनेर रोक्यो । जसमा श्रीमतीको साथ अनि आत्मविश्वासले मलाई नेपालमै केही गर्नुपर्छ भन्ने कुरा सिकायो । अहिले यो व्यवसायबाट मेरो परिवार सन्तुष्ट छ ।”
दुनाटपरी तयार हुने मेसिनबाट चप्पलसमेत तयार गर्ने गरिएको छ । दुनाटपरीको माग कम भएको समयमा उनीहरुले सोही उद्योगबाट चप्पल तयार गरेर बिक्रीसमेत गर्दै आएका छन । चालु आर्थिक वर्षमा उहाँले घरेलु तथा साना उद्योग कार्यालयबाट ‘एक उद्योग, एक निर्वाचन क्षेत्र’ कार्यक्रम अन्तर्गत मेसिन खरिदका लागि अनुदान पाएका छन। बीस प्रतिशत लागत सहभागिता रहेको उक्त कार्यक्रमबाट प्राप्त मेसिन आएपछि उद्योगको आकार बढ्ने र बजारको मागलाई थप पूर्ति गर्न सकिने खिमाको विश्वास छ ।
.gif)