सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिम महोत्सवमा स्वदेशमै उत्पादित वस्तुहरू विक्री, घट्दो व्यापार


पश्चिम प्रेस
बिहीबार , माघ २४ २०८१
  • 797
    Shares

  • images
    images
    सुदूरपश्चिम महोत्सवमा स्वदेशमै उत्पादित वस्तुहरू विक्री, घट्दो व्यापार

    महेन्द्रनगर । महेन्द्रनगरको खुलामञ्चमा सञ्चालनमा रहेको सुदूरपश्चिम कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवमा स्वदेशमै उत्पादित वस्तुहरू बिक्रीमा राखिएका छन् । सुदूरपश्चिमका पहाडी जिल्ला सहित विभिन्न स्थानबाट व्यापार गर्ने उद्देश्यले आएका व्यापारीहरूले सुदूरपश्चिमको पहिचान झल्कने वस्तुहरू पनि बिक्रीमा राखेको देखिन्छ ।  आफैले हातले बनाएका बस्तुहरूको विक्री अत्यधिक रहेको व्यापारीहरुले बताएका छन् ।

    महोत्सव अवलोकनका लागी आएका कञ्चनपुर दैजिका स्थानीय हर्क सिंहले सुदूरपश्चिमको पहिचान झल्कने हातले बुनेका टोपी महोत्सवमा राखेको बताए । उनले उक्त वस्तुहरू रुचाएर खरिद गरिएको बताए ।

    घट्दो व्यापार

    माघ १५ गतेदेखि महेन्द्रनगर स्थित खुलामञ्चमा पहिलो पटक लागेको सुदूरपश्चिम कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवमा झन्डै ६० स्टलहरू राखिएका छन् । आयोजकले अपेक्षा गरे अनुरूप स्टलहरू बुकिङ नभएको जनाएको छ । पहिलो पटक यस वर्ष खुलामञ्चमा आयोजना गरिएको महोत्सवबाट अपेक्षाकृत व्यापार–व्यवसाय भने हुन नसकेको व्यापारीहरूले बताएका छन् ।

    महोत्सवमा हुनुपर्ने व्यापार यस पटक हुन सकेको छैन,–स्टल राखेका भारत पिलिभीतका व्यवसायी निमचन्दले भने,–दैनिक कमाई ३–४ हजार मात्रै छ । महोत्सवमा उनले दालमोट, नमकिन, सिन्दूर लगायतको व्यापार गर्दै आएका छन् ।  अहिले सामान्य व्यापार भइरहेको उनी बताउँछन् ।

    महोत्सवमा चहलपहल नहुँदा विगतका वर्ष झैँ व्यापार नभएका कतिपय व्यापारीहरूको भनाई छ  । कर्णाली जुम्लाको सिजा गाउँपालिकाका वडा नम्बर २ व्यवसायी दलसिह रेग्मीले अल्लोबाट बनाएका कपडा बिक्रीमा राखेका छन् । उनले कपडा सँगै यसै वर्षदेखि अल्लोबाट निर्मित धागा टोपी पनि बिक्रीमा राखेका छन् । पुर्खा देखि अल्लोका कपडा बनाउँदै आएका उनले यस पटक धागा टोपी पनि बनाएको बताए । उनले हातले बनाएका कपडा बाहेक अन्य कपडाको भने विक्री नै नभएको बताए । विगतमा दैनिक ५०–६० हजारको व्यापार गर्दै आएका उनी यस पटक भने दैनिक ८–१० हजारको कारोबार भएको बताउँछन् । अहिले भने सोचेअनुसार कारोबार नभएको उनको भनाइ छ ।

    विगतका तुलनामा यस पटक झन्डै तीन गुणा कम व्यवसाय भएको कतिपय व्यापारीहरू बताउँछन् ।  कैलालीको धनगढीमा गार्मेन्ट उद्योग सञ्चालन गरी आफैले कपडा बनाउँदै आएका धिरेन्द्र चन्दले यस महोत्सवमा पनि स्टल राखेका छन् । आफैले उत्पादन गरेर कपडाहरू बिक्रीका लागि राखेका उनले सबै खर्च कटाएर १०–१२ हजार घाँटा सहनुपर्ने देखिएको बताए । महोत्सव व्यवस्थित नहुँदा यस पटक घाँटा सहनुपर्ने अवस्था रहेको उनी बताउँछन् ।

    व्यवसायमा उतारचढाव आउनु स्वाभाविकै भएको व्यवसायीहरूको भनाई छ । कतिपय व्यापारीहरूले अपेक्षाकृत व्यवसाय नभएको बताउँदै आएका हुन् ।  

    भीमदत्त नगरपालिका–११ भुजेलाकी कमला चन्दले पनि घरमा बनाएका अचारका परिकारहरू महोत्सवमा विक्रीमा राखेकी छन् । उनले आँप, तामा, सिमला, गाँजर लगायत दर्जेनौ परिकारका अचार आफैले बनाएर बिक्रीमा राखेको बताइन् । उनले व्यवसाय ठिकै रहेको बत्ताइन् ।  

    महोत्सवमा खास्सै भिडभाड नहुँदा यस वर्ष महोत्सवमा अपेक्षाकृत व्यवसाय हुन नसकेको व्यापारीहरूको भनाई छ ।


  • सम्बन्धित विषय:

  • # व्यापार
  • प्रतिक्रिया दिनुहोस