महेन्द्रनगर । समयानुकूल र प्रविधिमैत्री हुन नसक्दा हुलाक सेवा उपयोगविहीन बनेको छ । पछिल्लो समयमा चिठीपत्र आदाप्रदान गर्ने चलन हराउँदै गएको, नयाँ–नयाँ प्रविधि र सञ्चारका तौरतरिकालाई हुलाक सेवाले अवलम्बन गर्न नसक्दा यसको उपयोगिता घट्दै गएको हो ।
समयानुकूल हुन नसक्दा अहिलेका नयाँ पिँढीलाई हुलाक सेवा भनेकै थाहा छैन । भीमदत्त नगरपालिका ५ का विनोद सिंहले भने, “हुलाकी गाउँमा आएको देखेपछि विदेशमा गएका छोरा र आफन्तको खबर आयो कि भन्दै सोध्ने गर्दथ्यौँ, खबरको माध्यम भनेकै चिठीपत्र थियो । विगतमा यसले ठूलो महत्व राखे पनि प्रविधिको युगमा अहिले भने यसको वास्ता हुन छाडेको छ ।”हुलाक भनेको सुनेको छु, तर यसको काम के हो ? कुनै जानकारी नभएको कटानका सन्तोष साउदले भने । अहिलेसम्म हुलाक सेवा हामीलाई आवश्यकता नपरेकाले कुनै जानकारी तथा महत्व थाहा नभएको उनको भनाइ छ ।
प्रविधिको युगसँगै हुलाकको ढाँचा परिवर्तन हुन नसक्दा सरकारी कामकाजका चिठी, पत्रपत्रिका आदाप्रदान, हुलाक टिकट बिक्री, कहिलेकाहीँ बैंकबाट ऋण लगेर भाका नाघेका व्यक्तिलाई चिठ्ठी पठाउने लगायत काममा मात्रै हुने गरेको जिल्ला हुलाक कार्यालय कञ्चनपुरका सूचना अधिकारी नायव सुब्बा देव सिह सामन्तले बताए । उनले हुलाक सेवालाई सरकारले प्राथमिकता नराखेको बताए । समय सापेक्ष हुलाक सेवालाई व्यवसायीकरण गर्न सकिए हुलाकले थप सेवा विस्तार गर्न सक्ने उनको भनाई छ ।
केही वर्षअघिसम्म प्रविधिको विकास नभएकाले हुलाक सेवा प्रभावकारी बने पनि यतिबेला हुलाक सेवाबाट भन्दा इमेल, इन्टरनेट, मोबाइल, वेबसाइटजस्ता नयाँ प्रविधिले छिटोछरितो सञ्चार सेवा प्रवाह गर्ने भएकाले हुलाक सेवा उपयोगविहीन बन्दै गएको हुलाक कार्यालयका सूचना अधिकारी सामन्तको भनाई छ । यतिबेला हुलाक सुनसानजस्तै बनेको छ । जिल्ला हुलाक कार्यालयमा सरकारी चिठी र केही व्यक्तिको पार्सल लगायतका ५०÷६० वटा चिठीपत्र दैनिक आउने गरेको हुलाक कार्यालयले जनाएको छ । जिल्लामा एक हुलाक कार्यालय, २२ अतिरिक्त हुलाक गरी २३ वटा हुलाक कार्यालय रहेका छन् । यी सबै कार्यालयमा १ सय ४ भन्दा बढी कर्मचारी छन् ।
.gif)