बैतडीको दसरथ चन्द नगरपालिका २ देहिमाण्डौँको ज्वाकट्टेमा निङ्लाशैनी भगवतीका प्रथम पुजारी जनाबिचार भट्टको शीला अवस्थित छ । निङ्लाशैनीको पूजाका लागि पालीगाउँबाट मन्दिर जाने क्रममा बाटोमै उनको मृत्यु भएको र माताका परम भक्त भएका कारण उनको पार्थीव शरीर त्यसै ठाउँमा शीलामा परिणत भएको बुढापाखाहरुले बताउँछन् । उक्त शीलाको तलतिर महारुद्र मन्दिर, माथी निङ्लाशैनी र पश्चिममा ग्वाल्लेक केदार रहेका छन् । उक्त शीला बीचबाटोमै रहेको छ । कुनै विशेष पर्वका रुपमा पूजा नभए पनि त्यस क्षेत्रका मानिसहरु पूजाका लागि मन्दिर जाने बेला धुपबत्ती तथा पाती चढाएर जाने गर्दछन् । उक्त ठाउँमा मन्दिर बनाउन खोजे पनि आफै भत्किने गरेको विभिन्न मानिसहरुले बताउँछन् । एक पटक पाली मुडाव निवासी कौडिन्य गोत्रीय भाटहरुले मन्दिर बनाउन खोज्दा सपनामा दर्शन दिएर मलाई खुल्ला आकासमै रहन देऊ भनेको स्थानीयहरुले बताउँछन् । निङ्लाशैनीको गर्भगृहमा रहेको शीला र जनाबिचारको शीला एकै आकार र साइजमा रहेको पाइन्छ । भातरमा भएको मुगल आतङ्कबाट दिक्काएका हाम्रा पुर्खाहरु बसाइ सरी यस क्षेत्रमा आएका थिए । पुर्खाहरुसँगै निङ्गलाशैनी भगवती समेत केही समयपछि देहिमाण्डौँमै प्रकट भएकी र यही ठाउँमा पूजाआजा गर्ने गरेको बुढपाकाहरुले बताउने गर्दछन् । कौडिन्य गोत्रीय पल्याल जनाबिचार भट्ट निङ्लाशैनी भगवतीका परम भक्त भएका कारण उनमा दैवीय शक्तिको प्रादुभाव रहेको अघिल्लो पुस्ताका मानिसहरुले बताउँछन् । प्राचीन किंवदन्ति अनुसार देहिमाण्डौँको दुदेखालीमा राक्षसी शक्ति रहेको र हरेक समयमा बालबालिका तथा अन्य व्यक्तिहरु छलत्रासमा पर्ने गर्दथ्यो । एकदिन जनाबिचार माताको पूजाका लागि पारोमा गाईको दुध लगेर त्यही बाटो जाँदै गरेका थिए । एक जना बोहरा जातीका मानिसले उनलाई यो समस्या व्यक्त गरेपछि उनको हातको दुधको पारो छुटेको र उक्त पारो दुदेखालीको तालमा परेको र त्यो दिनदेखि त्यो ठाउँबाट राक्षसी शक्तिको अन्त भएको थियो । दुध उक्त खाली (ताल)मा परेकाले त्यो दिनदेखि त्यस ठाउँकै नाम दुधेखाली रहन गएको हो । दुदेखालीको पानीमा दुध परेको कारण त्यहाँको पानी अझ पनि दुध जस्तै सेतो रङमा देखिन्छ । हाम्रो पाचीन इतिहाससँग जोडिएको हुनाले यसको संरक्षण र प्रचारपर्सार गर्नु हामी सबैको दायित्व हो ।
.gif)