मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

घमण्ड माथि जित एक आवश्यकता 


बुधबार, वैशाख २८ २०७९
  • 1.9K
    Shares

  • images
    images
    घमण्ड माथि जित एक आवश्यकता 

    मानिस जन्मजात रूपमा स्वार्थी छ । ऊ कमजोर कुनै हालतमा बन्न चाहँदैन । काम, क्रोध, लोभ, मोह, मद मात्सर्य जस्ता जन्मजात शत्रुहरू ऊ भित्र लुकेका छन् । कसैमा यी शत्रु कम्ति हाबी होलान् तर कसैमा भने यिनीहरू हद पार गरेर आउँछन् । जतासुकै होस् यी दुर्गुणले झगडा, मनमुटाव र द्वन्द्व निम्तिन्छ । मानिस त राम्रो व्यवहारले राम्रो कहलिन्छ । लोभ, लालच, ईष्र्या एवम् अहंकारले झगडा निम्तिन्छ । त्याग, समर्पणले मानिस समाजमा उचित मर्यादा ओगट्न सक्दछ । घमण्डी मानिस कसैलाई मन पर्दैन । कछुवा र खरायोको दौडको कथामा पनि खरायो आफ्नो दौड्ने क्षमताको घमण्डले निदाउँदा हारेझैँ घमण्डले मानिस जहाँ पनि कमजोर ठहर्दछ । अहंकार शब्दमा अहं ले “म” जनाउँदछ अर्थात् “आफू र आफ्नो लाई मात्र बढी महत्व दिने अरुलाई नटेर्ने प्रवृत्ति” अहंकार भित्र पर्दछ । यसका समानार्थी शब्दहरू अभिमान, सेखी, मपाँइँ, तुजुक आदि पर्दछन् । म धेरै चलाख छु, म बुद्धिमान, म धनी, म विद्वान्, म ठूलो नेता, म कूटनीतिज्ञ, म जवान, म सुन्दर, म बलियो, म पुरुषार्थी, म क्षमतावान,् म दान धर्म गर्ने, म शूरो, म निपूर्ण आदि जस्ता विभिन्न कोणबाट जसले आफूलाई मात्र ठूलो ठान्दछ, त्यो अभिमान हो । ठूलाठूला हस्तीहरू यस क्षणभङ्गुर शरीरलाई छोडेर गए तैपनि अभिमानको गलत असर बुझ्न सकेनन् । हिटलर, इदि, अमिन जस्ता तानाशाह आफू बाहेक अरु कसैलाई ठूलो मान्दैनथे । फलतः दुस्परिणाम भोग्नु प¥यो । धर्मशास्त्र अनुसार रावण, हिरण्यकशिपु, शिशुपाल, कंश, महिशाशुर, खरदूषण लगायत कैयन पराक्रमी राजा समेत घमण्डले नै पतन हुन पुगे । अति नै दानी छु भन्ने घमण्डले बली राजा नासिए, अति घमण्डले रावणको लङ्का नष्ट भयो । त्यसैले “अतिले खति” भन्ने उखान चर्चामा छ । भनिएको छ “अति सर्वत्र वर्जयेत” ।
     एकपटक नारद मुनि घुम्दै जाँदा कुनै राजाको दरबारमा पुगेछन् । त्यहाँ तिनै राजाकी छोरीलाई सुन्दर देखेर मोहित भएछन् । राजासँग कुरो राख्दा जो बढी सुन्दर हुनेछ त्यसैसँग मेरी छोरीले विवाह गर्ने छिन् भने । भगवान सच्चा भक्त भएको कारण उनले भगवान विष्णुलाई आफ्नो कुरो राखे, भगवानले हुन्छ भने । अर्को दिन दरबारमा भेला हुँदा नारद पनि गए तर राजकुमारीले अर्कैलाई स्वयंवरको माला पहि¥याइन । नारदलाई देखेर सबै हाँसिरहेका थिए । यो सहन नसकी नारदले आफ्नो अनुहार हेर्दा बाँदरको जस्तो अनुहार देखियो । नारद रिसाएर आफू भगवानको सच्चा भक्त भएको भन्ने घमण्डले नारदले भगवानलाई श्राप दिए – “तपाईले मेरो अनुहार बाँदरको बनाउनु भयो, तपाईलाई पनि आपत परेको क्षण बाँदरबाटै सहयोग लिनु परोस्” – यही कारण लंका विजयको क्रममा बानर सेनासँग सहकार्य गर्नुपरेको थियो । घमण्डले मानिसको अवनति हुन्छ । घमण्डले बुद्धि विवेकको सही प्रयोग हुँदैन । अहंकारको अन्धकारले स्वर्गका सात ढोका – दान, तप, साम, दाम, लज्जा, सरलता र दया बन्द हुन्छन् भनेर महाभारतमा उल्लेख छ ।
    क्षणिक जीवनका विभिन्न अस्थिरताका बीच घमण्ड जस्ता शब्दहरूलाई जितेर आफ्नो अमूल्य जीवन सार्थक पार्न सकिन्छ । जुन शत्रुमाथि विजय पाउनाले लाभ मिल्दछ, त्यस्ता कार्यहरूबाट समाजप्रति पनि सही सन्देश जान्छ । अज्ञानताको जन्म दिने शत्रुहरूमाथि विजय प्राप्त गर्न असल सङ्गत, ध्यान, योग, मेडिटेसन लगायतका क्रियाकलाप गर्नु अपरिहार्य छ ।

     



    शिवराज कलौनी
    शिवराज कलौनी

    प्रतिक्रिया दिनुहोस