मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

शिक्षा र संस्कार


पश्चिम प्रेस
सोमबार, जेठ १६ २०७९
  • 2.8K
    Shares

  • images
    images
    शिक्षा र संस्कार

    शिक्षा मानव जीवनलाई पूर्णता प्रदान गर्ने एउटा सशक्त माध्यम हो । शिक्षाबाट नै जीवनका महत्तम उपलब्धीहरु पाप्त हुन सक्छन र अरु बाट नै हाम्रो जीवन सफल खुसी र समृद्ध हुन सक्तछ । शिक्षा बिनाको जीवन अपूर्ण मात्र हैन अर्थहीन पनि हुन सक्छन । शिक्षाले नै जीवनका लक्ष्य र गन्तब्यहरु निर्धारण हुन्छन र यसै बाट यी गन्तव्य र लक्ष्यहरुको प्राप्तिको ज्ञान पनि हुन्छ । शिक्षाबाट नै अज्ञानको गहन अन्धकारबाट सानको आलोकमय संसारको प्राप्ति हुन सक्तछ र यसैबाट नै हाम्रा जीवनका सम्पूर्ण आवश्यकताहरु सहज रुपमा प्राप्ति हुन सक्तछन । यही कारण हो कि विश्वका हरेक देशले आफना नागरिकहरुको शिक्षाका लागि विशेष प्रबन्ध गरेको हुन्छ र यसका लागि राष्ट्रिय बजेटको एउटा ठुलो अंश छुट्याइएको हुन्छ । अनेकौँ ज्ञानका मन्दिरहरु (विद्यालय, महा विद्यालय ,विश्व विद्यालय) को स्थापना गरेर हरेक देशले आफ्ना नागरिकहरुको क्षमता विकासका लागि ठूलो प्रयत्न गर्न राखेको हुन्छ । वस्तुतः शिक्षण संस्थाहरु ज्ञानका मन्दिर नै हुन्छन र यिनको परिवेश, यिनको  आकृति र यिनको भूमिकाले विद्यार्थीहरुको मन मष्तिष्कमा एउटा स्थायी प्रभाव पर्दछ । जो आजीवन रहन्छ । 


     ज्ञानको जुन स्तर यहाँ बाट प्रवाहित हुन्छ, त्यसको रुचिले एउटा नयाँ संस्कार, नयाँ सोच, नयाँ दृष्टिकोण र नयाँ व्यवहारको उत्पत्ति हुन्छ । शिक्षाको मूल उद्देश्य व्यक्तिको पूर्ण विकास गर्नु नै हो । केवल आर्थिक वा भौतिक आवश्यकताहरुको पूर्तिले जीवन सुखमय बन्न सक्दैन । सुखी शान्त र समृद्ध जीवनको प्राप्ति नै शिक्षाको लक्ष्य हो । जुन शिक्षाले जीवनमा आनन्दको प्रवाह गर्ने सक्दैन । जसले जीवनलाई सुशान्त र निभर्य पार्न सक्दैन, त्यो शिक्षा वास्तविक अर्थमा शिक्षा नै हैन । यसैले यसका लागि संस्कारको शिक्षा हुनु आवश्यक  छ । संस्कार विनाको शिक्षा, सुगन्ध विनाको फुल जस्तै निरर्थक हुन्छ । आजको संसारमा हामी जहाँ पनि एउटा तथाकथित शिक्षित व्याक्तिहरुको भिड त देखिराखेका हुदाँ विभिन्न शोभनीय वा अशोभनीय माध्यमहरुबाट आर्थिक लाभ उठाई जीवनमा भौतिक आवश्यकताहरुको उच्चतम उपलब्धी गरिएको पनि देखिन्छ । तर तत्पश्चात पनि उनीहरुको जीवन कुण्ठा निराशामय भएको  देखिन्छ । साँचिक्कै भन्ने हो भने आजको विश्व समाजमा जुन सामाजिक अपराधहरुमा बृद्धि हँुदै राखेको छ त्यसमा संलग्न हुनेहरुमा अशिक्षित भन्दा पनि शिक्षित समुहहरुको संख्या बढि भएको पाइन्छ । संस्कार कै अभावले गर्दा उच्च शिक्षा प्राप्त सम्मानित व्याक्तिहरु वा पदाधिकारीहरु कल्पना नै गर्न न सकिने जघन्य अपराधिक कार्यमा संलग्न छन् र विश्व शान्ति खल्बल्याउने र स्वास्थ्य सामाजिक व्यवस्था नष्ट गर्ने र्कायमा सहयोग गरिराखेका छन् । शिक्षा प्राप्त गर्नु भनेको कुनै (डिग्री) वा प्रमाण पत्र ग्रहण गर्नु मात्रै हुँदैन, यो केही सीप सिकेर वा क्षमता विद्यान गरेर जीविका निर्वाह गर्ने कुरा हो । वास्तवमा वास्तविक शिक्षा त्यो हो , जसले मानवमा मानवोक्ति गुणहरुको विकास गर्दछ । स्नेह, सद्भावना सेवा र सहयोगको भावना जागृत गर्छ र आफ्नो स्वार्थ लाई भन्दा परमार्थलाई महत्व दिन सिकाउँछ । महान लेखक क्रिश हेगुले भनेका थिए ‘‘ हामी यस्तो समाजमा छौँ जहाँ डाक्टरहरु स्वास्थ्यलाई नष्ट गर्दैछन् वकिलहरु न्यायलाई नष्ट गर्दैछन्, विश्व विद्यालयहरु ज्ञानलाई नष्ट गर्दैछन् । सरकारहरु स्वतन्त्रतालाई नष्ट गर्दैछन, संचार माध्यमहरु सूचनालाई नष्ट गर्दैछन् धर्महरु नैतिकतालाई नष्ट गर्दैछन् र बैंकहरु अर्थतन्त्रलाई नष्ट गर्दैछन ।’’ यस भनाईलाई गम्भीर रुपले अनुशीलन गर्ने हो भने यो स्थिति अत्यन्त भयावह छ किनभने यसमा शिक्षा त प्राप्त भयो तर संस्कारको पक्षलाई महत्व दिइएन ।


     आजभोलि आर्थिक दृष्टिले उत्पादनशील र जीवनयापन गर्न सक्ने । शिक्षामाथि बढी जोड दिएको पाइन्छ र यसले प्राविधिक वा व्यवासायिक शिक्षाको क्षेत्रमा विद्यार्थीहरुको बढी ध्यान गएको पाईन्छ । यो राम्रो कुरा पनि हो  । व्यक्तिलाई आत्मनिर्भर बनाउन र देशको दु्रततर विकास गर्न यस प्रकारको शिक्षा आवश्यक नै छ । तथापि यसका साथै विद्यार्थीलाई सानै कक्षा देखि प्रेम, दया, सहिष्णुता, सहानुभूति, राष्ट्रप्रेम र सकारात्मक सोचका विषयहरुको ज्ञान हुन पनि त्यतिकै आवश्यक छ । अन्यथा व्यक्ति व्यक्ति न भएर एउटा कृत्रिम यन्त्र जस्तै हुन सक्ने भय हुन्छ । यसैले सीपमूलक शिक्षा सँगसँगै आदर्श नागरिक निर्माण गर्न विषय वस्तुहरुले पनि पूर्ण स्थान पाउनु पर्दछ ।


    शिक्षाको निहितार्थ नै हो, एउटा सभ्य, सुसंस्कृत, विनयशील र अनुशासित नागरिक निर्माण गर्नु । यदि हामीले प्रदान गर्ने शिक्षामा यी तत्वहरुको अनुपस्थिति यसो भने शिक्षाको कुनै अर्थ नै रहदैन । जुन शिक्षाले आफ्नोपनमा आफ्नो कुरा गर्न सिकाउदैन जुन शिक्षाले चरित्र निर्माण गर्न सिकाउँदैन जसले उत्तरदायित्वको भावना जागृत गर्न सक्दैन, जसमा सदाचारको भाव हुदैन, त्यो शिक्षा वास्तविक अर्थमा शिक्षा नै हैन । 


    ‘संस्कार’ के हो ? 
    समान्य अर्थमा भन्ने हो भने संस्कार भनेको व्यक्तिलाई सभ्य, सुसंस्कृत तथा आदर्श बनाउने एउटा साधन हो । हरेक समाजका आफ्ना केही शास्वत परम्परा, धर्म, संस्कृति, आस्था, विश्वास, एवं मुल्य र मान्यताहरु हुन्छन् । व्यक्तिगत होस् वा सामाजिक जीवन यिनै मुल्य र मान्यताहरु बाट निर्देशित र नियमीत भएको हुन्छ । स्वस्थ्य समाजको निमार्णका लागि हरेक व्यक्तिले यी स्थायी र शस्वत नियम र आस्थाहरुको पालन गर्नु अनिवार्य जस्तै हुन्छ । हरेक परिवार वा समाजिक संस्थाहरुलै एउटा सभ्य, अनुशासित एवं मर्यादापालक व्यक्तिको अपेक्षा गरेको हुन्छ । यस्तो व्यक्ति जस्ले मानवीय संवेदन बोकेको होस् सबै प्रकारका कत्र्तव्यहरुको पालन गर्ने व्रत लिएको होस् र सबै प्रति विनयशील र जिम्मेवार रहने योग्यताको विकास गर्ने तत्परता देखाएको होस् । वास्तवमा यस्तो सभ्य संस्कृत नागरिकबाट नै सभ्य समाज र राष्ट्रको निर्माण हुन सक्तछ । हाम्रा संहिताहरु, नीति वचनहरु वा धार्मिक ग्रन्थहरुले जीवनलाई समृद्ध र सफल बनाउन अनेको नियमहरुको प्रतिवादन गरेका छन् । यिनैलाई ग्रहण गर्नु र आत्मसात गर्नु नै संस्थान हो । संस्कारिक व्यक्ति त्यो हो, जसले  आफ्ना मानवीय मूल्य र मान्यताहरुको संरक्षण गर्दै समाजद्वारा निर्धारित तथा शास्त्रहरु हृारा निर्देशित पद्धतिहरुको अनुशरण गरोस् । आफ्नो पनमा गर्व गरोस् र त्यसकै संरक्षण र प्रवद्र्धनका लागि प्रयत्न गर्दै रहोस् ।


    सेवा, सहयोग, परोपकार, सद्भावना र सहिष्णुता मानव(जीवनका मूल आधारहरु हुन् । यसैको जगमा व्यक्तित्वको महाभवन खडा हुन्छ । यी गुणहरुको अभावमा शिक्षा पनि आपुर्ण नै हुन्छ । आज संसारलाई यस्ता नागरिकहरुको आवश्यकता छ, जो दक्षहुन्, सीपयुक्त हुन, आदर्श हुन, चरित्रवान हुन्, वसुधैव कुटुम्वकम को भावनाबाट निर्देशित् हून । जस्मा, संकीर्णताको भाव न होस् सबै वर्ग  जाति वा सम्प्रदाय प्रति सम्मानको भावना राखोस  आफ्नो धर्ति आफ्नो संस्कृति आफ्नो धर्मको रक्षा गर्नका साथै अरुको धर्ति, संस्कृति र धर्म प्रति पनि आदर भाव राखोस । युद्धको ज्ञानभन्दा बुद्धको ज्ञानलाई ग्रहण गर्ने विचार  राखोस् र सम्पूर्ण विश्व कै शान्ति र प्रगतिका लागि तत्पर रहोस्, निःसन्देह यो धर्म शिक्षाले मात्र निर्वाह गर्न सक्तछ, त्यसैले शिक्षामा संस्कारको जलप चढाउनु नै पर्दछ । तब मात्र शिक्षालाई शिक्षा भन्न सकिने छ ।      


    प्रतिक्रिया दिनुहोस