शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

प्राज्ञिक बहसमा गेटा मेडिकल कलेज


पश्चिम प्रेस
मंगलबार, पुस ५ २०७९
  • 1.4K
    Shares

  • images
    images
    प्राज्ञिक बहसमा गेटा मेडिकल कलेज

    महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा गेटा मेडिकलज कलेज सञ्चालन गर्ने विषयमा बहस भएको छ । 

     विश्वविद्यालयमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी प्राज्ञहरूले गेटा मेडिकल कलेजलाई यथाशीघ्र सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । सम्मेलनमा सहभागी निर्वतमान सांसद डा दीपकप्रकाश भट्टले गेटा मेडिकल कलेजलाई सरकारले चाँडो पुनःसञ्चालन गर्नुपर्ने बताउनुभयो । “मेडिकल कलेजका लागि आवश्यक भौतिक संरचना तयार भइसकेका छन्”, उहाँले भन्नुभयो, “अन्य छ वटै प्रदेशमा उच्च शिक्षाका लागि मेडिकल छन् तर सुदूरपश्चिममा छैन त्यसैले यो चाँडो सुरुआत गर्नुपर्छ ।” 

    उहाँले सरकारले तीन सय शय्या सञ्चालनका लागि निर्णय गरिसकेकाले अस्पताल आजको भोलि सञ्चालन गरिहाल्नुपर्ने उहाँले बताउनुभयो । “अस्पताल सञ्चालनका लागि चाहिने आवश्यक उपकरण खरिद गरेर अस्पताल सञ्चालन गरिहाल्ने हो”, उहाँले भन्नुभयो, “अस्पताल सुचारु नभए न मेडिकल कलेज सञ्चालन गर्न सकिन्छ नत प्रतिष्ठान नै ।” 

    उहाँले स्वास्थ्य क्षेत्रमा सुदूरपश्चिम पछाडि परेको बताउनुभयो । “सुदूरपश्चिमको स्वास्थ्य शिक्षामा केन्द्र सरकारको अहिलेसम्म ध्यान नपुगेको छैन”, उहाँले भन्नुभयो, “अब यहाँ स्वास्थ्य सुविधा र स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न जरुरी छ ।”

     नेत्र ज्योति सङ्घका अध्यक्ष डा चेतराज पन्तले गेटा मेडिकल कलेज सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । “सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा मेडिकल कलेजका लागि सुरुआत थालेको छ”, उहाँँले भन्नुभयो, “सरकारले गेटा मेडिकल कलेजलाई पनि सञ्चालनमा  ल्याउन जरुरी छ जसले गर्दा यहाँका जनताले स्वास्थ्य सुविधा पाउनेछन ।” उहाँले यहाँका जनताको माग पनि कलेज सञ्चालन हुनुपर्ने रहेकाले अब बन्ने सरकारले त्यसको टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।

     गेटा मेडिकल कलेजका कार्यकारी निर्देशक डाप्रमोद जोशीले कलेज सञ्चालनका लागि सबै क्षेत्रबाट प्रयास भइरहेको बताउनुभयो । “स्वास्थ्य संस्था सञ्चालनका लागि मापदण्डअनुसार पूर्वाधार बन्न जरुरी हुन्छ अहिले गेटामा भवनहरू त बनेका छन तर विद्युत् आपूर्तिदेखि खानेपानीको काम अगाडि बढेपनि पूर्णता पाएको छैन”, उहाँले भन्नुभयो, “भौतिक संरचना पूर्णरूपमा बनेपछि स्वास्थ्य उपकरण जडान गर्ने र दक्ष जनशक्ति आवश्यक पर्छ त्यसका लागि हामीले दरबन्दी स्वीकृतिका लागि स्वास्थ्य मन्त्रालयमा पठाइसकेका छौँ ।”

     विसं २०६५ मा गेटामा सरकारी स्वामित्वको मेडिकल कलेज बनाउने पहल भए पनि जग्गाको भोगाधिकार प्राप्तिपछि विसं २०६८ मा मन्त्रिपरिषद्को गठनादेशबाट मेडिकल कलेज पूर्वाधार निर्माण विकास समिति गठन भएको हो । मेडिकलज कलेज स्थापनाका लागि २०७०/०७१ देखि भौतिक पूर्वाधार निर्माण सुरु भएकोमा ९० प्रतिशत पूरा भइसकेको छ । मेडिकल कलेज र अस्पताल सञ्चालनका लागि भौतिक पूर्वाधार तयारी अवस्थामा छन् । सय विद्यार्थी अटाउने कक्षाकोठा, ई–लाइब्रेरी भवन पनि निर्माण भइसकेका छन् । 

    छात्रावासका लागि चारतले चार वटा भवन पनि बनेको छ । कलेजमा अस्पताल सञ्चालनका लागि छ सय शय्याका दुई वटा भवन पनि छन् । चिकित्सकको आवासका लागि चार/चार तलाका १३ भवन र बिरामी कुरुवा, शवघर, अक्सिजन प्लान्ट भवन, लाउन्ड्री भवन, क्यान्टिन, इलेक्ट्रोनिक भवन, अस्पताल र कलेजका प्रशासनिक गरी २६ बढी भवन निर्माण भइसकेका छन् ।


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम विश्वविद्यालय
  • # गेटा मेडिकल कलेज
  • प्रतिक्रिया दिनुहोस