मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

लालझाडीमा एक करोड लागतमा बर्थिङ सेन्टर निर्माण हुँदै


पश्चिम प्रेस
आइतबार, माघ १ २०७९
  • 591
    Shares

  • images
    images
    लालझाडीमा एक करोड लागतमा बर्थिङ सेन्टर निर्माण हुँदै

    महेन्द्रनगर । लालझाडी गाउँपालिका–४ मा रु एक करोडको लागतमा बर्थिङ सेन्टर निर्माणकार्य थालिएको छ ।

    सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत बर्थिङ सेन्टर निर्माण भइरहेको छ । निर्माण सुरु गरिएको बर्थिङ सेन्टर दुई तलाको हुने वडाध्यक्ष बहादुर रानाले जानकारी दिनुभयो । “तल्लो तलामा सुविधासम्पन्न बर्थिङ सेन्टर रहन्छ”, उहाँले भन्नुभयो, “दोस्रो तलामा स्वास्थ्यकर्मीका लागि आवास निर्माण हुन्छ ।” चालु आर्थिक वर्षभित्रै बर्थिङ सेन्टर निर्माणकार्य पूरा हुने उहाँको भनाइ छ ।

    “निर्वाचित भएर आएपछि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्यायौँ, केन्द्रमै बर्थिङ सेन्टर सञ्चालन गरेका छौँ, स्वास्थ्यकर्मीदेखि आवश्यक ठाउँ र सामग्रीको अभाव छ”, उहाँले भन्नुभयो, “सुविधासम्पन्न बर्थिङ सेन्टरका लागि भवन निर्माण भएपछि सहज हुन्छ ।” 

    विगतमा बर्थिङ सेन्टर नहँुदा सुत्केरी हुने महिलाले पाँच किलोमिटर टाढाको देखतभुली स्वास्थ्यचौकी पुग्नुपर्ने बाध्यता थियो । “प्रसूति हुने महिलालाई स्वास्थ्यचौकी पु¥याउनै निकै समस्या थियो”, स्थानीय लक्ष्मण रानाले भन्नुभयो, “स्वास्थ्यचौकी नपुग्दै महिलाले बीच बाटोमै जोखिम मोल्दै सुत्केरी हुन्थे, गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि महिलाले बीच बाटोमै बच्चा पाउनुपर्ने बाध्यता हट्ने भएको छ ।” 

    देखतभुली स्वास्थ्यचौकी पुग्नका लागि गाउँको बीचमा नदी तर्नुपर्ने बाध्यता रहेको छ । “वर्षात्का बेला नदीमा बाढी आएका बेला सुत्केरी हुने महिलालाई काँधमा बोकेर लैजानुपर्ने अवस्था थियो”, रामकुमारी रानाले भन्नुभयो, “बाढीका कारण नदी तर्न नसकेर सुत्केरी हुने महिलालाई घरमै फर्काएर ल्याउने गरिएको थियो, निकै जोखिम थियो, बर्थिङ सेन्टर निर्माण हुन थालेपछि विगतका दुःखका दिनको अन्त्य हुने भएको छ ।”

    बर्थिङ सेन्टर निर्माण भएपछि लालझाडी गाउँपालिका–४ का एक हजार घरघुरी र शुक्लाफाँटा नगरपालिका–१२ का चार सय घरघुरी लाभान्वित हुने भएका छन् । दुवै पालिकाका वडामा आदिवासी जनजाति थारू समुदायको बाहुल्यता रहेको छ ।


  • सम्बन्धित विषय:

  • # लालझाडी गाउँपालिका
  • # बर्थिङ सेन्टर
  • प्रतिक्रिया दिनुहोस