शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

मुख्यमन्त्री रावलद्वारा अस्पताल र अनाथालयमा खाद्यान्न र फलफूल वितरण


पश्चिम प्रेस
सोमबार, माघ १६ २०७९
  • 548
    Shares

  • images
    images
    मुख्यमन्त्री रावलद्वारा अस्पताल र अनाथालयमा खाद्यान्न र फलफूल वितरण

    महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले महाकाली अस्पताल र बाल अनाथालयमा खाद्यान्न तथा फलफूल वितरण गर्नुभएको छ ।

    सोमबार शहीद दिवसका अवसरमा उहाँले महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रहेका बिरामीहरू र महेन्द्रनगरकै महाकाली अञ्चल बाल अनाथालयमा खाद्यान्न र फलफूल वितरण गर्नुभएको हो । मुख्यमन्त्री रावलले अस्पतालको वार्डमा पुगेर बिरामीहरूलाई फलफूल वितरण गर्दै स्वास्थ्य लाभको कामनासमेत गर्नुभयो । 

    त्यसैगरी अनाथालयमा रहेका बालबालिकाका लागि कापी, किताब र खाद्यान्नसमेत हस्तान्तरण गर्नुभएको हो । उहाँले शहीद दिवसका अवसरमा बिरामी र अनाथ बालबालिकालाई सरकारले सम्झिएको बताउनुभयो । “प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकतामा राखेको छ”, उहाँले भन्नुभयो, “अहिले विश्वासको मत पाउन बाँकी छ, सरकारको पूर्णता पछि सरकारले गर्ने कामले गति लिनेछ ।” उहाँले महाकाली अस्पतालको निरीक्षण गर्दै अस्पतालका समस्या समाधानका लागि आफूले पहल गर्ने बताउनुभयो । “२०६२र६३ को आन्दोलनका बेला म आफँै पनि यो अस्पताल व्यवस्थापन समितिको अध्यक्ष थिए यहाँका सबै समस्या मैले बुझेको छु”, मुख्यमन्त्री रावलले भन्नुभयो, “अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवाका लागि केन्द्र सरकारसँग पहल गर्छु ।”

    महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले अस्पतालमा जनशक्ति अभावकै कारण सेवा प्रभावित हुने गरेको बताउँदै आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन आग्रह गर्नुभयो । “हामीसँग पर्याप्त जनशक्ति छैन भएको जनशक्तिलाई पनि तलब खुवाउन सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “यहाँ डाक्टर अभावकै कारण बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था छ यसको अन्त्य गर्नका लागि आग्रह गर्छु ।” 

    त्यसैगरी मुख्यमन्त्री रावलले शहीद दिवसका अवसर पारेरै महेन्द्रनगरस्थित शहीद दशरथ चन्दको सालिकमा समेत माल्यार्पण गरी शहीदहरुप्रति श्रद्धाञ्जली अपर्ण गर्नुभएको छ ।


    प्रतिक्रिया दिनुहोस